चरित्रमुखी शिक्षाको खाँचो


केही समयअघि राजधानीको एउटा विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम तर्जुमाको आवश्यकता पहिचानसम्बन्धी कार्यक्रममा सहभागी हुने अवसर पाएको थिएँ। सो क्रममा छलफल भएको विषयले पंक्तिकारलाई उद्वेलित बनायो।

उक्त कार्यक्रममा विद्यालयबाट आफ्ना बालबालिकाले कस्तो शिक्षा प्राप्त गरून् वा विद्यालय शिक्षाको समाप्तिपछि बालबालिका कस्तो होऊन् भन्ने अपेक्षा छ भनेर अभिभावकलाई सोधिएको थियो। कार्यशालामा सहभागी प्रायः सबै अभिभावकले आफ्नो बालबालिकाले सैद्धान्तिक र व्यवहारिक दुवै शिक्षा सन्तुलित रूपमा प्राप्त गरून्, सामाजिक र सांस्कृतिक विषयसम्बन्धी ज्ञान प्राप्त गरून् साथै विशेष गरी नैतिकवान् र चरित्रवान् बन्न सकून् भन्ने धारणा राखेका थिए।

वास्तवमा आम अभिभावकले विद्यालय शिक्षाको समाप्तिपछि आफ्ना बालबालिकाले विद्यालयबाट प्राप्त गर्ने शिक्षा यस्तै होस् वा आफ्ना नानी–बाबु यस्तै सकारात्मक र चरित्रवान् होऊन् भन्ने चाहना राखेका हुन्छन्। तर अपसोच! अहिलेको शिक्षा आम अभिभावकले चाहेजस्तो चरित्रमुखी छैन। विद्यालय शिक्षा मानवीय मूल्य–मान्यता र आदर्शबाट विमुख हुँदै गइरहेको छ।

हिजोआज विद्यालयमा बालबालिकालाई व्यवहारिकभन्दा पनि सैद्धान्तिक ज्ञान थोपरिएको हुन्छ। बालबालिकालाई एकआपसमा प्रतिस्पर्धा गरी सबैभन्दा अब्बल हुन सिकाइएको हुन्छ। उनीहरूलाई जसरी हुन्छ सफल मान्छे बन्न प्रेरित गरिन्छ। जहाँ व्यक्तिको सफलतालाई भौतिक पक्ष र आर्थिक सम्पन्नतासँग दाँजेर परिभाषित गरिन्छ।

सबैभन्दा मुख्य रूपमा उनीहरूलाई ठूलो र प्रख्यात व्यक्ति बन्न सुझाइन्छ न कि असल र इमान्दार। विद्यालय शिक्षामा पारिवारिक, सामाजिक, सांस्कृतिक मूल्य–मान्यतासहितको नैतिक शिक्षा दिन आवश्यक ठानिएको छैन। व्यक्तिको व्यक्तिगत, परिवारिक तथा सामाजिक जीवनका लागि तथाकथित ठूलो होइन असल, कर्तव्यनिष्ठ र इमान्दार व्यक्ति हुनु आवश्यक छ भन्ने कुरामा ध्यान दिइँदैन।

विद्यालय शिक्षाले बालबालिकालाई मानवीय सहयोग, सदाचार, मित्रता, सौहार्दतासम्बन्धी शिक्षा दिएको छैन। अहिलेको विद्यालय शिक्षाले विज्ञान, प्रविधि र व्यवसायिक जीवनका लागि आवश्यक सैद्धान्तिक ज्ञान दिन जोड दिएको छ। निःसन्देह अहिलेको परिवेश र समयअनुसार यस्ता विषयको पनि जानकारी हुनु जरूरी छ। तर विज्ञान–प्रविधिसम्बन्धी चेतनाको विकासले मात्र मानिसको जीवन पूर्ण र सार्थक बन्न सक्दैन।

मानवीय मूल्य–मान्यता र संस्कारको ज्ञानबिनाको शिक्षा अपुरो, अव्यवहारिक र लगाम बिनाको घोडाजस्तै हुन्छ। जुन अहिले भइरहेको छ। उदाहरणका लागि हामीकहाँ अहिले समाजमा अपराध, हिंसा, भ्रष्टाचारजस्ता कुराहरू दिनानुदिन मौलाउँदै गएका छन्। समाजमा पहिलेभन्दा शिक्षित व्यक्तिहरूको संख्यामा वृद्धि हुँदै गइरहेको छ।

