यसपालिको मधेस डुबानमा भारत कति दोषी?


गतसाता तराई/मधेसका विभिन्न ठाउँमा डुबान भएसँगै फेरि बहस सुरू भएको छ- भारतले सीमा क्षेत्रमा बाँधेका बाँध तथा विभिन्न नदीमा बनेका ब्यारेजका कारण मधेश डुबानमा परेको  हो। त्यसैले भारतसँग कुरा गरेर ब्यारेज तथा बाँधले ल्याउने समस्या समाधान गरौं।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले साउन २९ गते संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्दै ‘नेपालको दक्षिणी सीमा नजिक छिमेकी देशले तटबन्ध तथा बाँध निर्माण गरेका कारण तराई/मधेशमा डुबान तथा बाढीको समस्या अत्यन्त भयावह बनेको’ उल्लेख गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तीन दिनपछि हुने भारत भ्रमणमा पनि यो विषय उठाउनु पर्ने सुझाव धेरैले दिएका छन्।

शनिबार तीन दलका शीर्ष नेताहरूसँगको भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले सीमा क्षेत्रका बाँध र तटबन्धका कारण नेपालले बर्सेनी ठूलो क्षति व्यहोर्दै आएकाले यसबारे भारतसमक्ष गम्भीर ढंगले कुरा राख्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरिन्।

तर कतिपय विज्ञले यसपालिको डुबानमा सीमामा भारतले बनाएका तटबन्ध र नेपालमा बनेका ब्यारेज कारक हुन् कि होइनन् त्यो पहिले निक्र्यौल गर्नुपर्ने तर्क गरेका छन्।

यसपालिको बाढी र डुबानमा दुई देशीय परियोजना अन्तर्गत नेपालमा बनेका ब्यारेज र भारतीय सीमामा बनेका बाँध र तटबन्धको कति जिम्मेवार छन्?

हामीले यो प्रश्न जल तथा ऊर्जा आयोगका सहसचिव केशवध्वज अधिकारीलाई सोधेका थियौं।

जलस्रोत इन्जिनियर अधिकारी बाढी व्यवस्थापनका विज्ञ हुन्। उनी पछिल्ला २२ वर्षमा नेपालका तर्फबाट भारतसँग ऊर्जा, बिजुली र बाँध सम्बन्धी परियोजनामा दर्जनौं पटक छलफलमा बसेका छन्।

उनले आफ्नो अध्ययन, अनुभव र भारतसँग भएका वार्ताका आधारमा बाढी र डुबानका बारे हामीलाई यसरी अथ्र्याए। उनकै शब्दमा–

अघिल्लो साता नेपालमा आएको बाढी र डुबानमध्ये कतिपय ठाउँमा भारतले सीमा नजिकै बाँधेका बाँधको भूमिका छ भने कति ठाउँमा त्यसको कुनै साइनो छैन।

यसपालि डुबान भएका पूर्वका दुई जिल्ला झापा र मोरङमा न नेपालमा ब्यारेज बनाइएको छ न सीमामा भारतले बाँध बाँधेको छ।

यी दुई जिल्ला डुबान पर्नुका दुई कारण छन्। पहिलो, यसपालि पानी नै धेरै परेको हो। २०४४ सालमा पनि पूर्वाञ्चलमा यस्तै बाढी र डुबान भएको थियो। त्यतिबेला नेपाल टेलिभिजनमा डुबान भएको विराटनगर विमानस्थलमा एउटा जहाज रोकिएको दृश्य देखिन्थ्यो। त्यस्तै दृश्यले यसपालि पनि चर्चा पायो।

त्यो क्षेत्रमा २४ घन्टाभित्र करिब ३ सय मिलिमिटरभन्दा बढी पानी परेको रेकर्ड छ।

विराटनगर डुबानको दोस्रो कारण पानीको निकास नभएर हो। एक त यति ठूलो पानी पर्दा बनाइएका निकासले काम गरिरहेको भए पनि धान्न सक्दैनथे। त्यसमाथि जताततै खनिएको सडक र थुनिएका निकासले विराटनगरको पानी बाहिर जान पाएन। त्यही पानीले डुबान निम्त्यायो।

