चिकित्सा क्षेत्रमा हेलचेक्राई र क्षतिपूर्तिको व्यवस्था


कुनै पनि व्यवसायिक पेशामा लागेको व्यक्तिले उसको ग्राहक प्रति उत्तरदायित्व बहन गर्नु पर्दछ ।

कुनै पनि व्यवसायिक पेशा गर्न सो पेशासँग सम्बन्धित अध्ययन, अनुसन्धान र व्यवहारिक ज्ञान प्राप्त गरेर र सम्बन्धित निकायबाट अनुमति प्राप्त गरेको हुन्छ । जस्तै, चिकित्सक हुन नेपाल मेडिकल काउन्सिलबाट इजाजत लिनु पर्छ । व्यवसायिक पेशा भन्नाले चिकित्सक, कानून व्यवसायी, अभियन्ता आदि पर्दछन् ।

इजाजत लिई ग्राहकलाई चाहिएको सेवा प्रदान गर्ने कार्य ज्यादै संवेदनशील मात्र नभई ‘रिस्की’ पनि हुन्छ । व्यवसायिक पेशावालाले आफ्नो ग्राहकलाई सेवा दिँदा ‘ड्यीउटी अफ केयर’ मा ध्यान दिनु पर्दछ । यदि हेलचेक्राई वा लापरबाहीको कारणले ग्राहकलाई असर परेमा त्यसको उचित क्षतिपूर्ति दिनु पर्दछ । नेपालमा अहिले धेरै विवाद चिकित्सासम्बन्धी भएकोले मैले सिर्फ चिकित्सा क्षेत्रको बारेमा विषय उठान गरेको हो ।

आजकल धेरै सुनिन्छ, फलानो अस्पतालले मान्छे मार्‍यो । चिकित्सकको लापरबाहीले बिरामी मर्‍यो आदि इत्यादि । हो, कुनै पनि मानिस शत प्रतिशत पूर्ण हुँदैनन् र गल्ति सबैबाट हुन्छ । कामको प्रकृति अनुरुपको परिणाम निस्कने गर्दछ । एउटा हजामको गल्तीले कपाल बिग्रिन सक्छ, तर चिकित्सकको गल्तीले मान्छे पनि मर्न सक्छ ।

गल्ति वा लापरबाही वा हेलचेक्राईले कुनै मानिस मरेमा त्यसको क्षतिपूर्ति के हुन सक्छ ? हो, मरेको मान्छे फिर्ता गर्न सकिँदैन, तर मृतकको परिवारलाई सहयोग गर्न सकिन्छ । कुनै व्यक्ति अपागं हुन गएमा वा शारीरिक वा मानसिक रुपमा असर परेमा उसको सम्पूर्ण उपचार खर्च र उसप्रति आश्रित परिवारलाई सहयोग गर्न सकिन्छ कसरी ?

‘मेडिकल इन्डेमनिटी इन्स्योरेन्स’ अर्थात् चिकित्सा क्षतिपूर्ति बीमाको स्थापना गरेरर सम्पूर्ण चिकित्सा क्षेत्रमा लाग्ने व्यक्तिहरूलाई बाध्यात्मक रुपमा बीमा लिनु पर्ने नियम बनाउनु पर्छ । बीमाको किस्ताको निर्धारण साधारणतया चिकित्सकको कार्यमा भर पर्नुपर्छ । एउटा साधारण चिकित्सक र चिरफार गर्ने चिकित्सकको किस्ता बराबर हुन सक्दैन किनकी बीमा गर्ने संस्थाले ‘जोखिम’ हेर्छ र त्यसअनुरुप बीमा निर्धारण गर्दछ।

मानौं, चिरफार गर्दाको लापरबाहीले कसैको ज्यान गएमा मृतकको पिडित परिवारलाई क्षतिपूर्तिको निर्धारण कसरी गर्ने ? सामान्यतय मृतकको उमेर, उसको कमाई, भविष्यमा काम गर्न सक्ने अवधि, उसप्रति आश्रित परिवारको संख्या र हैसियत आदि हेर्नु पर्दछ । जस्तो, ४० वर्षको व्यक्ति मरेमा, उसले ५५ वर्षसम्म काम गर्न सक्थ्यो भन्ने अनुमान गर्नु पर्दछ र सो १५ वर्षमा उसले कमाउने आदि कुराको अनुमान गरेर क्षतिपूर्ति दिनु पर्दछ ।

नेपालमा पछिल्ला दिनहरूमा मडिकल क्षेत्रमा देखिएका घटनाहरूले आगामी दिनमा यसको निकास नखोजे चिकित्सा क्षेत्र र सेवाग्राहीबीचको आपसी तिक्तता अझ बढ्ने देखिन्छ ।

संसारका विकसित राष्ट्रहरूमा पनि यस्ता थुप्रै घटनाहरू घटेका छन् । तर, डाक्टरले जानी जानी बिरामी मार्न सक्दैन । कमी कमजोरी र लापरबाहीले घटना घट्छन् ।

चिकित्सा क्षेत्रमा देखिएका पछिल्ला परिदृष्यले नेपालमा तोडफोड र बेथितीको जुन रुप प्रर्दशन भएका छन् यसलाई रोक्न राज्यले चाँडै नै नयाँ क्षतिपूर्तिको नीति ल्याउनु जरुरी देखिन्छ ।

लेखक थापा सिड्नीका कानून व्यवसायी हुन् ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.