राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कतिपय गाँउपालिका तथा नगरपालिकाले भूकम्प पीडितलाई दोस्रो वा तेस्रो किस्ता रकम लिन जाँदा बनिसकेका घरको नक्सा सम्बन्धी विषयमा अफ्ठेरो पार्ने गरिएको गुनासो आएको भन्दै सहजीकरण गर्न निर्देशन दिएको छ ।
भूकम्पपछिको पुनर्निर्माणलाई तिव्रता दिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आइतबार बोलाएको स्थानीय तहका प्रतिनिधि संघहरू तथा विभिन्न सरोकारवाला निकायसहितको बैठकले यस्तो निर्देशन दिएको हो।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको अध्यक्षतामा बसेको बैठकले बनिसकेका घरको नक्शा सम्बन्धी विषयमा आएका अफ्ठेरालाई स्थानीय तहकै सम्बन्धित गाँउपालिका र नगरपालिकाले सहजीकरण गरी फरफारकमा सघाउ पुर्याउन निर्देशन दिएको हो।
बैठकले निजी आवास निर्माणमा ठूलो संख्यामा सिकर्मी तथा डकर्मी परिचालन गर्नुपर्ने देखिएकाले तालिम प्रदान गर्ने विभिन्न निकायसँग छलफल गरि आगामी पुस मसान्तभित्रै सवै तालिम सम्पन्न गर्ने व्यवस्था मिलाउने समेत निर्णय गरेको छ।
यसैगरी बैठकले भूकम्प अतिप्रभावित १४ जिल्लाको प्रत्येक गाँउपालिका तथा नगरपालिकाको प्रत्येक वडामा कम्तीमा १ जना प्राविधिक इन्जिनियर, सब इन्जिनियर, असिस्टेण्ट सब इन्जिनियर, कम प्रभावित १७ जिल्लामा लाभग्राहीको संख्या अनुसार पर्याप्त हुने गरि प्राविधिक खटाउने व्यवस्था मिलाउन शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रिय आयोजना कार्यान्वयन इकाईलाई निर्देशन दिएको छ।
त्यसका लागि एक प्राविधिकलाई बढीमा ५ सय लाभग्राही हेर्ने परिचालन गराउन भनिएको प्राधिकरणका प्रवक्ता यमलाल भूसालले जानकारी दिए।
बैठकमा सिइओ भूसालसहितका प्राधिकरणका पदाधिकारी र शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका प्रमुख तपेन्द्रबहादुर खड्का, स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका नारायण श्रेष्ठ, नगरपालिका संघका कुलनिधि देवकोटा, गाँउपालिका महासंघका बिमल पोखरेललगायतको उपस्थिति थियो। थप निर्णयहरु यसप्रकार छन्।
- प्राधिकरणबाट स्थानीय तहमा खटिइ आउने प्राविधिकहरुलाई काम काज गर्न आवश्यक कार्यकक्ष तथा स्टेशनरी सामाग्रीहरुको समेत सम्बन्धित गाँउपालिका तथा नगरपालिकाले व्यवस्था गर्ने।
- पुनर्निर्माणलाई तिव्रता दिने प्रयोजनका लागि कम्तीमा एक जना सामाजिक परिचालक खटन पटन गर्न अत्यन्तै आवश्यक भएको तर अहिले यसको लागि स्रोतको सुनिश्चिचतता भइनसकेको हुँदा सोको लागि प्राधिकरणले थप पहल गर्ने।
- आवास निर्माणमा प्राविधिक परीक्षण, प्राविधिक सहयोग, वित्तिय साझेदारी, अनुगमन लगायतका कार्यहरुमा प्राधिकरण र स्थानीय सरकारबीच साझेदारीका आधारमा कार्य गर्ने र यसका लागि स्थानीय तहका तत्तत महासंघबाट प्रदेश स्तरीय अन्तरक्रिया गर्ने।
- नयाँ नियुक्ती हुने इन्जिनियर, सब इन्जिनियर, असिस्टेण्ट सब इन्जिनियरहरुलाई भूकम्प प्रतिरोधी आवास निर्माणको आवश्यक जानकारी दिनका निमित्तले तयार गरेको तालिम कार्यक्रमको सम्बन्धमा गाँउपालिका तथा नगरपालिकाका महासंघबाट सुझाव दिइए अनुसार स्थानीय तहको गठन बिधि, जिम्मेवारी, योजना तर्जुमा प्रक्रिया, खटिई जाने स्थलको भौगोलिक, सास्कृति, सामाजिक परिवेश, स्थानीय तहका जनता, जनप्रतिनिधि तथा प्रशासनिक कर्मचारीहरुसँग गर्नुपर्ने व्यहार तथा आचारणका बिषयहरु पनि MOUD/CLPIU ले थप गर्ने।
- प्राविधिकहरुलाई सबै गाँउपालिका तथा नगरपालिकाका वडाहरु खटन पटन गरिसकेपछि स्थानीय तहका वडा प्रमुख वडा सचिव र प्राविधिकहरु संलग्न रहने गरी तत्काल एक अन्तरक्रिया कार्यक्रम sfo{qmdMoFALD/CLPIU ले आयोजना गर्ने।
- प्राधिकरणले भूकम्पपीडितहरुका निजी आवास यही आर्थिक बर्षभित्रै निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखी कार्यक्रम अघि बढाउँदै अन्य सहायक प्रक्रियाहरु सरल, सहज बनाइरहदा स्थानीय तहका हरेक वार्डमा कम्तीमा एक सामाजिक परिचालक/परिचालिकाको नितान्त जरुरी देखिएकाले यसका लागि MoFALD/LGCDP मा कार्यरत सामाजिक परचालनकहरुलाई उपयोग गर्नेतर्फ प्राधिकरणले पहल गर्ने।