कतिपयलाई भ्रम छ, कोशीको पानीले विराटनगर वा त्यो क्षेत्रमा डुबान भयो। भारतले समयमा कोशी ब्यारेजको ढोका नखोलेकाले डुबानमा परियो।

कोशी ब्यारेज पानी जम्मा गर्न बनाइएको बाँध होइन। दुबैतिरका नहरमा पानी पठाउन पानीको सतह बढाउन बनाइएको ब्यारेज हो।

यसपालिको डुबानमा कोशी ब्यारेजको कुनै हात छैन।  नहरमा पठाउनेभन्दा बढी पानी हुनासाथ उनीहरुले ब्यारेजका केही ढोका खोलिदिएकै थिए।

कोशीमा पानी खतराको संकेतभन्दा माथि पुग्दा पनि ढोका खोलेनन् भने त्यसको बढी चिन्ता उनीहरुलाई नै हुन्छ। किनकी  कोशी ब्यारेजको ढोका नखोल्दा कोशीले बाँध भत्कायो वा २०६५ को जस्तै दुबै किनारा भत्काएर बग्यो भने नेपालमा हुनेभन्दा सय गुणा ठूलो क्षति भारतमा हुन्छ।

अर्को कुरा कोशी सम्झौता अनुसार यो ब्यारेजको सञ्चालन र मर्मत सम्भारको जिम्मा भारतीय पक्षलाई छ। उसैले चलाउने र मर्मत सम्भार गर्ने भएपछि त्यसको चाबी पनि उसैसँग हुने भइहाल्यो।

यदि कुनै हालतमा कोशी ब्यारेजको चाबी हामीले राख्यौं र यसलाई सञ्चालन गर्‍यौं भने पनि अहिलेको अवस्थामा हामीलाई त्यसबाट केही फाइदा छैन।

कोशी ब्यारेजबाट नहर हुँदै जाने पानीले राजविराज नजिकैको १६ हजार हेक्टर जमिनमा सिँचाइ हुन्छ। त्यो बाहेक हामीलाई त्यो पानीको प्रयोग नै गर्न सक्दैनौं।

कोशीदेखि पश्चिम तराईमा बाढी र डुबान हुनुमा भने भारतले सीमासम्म बनाएका  बाँध/तटबन्धको केही हात छ।

खाँडोदेखि पश्चिम राप्ती नदीसम्म सीमामा डुबान पर्नुका बेग्लाबेग्लै समस्या छन्।

सप्तरीमा बग्ने खाँडो, सिरहा र धुनषामा बग्ने कमला, सर्लाही र रौतहटमा बग्ने बागमती, रौतहट र बारामा बग्ने लालबकैया नदीले यी क्षेत्रमा बाढी र डुबान ल्याउँछन्।

रौतहटको गौरपारिको बरगनिया बजार जोगाउन भारतीय पक्षले वरिपरि बाँध लगाएर राखेको छ। त्यसले गर्दा होचोमा रहेको गौरमा बागमती र लालबकैया दुबैको पानी जान्छ। त्यसले निकास पाउँदैन र वर्षेनी डुबानमा पर्छ।

यद्यपी पछिल्लो समय यी चारै नदीलाई नियन्त्रण गर्न भारतदेखि नेपालसम्मै छेउमा तटबन्ध बनाउन थालिएको छ।

नवलपरासी डुबानमा पर्नुको मुख्य कारण गण्डक ब्यारेजको नहर हो। सो ब्यारेजको दाहिनेपट्टिको नहरको लामो भाग नेपाली भूमिमा पर्छ।

नहरको डिजाइन यति गलत तरिकाले भएको छ कि नेपालका साना खोलानालाई त्यही नहरको मूनिबाट प्वाल राखेर पारि पठाइन्छ। बर्खामा ती खोलानालामा पानीमात्र बग्दैन। काठ, माटो र ढुंगा जान्छ त्यसले प्वाल बन्द गरिदिन्छ। अनि  नहरछेउको ठूलो नेपाली भूभाग डुबानमा पर्छ।