तुलनात्मक रूपमा नियम कानूनको निर्माण बढी भएको छ अनि नियम कानूनको ज्ञान भएका मानिसको संख्यामा पनि वृद्धि हुँदै गइरहेको छ। तथापि भ्रष्टाचार र अपराधजन्य गतिविधि बढ्दो छ। वास्तवमा भन्ने हो भने पढेलेखेका, शिक्षित अनि जान्ने बुझ्ने भनिएकाबाटै समाजमा अपराध बढी मात्रामा भइरहेको छ। यसो हुनुको मुख्य कारण नैतिक मूल्य–मान्यता र चरित्रमुखी शिक्षाको अभाव नै हो।

पहिले विद्यालय शिक्षामा व्यक्तिको नैतिक मूल्य–मान्यता र कर्तव्यजस्ता विषयलाई प्राथमिकतामा राखिन्थ्यो। यसर्थ, विद्यालय शिक्षा प्राप्त गरेपछि मानिस कर्तव्यपरायण, नैतिकवान् र इमान्दार हुन्थे। तर अहिले शिक्षालाई कसरी परिवार, समाज र राष्ट्रप्रतिको कर्तव्यलाई जोड्ने भन्ने कुरामा कसैको ध्यान नै गएको पाइँदैन। यसको विपरीत विद्यालय शिक्षा व्यक्तिवाद केन्द्रीत छ। विद्यार्थीको चेतनाको स्तर वृद्धि गरी सृजनशीलताको विकास गर्ने भन्दा पनि सिद्धान्तमुखी र परीक्षामुखी शिक्षण विधि अपनाइने गरिएको छ।

फलतः उनीहरूले कुनै पनि कुरा राम्रोसँग बुझेर मौलिक रूपमा परीक्षा दिने भन्दा पनि कण्ठ गरेकोे आधारमा परीक्षा दिने परिपाटी छ। यति मात्र हैन दिनभरी स्कुलमा पढेर थाकेका स–साना कलिला बालबालिकालाई घरमा गर्न भनेर थुप्रै गृहकार्य दिइएको हुन्छ। यसले गर्दा पर्याप्त मात्रामा आराम र मनोरञ्जन गर्न पाउने अधिकारबाट बञ्चित हुनुका साथै पढाइलाई रुचीपूर्ण विषयभन्दा पनि बोझको रूपमा लिने मानसिकताको विकास हुन जान्छ।

कतिपय विद्यालयले साना बालबालिकालाई अनावश्यक कृत्रिमता वा बनावटीपन सिकाउने गर्दछन्। जसले गर्दा उनीहरूले प्राकृतिक सादापन र सरल स्वभाव नै गुमाउँदै जान्छन्। यस्ता विद्यालयले जे कुराको पनि विदेशी नक्कल गरी विदेशी संस्कार, संस्कृतिलाई महत्त्व दिने गरेको पाइन्छ। यसले गर्दा आफ्नै देशको भाषा, संस्कृति, सभ्यता, मौलिकताको ज्ञानबाट बालबालिका वञ्चित हुँदै गएको पाइन्छ।

उदाहरणका लागि कतिपय विद्यालयले अतिरिक्त ज्ञान भन्दै चाइनिज, फ्रेन्च, जर्मनीजस्ता भाषा अनावश्यक रूपमा सिकाइएको पाइन्छ। अतिरिक्त ज्ञान र शिक्षाको लागि नै भए आफ्नै देशको राई, लिम्बू, नेवारी, मैथिलीजस्ता भाषा सिकाउन सकिन्थ्यो? किन हामी विदेशी संस्कृति, सभ्यता र भाषा मात्रै राम्रो र महत्त्वपूर्ण भन्ने सोचको विकास जबरजस्ती रूपमा गरिरहेका छौँ? यसले बालबालिकाको मन मस्तिष्कमा सानैदेखि सबै विदेशीको राम्रो, उच्च स्तरको र हाम्रो चाहिँ सबै नराम्रो भन्ने भावनाको विकास गर्दछ।

