नेपाली राजदूतावास, मस्कटले ‘नेप्लिज इन ओमान’ नामक मोबाइल एप्स सञ्चालनमा ल्याएको छ।
शुक्रबार राजदूत निवासमा एक कार्यक्रम आयोजना गरी राजदूत सर्मिला पराजुली ढकालले उक्त एप्सको उद्घाटन गरेकी हुन्।
एप्सको उद्घाटन गर्दै उनले नेपालीहरू तथा ओमान आउन लागेका नेपालीहरूलाई नेपाली राजदूतावास, ओमानका प्रमुख गन्तव्यहरू, ओमानका सरकारी निकायहरू, ओमानको श्रम कानून आदिका बारेमा आधारभूत जानकारीहरू दिइ सहयोग गर्ने लक्ष्यसहित मोबाइल एप्स सञ्चालनमा ल्याइएको बताइन्।
सो एप्सले नेपाली दूतावासबाट दिइने कन्सुलर सेवाहरूलाई भविष्यमा अनलाइन प्रणालीबाट प्रदान गरी दूतावासका सेवाहरु कागजविहीन बनाउन सकिनुका साथै नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरू उक्त एप्समा सामेल गरी ओमानीहरूलाई पनि नेपाल भ्रमणको लागि प्रयोग गर्न सकिने बनाइने योजना रहेको उनले जानकारी गराइन्।
एप्सले नेपालबाट आउने कामदारलाई सहज बनाउने छ,ओमान आउनुभन्दा अघिनै यो एप्स डाउनलोड गरेर आए हुन्छ’, ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले भनिन्।
त्यसैगरी, एनआरएन ओमानका अध्यक्ष दीपक श्रेष्ठले दूतावासले बनाएको एप्सले नेपाली कामदारलाई सहज बनाउने भन्दै नेपाली दूतावासकोले राम्रो काम गरेको बताए।
नेपाली दूतावास ओमानले पहिलो पटक यस्तो एप्स बनाएको हो।
उक्त कार्यक्रममा ओमानस्थित नेपाली संघसंस्थाहरूका प्रतिनिधिलगायत करिब एक सय जना नेपालीहरूको सहभागिता थियो।