२०५६ सालको संसदीय चुनाव र ०६४ सालको संविधानसभा चुनावमा ज्ञानेन्द्रबहादुर कार्कीले भोजपुरबाट उम्मेदवारी दिए तर दुबैमा उनी झिनो मतान्तरले हारे।
दोस्रो संविधानसभा चुनावमा भने उनी प्रत्यक्षतर्फ चुनाव लडेनन्, बरु सुरक्षित समानुपातिकमा बसे।
यसपालिको चुनावमा भने उनले फेरि प्रत्यक्षतर्फ चुनाव लडने निर्णय गरेका छन्। तर भोजपुरबाट होइन, सुनसरीबाट।
कार्की उठ्न लागेको क्षेत्र सुनसरी ४ मा कांग्रेसको भावनात्मक सम्बन्ध जोडिएको छ। २०४७ मा बहुदलीय व्यवस्था स्थापना भएपछि गिरिजाप्रसाद कोइराला सधैँ मोरङ र सुनसरीको यो क्षेत्रबाट लडे र हरेक पटक चुनाव जिते।
२०६४ सालमा भएको पहिलो प्रतिनिधि सभामा भने उनी सरकार र राष्ट्र प्रमुखको दोहोरो जिम्मेवारीमा थिए, त्यसैले चुनाव लडेनन्।
लोकतन्त्र स्थापनापछि भने यो क्षेत्रमा कांग्रेसको पकड खुस्कियो। २०६४ साालमा कोइरालाकी छोरी सुजाता कोइराला यहाँ मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भइन्।
२०७० सालको संविधानसभा निर्वाचन पनि यादवले नै झिनो मतान्तरले जिते। यादवले दुबै पटक चुनाव जित्दा सुनसरीमा ५ निर्वाचन क्षेत्र थिए। उनले चुनाव जितेको सुनसरी ५ का अधिकांश गाउँ/नगर यसपालि सुनसरी-४ मा पर्छन्।
गिरिजाप्रसाद कोइरालाले चुनाव जित्ने गरेका मोरङ र सुनसरीका दुबै निर्वाचन क्षेत्र अहिले कांग्रेसको पकडमा छैनन्। मोरङमा एमालेले जितेको छ।
यी दुबै क्षेत्र फिर्ता लिने आशा यसपालि कांग्रेसले गरेको छ, त्यसैले उसले त्यहाँ प्रभावशाली उम्मेदवार उठाएको छ।
मोरङमा पूर्वसञ्चार मन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजाल चुनाव लड्दैछन् भने सुनसरी- ४मा अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की भोजपुरबाट झरेका छन्।
कांग्रेसले कार्कीको उम्मेदवारीको घोषणा पनि गरिसकेको छ। यो घोषणाले कांग्रेसले चुनावी तालमेल गर्ने प्रयास गरिरहेको मधेसी पार्टीमध्येको संघीय समाजवादी फोरम चिढिएको छ।
फोरम अध्यक्ष यादव यसपालि आफैं सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा छन्। उनी तालमेल गरेर मोरङ-५, सुनसरी-४ वा सप्तरी-२ मध्ये एकबाट उठ्ने योजनामा छन्।
सुनसरी-४ मा अर्थमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्कीले यसपालि आँखा लाउनुका पछाडि मुख्य कारण सो क्षेत्रमा पछिल्लो स्थानीय चुनावमा कांग्रेसको पाएको मत हो।
स्थानीय तहको चुनावमा कांग्रेसले यहाँ एमालेलाई उछिनेर पहिलो बनेको छ। तर माओवादीसँग मिल्दा भने यहाँ वाम गठबन्धनको भोट कांग्रेसभन्दा केही धेरै हुन्छ।
सुनसरी-४ मा बराह नगरपालिकाका ६-११ वडा, इनरुवा नगरपालिकाका ३,४ र ८ रामधुनी नगरपालिकाको वडा नम्बर ४, हरिनगरा गाउँपालिकाका १-७ वडा, भोक्राहा गाउँपालिका र कोशी गाउँपालिका पर्छन्।
यो क्षेत्रका जम्मा ३२ वडामा कांग्रेस र कांग्रेसमा विलय भएको लोकतान्त्रिक फोरमको मत जोड्ने हो भने कांग्रेसको मत २२ हजार ५ सय ३९ पुग्छ। एमालेको यहाँ २० हजार २ सय १० मत आएको छ। एमालेसँग गठबन्धन गरेको माओवादीको मत जोड्ने हो भने उसको मत यहाँ २५ हजार ५६ पुग्छ।
यो कांग्रेसको भन्दा झण्डै २५ सय मत बढी हो। तालमेल गरेको राप्रपाको मत यहाँ १५ सय पुग्छ। त्यो मत पनि गन्ने हो भने कांग्रेस र वाम गठबन्धनको मतान्तर जम्मा १ हजार हुन्छ।
त्यसैले कार्कीलाई चुनाव जित्न एमाले, माओवादीमा गएको करिव हजार मत तान्नुपर्ने हुन्छ।
कार्कीको काँग्रेस पार्टीमा प्रभाव र उनको ब्यक्तित्वका कारण पनि यो क्षेत्रमा पार्टीले जित्ने आश काँग्रेसले गरेको छ।
तर एमालेले अहिले सम्म उम्मेदवार टुंगो लगाइसकेको छैन। कतिपयले उपेन्द्र यादवले यहाँबाट उठ्ने ईच्छा गरे वामगठबन्धनले उनलाई सिट छोडिदिने अनुमान पनि गरेका छन्।