समग्रमा अहिलेको शिक्षा प्रणालीले विद्यार्थीलाई केही ज्ञान–बुद्धि त दिएको छ तर विवेक दिएको छैन। विवेक— असल र खराब छुट्याउन सक्ने सामर्थ्य हो। शिक्षा आर्जन गरेर मानिसले आर्थिक उन्नति त गरेका छन् तर मानसिक रूपमा मानिस झनै दुःखी, अशान्त, अधैर्य र रोगी भइरहेको छ। जबसम्म हामी विद्यालयलाई सैद्धान्तिक ज्ञान मात्र प्रदान गर्ने थलोका रूपमा मात्र नभई मानवीय मूल्य–मान्यता र विवेक प्रदान गर्ने शिक्षण संस्थाको रूपमा विकास गर्न सक्दैनौ तबसम्म विद्यार्थीले जीवनोपयोगी शिक्षा हासिल गर्न सक्दैनन्।

बालबालिकाको शिक्षा आर्जन गर्ने पहिलो स्थान वा विद्यालय भनेकै घर हो। तसर्थ घरमा नै बालबालिकालाई संस्कार, सभ्यता र व्यवहारिक शिक्षा दिइनुपर्छ। यसका लागि अभिभावकको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्छ। भनिन्छ, केटाकेटी कुमालेको काँचो माटो सरह हुन्, जसलाई जस्तो चाहियो त्यस्तै बनाउन सकिन्छ। तसर्थ आफ्ना बालबालिकालाई संस्कारयुक्त र चरित्रमुखी शिक्षा दिनु पहिलो कर्तव्य अभिभावकको हो।

समाजमा मानवता, नैतिकता र इमान्दारिता त देखावटीपना, आडम्बरीपना जस्ता विकृतिहरूद्वारा प्रतिस्थापन भइरहेका छन्। आजका बालबालिकाहरू भविष्यका कर्णधार भएकाले बच्चैदेखि बालबालिकालाई ठूलोभन्दा असल बन्ने शिक्षा वा प्रेरणा दियौँ भने भविष्यमा उनीहरू असल बन्ने र समाज पनि सभ्य हुने अपेक्षा गर्न सकिन्छ।

हिजोआज प्रायः बालबालिका अभिभावकलाई अटेर गर्ने, ठूलालाई आदर नगर्ने, टेलिभिजन, मोबाइलजस्ता विद्युतीय सामग्रीको प्रयोग बढी गर्ने, सामाजिक नहुने, रिसाहा, घमण्डी हुने, एकाग्र हुन नसक्ने देखिएको छ । यसले गर्दा उनीहरूको मानसिक, बौद्धिक विकासमा नै नकारात्मक असर पुगिरहेको पाइन्छ।

आखिर यस्तो किन भइरहेको छ त? किनभने विद्यालय तथा घरपरिवारमा चरित्रमुखी शिक्षा र संस्कारको अभाव छ। टेलिभिजन, कम्प्युटर र इन्टरनेटको अत्यधिक दुरुपयोगले हिंसा, लडाईं, झगडा, मारकाट र यौनजन्य अश्लीलताजस्ता खराब संस्कारहरू बालबालिकाले सजिलै सिक्ने भएकाले यस्ता प्रविधिहरूको सही र सीमित प्रयोगका लागि अभिभावकद्वारा विशेष चासो देखाई निगरानी गरिनु अत्यावश्यक देखिन्छ।

अन्त्यमा, नैतिकता र चरित्रबिनाको शिक्षा एकाकी र अपूर्ण हुन्छ।  यस्तो शिक्षाले मानिस शिक्षित भए पनि अव्यवहारिक, कर्तव्यविमुख, भ्रष्ट र आपराधिक मानसिकताले युक्त हुन्छ। तसर्थ, बालबालिकलाई जसरी पनि तथाकथित ठूलो, धनी तथा सफल बन्न अभिप्रेरित नगरी असल, इमान्दार र विवेकशील बन्ने शिक्षा दिनु जरुरी छ। यसका लागि बालबालिकालाई विद्यालय तथा घरपरिवार दुवै स्थानमा सानैदेखि सैद्धान्तिकसँगसँगै व्यवहारिक, कर्तव्यमुखी तथा चरित्रमुखी शिक्षा दिनु आवश्यक छ।

( लेखक: मानव अधिकार, न्याय र सामाजिक विषयवस्तुमा रूची राख्छन्। )

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.