बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिकी गंगा चौधरी एमाले प्रवेश गरेकी छिन्।
उनको नाम नयाँ शक्तिले समानुपातिक तर्फको बन्द सूचीमा राखेर आयोगमा बुझाएको थियो।
तर दलहरुको बन्द सूची सार्वजनिक हुँदा उनको नाम एमालेको बन्दसूचीमा भेटियो।
दुवै दलको सूचीमा नाम रहेकी गंगाले सेतोपाटीसँग एमाले फर्किएको बताइन्।
‘मैले विद्यार्थी राजनीति एमालेबाटै गरेको हो’, चौधरीले भनिन्, ‘थारुलाई मधेशी कोटामा राखेपछि भएको थारु आन्दोलनको माग अनुसार पार्टी छाडेको हो। अब समस्या समाधान भयो।'
उनले राष्ट्रिय राजनीति गर्नका लागि एमाले फर्किएको उल्लेख गरिन्।
नयाँ शक्तिबाट सांसद बन्ने निश्चित नभएपछि उनी एमाले फर्किएकी हुन्। एमालेले समानुपातिकको बन्द सूचीको ३ नम्बरमा उनको नाम राखेको छ।
‘नयाँ शक्तिमा १ नम्बरमा मेरो नाम थिएन थारू कलष्टरमा एक नम्बरमा थियो होला। तर थ्रेस होल्ड कट्छ कि कट्दैन भन्ने कुरा थियो नि’, चौधरीले भनिन्, ‘जनताको माग अनुसार तपाँइलाई ल्याउनुछ भनेपछि एमाले आएँ।‘
उनले बाबुराम भट्टराई वाम गठबन्धनमा मिसिएपछि फर्कनु गल्ती भएको तर्क गरिन्। गंगाले भट्टराईको भने तारिफ गरिन्।
‘उहाँ राम्रो मान्छे हो। देश समृद्धिमा लैजाने नारा उहाँकै हो। उहाँको धारणमा कांग्रेस समेत आयो’, उनले भनिन्, ‘आसपासका नेता गलत छन्।'
चौधरी थरुहट तराई पार्टी खोलेर समानुपातिक तर्फबाट संविधानसभामा सभासद् बनेकी थिइन्। उनले संसदको विधायन समितिको सभापतिको हैसियतमा काम गरेकी थिइन्।