पश्चिम राप्तीको पानीबाट सिँचाइ गर्न भारतले लक्ष्मणपुरमा ब्यारेज बनाएको छ। यो ब्यारेज नेपाली सीमादेखि केही पर छ। कहिले यता कहिले उता बग्ने राप्तीलाई नियन्त्रण गर्न भारतले नदी छेउमा तटबन्ध बनाएको छ। त्यो तटबन्ध सीमासम्म सिधा आउँछ तर नेपालपट्टिबाट पनि नदीले बाटो फेर्न सक्ने भएकाले उनीहरुले आफ्नो भूभाग जोगाउन सीमासँगै समानान्तर तटबन्ध बनाइदिएका छन्।

सो तटबन्धले स्थानीय सानातिना खोलाबाट निकास हुने पानीलाई छेकिदिएको छ। जसका कारण नेपाली क्षेत्रमा बर्षेनी डुबान हुन्छ।

सीमामा यस्तो गर्नु भारतको अर्घेल्याँइ हो। तर महत्वपूर्ण प्रश्न भारतले किन यस्तो अर्घेल्याइँ गरिरहेको छ? भन्ने हो।

नेपाल र भारतबीच सीमामा बाढीको समस्या नयाँ होइन्। धेरै पहिलेदेखि यो विषयमा कुरा उठ्दै आएको छ। दुबै देशका अधिकारी सम्मिलित बाढी तथा डुबान व्यवस्थापनका लागि संयुक्त समिति बनाइएको छ। यो समितिले सन् १९८५ देखि काम गरिरहेको छ। तर हामी समस्याको समाधान निकाल्न भने सकिरहेका छैनौं।

त्यसमा भारतीय पक्षभन्दा म हाम्रै बढी दोष देख्छु।

भारतले एकपक्षीय ढंगले कलकुलवा तटबन्ध बनाएपछि त्यसबारे छलफल गर्न बनेको समितिमा म पनि सहभागी थिएँ।

त्यतिबेला दुबै देशका प्रतिनिधि एउटै निष्कर्षमा पुगेका थिए–राप्तीको क्षति कम गर्न सीमासम्म बनाएको तटबन्धलाई नेपाल हुँदै कुनै अग्लो स्थानसम्म लगाउनुपर्छ।

दुई पक्षबीच त्यसको खर्च भारतले नै व्यहोर्ने सहमति पनि भएको थियो। हामीले त्यसको डिजाइन पनि गरिसकेको थियौं।

यो कुरा संसदीय समितिमा पुग्यो। समितिले स्थलगत अनुगमन गरेर यो योजना राष्ट्रहित विपरित भएको प्रतिवेदन बनायो। भारतमा पनि राप्तीलाई प्राकृतिक रूपमा बग्न दिन कुटनीतिक पहल गर्ने सुझाव दियो।

नेपालमा तटबन्ध गर्ने काम रोकियो। २० वर्ष बित्न लाग्यो न नेपालमा तटबन्ध बन्यो न भारतमा राप्ती प्राकृतिक रूपमा बग्न दिन कुटनीतिक पहल भयो। हाम्रा गाउँ बर्षेनी डुबानमा परिरहेका छन्।

अन्य ठाउँमा पनि बाढी र डुबानको समाधान गर्न नेपाली पक्षले संयुक्त रूपमा काम गर्न नचाहेपछि आफ्नो भूमि जोगाउन भारतले सीमामा समानान्तर तटबन्ध बनाएको हो।

यो कुरा बुझ्न अहिले पनि भारतको बिहारमा आएको बाढी र डुबानलाई हेरे हुन्छ।

उनीहरू आफू ओभानोमा बसेर हामीलाई मात्र डुबानमा पारेको भए भन्न सकिन्थ्यो–भारतका कारण हामी डुबानमा प¥यौं। तर अहिले हामीलाईभन्दा ठूलो बाढीको समस्या उनीहरूलाई छ।

बाढी दुई देशको साझा समस्या हो। यसको सामना गर्न  पनि दुबै देश मिलेर काम गर्नुपर्छ। त्यसको अर्को कुनै विकल्प छैन।

(भानुभक्तले गरेको कुराकानीमा आधारित)

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.