गेजुवासँगको सम्झौता रद्द गर्ने कुरामा सरकारभित्र विमति छैनः अर्थ मन्त्री कार्की


नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले  बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा दिइएको चिनियाँ कम्पनी गेजुवासँगको सम्झौता रद्द गर्ने विषयमा सरकारभित्र कुनै विमति नरहेको बताएक छन्।

रिपोर्टर्स क्लब नेपालले गरेका चुनावी बहसका क्रममा बोल्दै अर्थमन्त्रीसमेत रहेका कार्कीले यस्तो बताएका हुन्।

कार्कीले किसानले किन्ने ट्याक्टरमा यसअघिका अर्थमन्त्री कृष्ण बहादुर महराले भ्याट लगाएको आरोप लगाए । किसानलाई मर्का पर्ने गरी लगाइएको भ्याट आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेबेलामा मात्र हटाउन  सकिने कार्कीको भनाई छ ।

नेपाली जनताले शान्ति र समृद्धि चाहेकाले कांग्रेसलाई बहुमत दिने दाबी गरेका छन्। रिपोर्टर्स क्लब नेपालले गरेका चुनावी बहसका क्रममा बोल्दै अर्थमन्त्रीसमेत रहेका कार्कीले कांग्रेसको नेतृत्वमा अबको १० वर्षमा नेपालले मुहार फेर्ने दाबी गरे।

कांग्रेस पहिलो ठूलो दल बन्ने दाबी गर्दै सुनसरी क्षेत्र नम्बर ४ का उम्मेद्वारसमेत रहेका कार्कीले कांग्रेसले सरकार गठन गरेर आर्थिक समृद्धिको एजेण्डा लागू गर्ने बताए । विगतमा संगठित हिंसा र द्धन्द्धको समयमा कांग्रेसले सरकार चलाउनु परेको स्मरण गराउँदै कार्कीले देशलाई शान्तिको बाटोमा लैजाने र संविधान निर्माण गराउन सक्ने पार्टी कांग्रेस नै भएको जिकिर गर्दै अब संविधान कार्यान्वयन र विकासका लागि जनताले कांग्रेसलाई नै मतदान गर्ने विश्वास व्यक्त गरे ।

नारा र दस्तावेजको पछि लाग्दैमा देश विकास नहुने भन्दै कार्कीले वाम गठबन्धनको कटाक्ष गरेका छन् । नेपालमा कम्युनिष्ट शासन आउने सम्भावना नरहेको जिकिर गर्दै उनले वाम गठबन्धनले साम्यवाद ल्याउने प्रयास भने गरेको आरोप लगाए ।

कार्कीले केही उम्मेदवारमाथि भएको आक्रमणको निन्दा गर्दै उम्मेदवार र मतदातालाई सुरक्षा दिन सरकार तयार रहेको बताए ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.