प्रदेश सभाका लागि मकवानपुरको क्षेत्र नम्बर एकको ‘ख’ बाट दुई नेताको नाम सिफारिस भएर अहिले एमाले मुख्यालयमा आइपुगेको छ। एक उम्मेदवारको लागि २ जना नेता डोरमणी पौडेल र श्रीधर पोखरेलको नाम जिल्ला पार्टी कार्यालयले सिफारिस गरेर पठाएको हो।
२ नेतामध्ये कसले टिकट पाउँलान् भन्नेमा पर्खाइमा अहिले मकवानपुरबासी रहेका छन् । मकवानपुरको एमाले राजनीतिमा पौडेल र पोखरेललाई अवसर पाउने र नपाउने नेताको रुपमा लिइएको छ।
२०४४ सालको चुनावमा पौडेलले टिकट पाएका थिए। त्यसपछि हेटौंडा नगरपालिकाको २ पटक मेयर पदमा जिते। नगरपालिका महासंघका अध्यक्षसमेत रहेका पौडेल राज्य पुर्नसंरचना आयोगका सदस्यसमेत हुन्।
अहिले एमालेबाट हेटौंडा उपमहानगरको मेयरमा विजयी भएका हरिवोल महतका उनी सल्लाहकार हुन् । त्यस्तै, ३५ सालदेखि एमाले राजनीतिमा रहेका पोखरेल अनेरास्ववियु मकवानपुरका पहिलो जिल्ला अध्यक्ष हुन्।
युवा संघमा रहेर पनि उनले काम गरिसके। हाल एमाले जिल्ला पार्टी सचिवालयका सदस्य रहेका उनी हेटौंडा सिमेण्ट कारखानाको संचालक समितिका अध्यक्ष समेत भएका थिए।
एमाले मकवानपुरको राजनीतिमा अवसरबाट पछाडि पारिँदै आएका पोखरेल मात्र होइनन् क्षेत्र नम्बर १ का रामचन्द्र राई पनि अघि बढ्न सकेका छैनन् ।