मेरो नेता डा. केसी


हिजो साँझ, डा. गोविन्द केसीले एघारौँ अनशन स्थगित गरेपछि सामाजिक सञ्जालमा विचरण गर्दा लाग्यो, डा. केसी डाक्टर, प्रोफेसर र एकजना असल मान्छे मात्र होइनन्, एउटा स्पष्ट विचार बोक्ने र आफ्नो विचारलाई समर्थन गर्ने व्यक्तिहरूको ठूलो समूहको समर्थन पाएका नेता हुन्। अनि थाहै नपाई आफू पनि उनको ‘कार्यकर्ता’ भइसकेको कुरा थाहा पाउँदा खुसी लाग्यो। मैले जसरी शब्दमै स्वीकार गरे पनि नगरे पनि, उनी स्वयंले आफूलाई नेता नमाने पनि उनका कार्यकर्ता धेरै भइसकेका छन्। मभन्दा धेरै प्रतिबद्ध, सक्रिय र अझ धेरै आस्थावान् पनि धेरै छन्।

त्यसो त डा. केसी नेता भएको अहिले होइन। पहिलो अनशनदेखि नै उनको एउटा राजनीतिक हैसियत बनेको हो र हामी उनका कार्यकर्ता बन्न थालेका हौँ। उनको राजनीति गर्ने शैली कति प्रोफेशनल, विषय केन्द्रित र प्रतिबद्ध रह्यो भने उनको उनको विचार पटक्कै मन नपराउने, र उनको प्रतिबद्धताका कारण आफूलाई असर परेकै व्यक्तिले पनि उनलाई ठाडो गाली गर्ने आँट गर्दैन (मैले झापाको बीएन्डसी अस्पतालका मालिक दुर्गा प्रसाईँ जस्ता आँटिला व्यक्तिको कुरा गरेको होइन।) लोकमानसिंह कार्कीका कार्यकर्ता बन्न पुगेका कृष्णहरि पुष्कर (यहाँ ‘कार्यकर्ता’ सचेततापूर्वक प्रयोग गरिएको शब्द हो, अख्तियारको प्रवक्ता भएका बेला उनले लेखेका पत्रहरू र उनका वक्तव्यहरू साक्षी छन्) नामक उच्च पदस्थ एकजना सरकारी कर्मचारी डा. केसीलाई ‘पागल’ भनेर गाली गरेकै कारण हिजोआज सामाजिक सञ्जालमा समेत मौन छन्। त्यसबेला जे भने पनि, पढेलेखेका व्यक्ति हुन्, अहिले यसरी डा केसीका समर्थकले आफूलाई ‘पागल’ भन्दा उनलाई कतै चसक्क त हुँदो हो।

नेता भनेको को हो त? शब्दकोश अर्थ्याउँछ, नेता भनेको कुनै राजनीतिक दल वा जनसमुदायलाई असल बाटो देखाउने व्यक्‍ति हो। नेता भनेको समाजलाई नेतृत्व दिन सक्ने व्यक्‍ति हो, अगुवा हो, नाइके हो। ऊ नायक हो। हिरो हो। गोविन्द केसी ‘राजनीतिक दल’ बाहेक सबै हिसाबले नेता हुन्। मेरा नेता हुन्। हाम्रा नेता हुन्। नायक हुन्। हिरो हुन्।

‘राजनीतिक प्राणी’ हरूलाई मेरा कुरा अराजनीतिक लागे त्यो उनीहरूको टाउको दुखाइ हो। राजनीति उनीहरू नै बुझिरहून् र फरक ढङ्गले सोच्नेहरूलाई अबूझ भनिरहून्। डा. केसीलाई ‘देवत्वकरण’ गर्‍यो भन्ने आरोप लगाउनेहरूको शब्दज्ञानका बारेमा पनि मलाई केही भन्नु छैन। कुरा के चाहिँ हो भने, कुनै पनि दलका कार्यकर्तासित उसले पछ्याउने नेताका बारेमा कुरा गर्नुस्, “मेरो नेता सबै हिसाबले मेरो आदर्श हो” भन्न सक्छन्? उनीहरू जिब्रो चपाउन थाल्छन्, “हुन त हो…, अरू जे भए पनि…, कुनै न कुनै कमजोरी नभएको त को नै हुन्छ र…, बूढाले बेलाबेला लाजै पार्छन् र पनि…,” आदि। उनीहरूलाई चुनौती दिन पाउँदा मलाई गर्व लाग्छ। भन्न मन लाग्छ,  ल तुलना गर तिम्रो नेता र मेरो नेताको।

गोविन्द केसीप्रति आस्थावानहरूलाई सजिलो छ, उनका लागि कुनै किन्तु-परन्तु लगाउनु पर्दैन। उनी डाक्टरका रूपमा वा एउटा सत्याग्रहीका रूपमा यसै उत्कृष्ट छन् र सधैँ उत्कृष्ट छन्। सबभन्दा ठूलो कुरा, उनी एउटा आदर्शबाट अभिप्रेरित छन् र त्यसप्रति मात्र प्रतिबद्ध छन्। उनको अभीष्ट हो मुलुकको स्वास्थसेवालाई स्तरहीन हुन नदिनू र जनताले बेहोर्नसक्ने हदबाट बाहिर जान नदिनू। उनी ज्यान जोखिममा पारेर त्यसकै निम्ति ११ पटक अनशन बसिसकेका छन्। चन्दा वा कमिसन उठाएर खानु नपर्ने, कार्यकर्ता पाल्नु नपर्ने, कमाइभन्दा ठूलो खर्च कहिल्यै नभएका, कहिल्यै कुनै काण्डमा कहिल्यै नमुछिएका,  कुनै गुण्डा, माफिया, डनसित कहिल्यै नजोडिएका डा केसी हामीले खोजेजस्ता नेता हुन्। नेता हुन चुनावै लड्नुपर्छ भन्ने छैन। चुनाव जितेर आएकाहरूलाई नैतिकताका आधारमा चुनैती दिने नेता हुन् उनी। सिङ्गो गुप्तचर संयन्त्र हातमा लिएर बसेकाबेला लोकमान-पुष्करहरूले पनि मनोगत हिसाबले ‘पागल’ भन्दा बढी केही भन्ने हिम्मत नगरेका व्यक्ति हुन् उनी।

उनी सम्भवतः सबभन्दा बलियो सञ्जाल समर्थन भएका व्यक्ति पनि हुन्, जसप्रति आस्थावान्‌हरूका कारण, एमाले जस्तो हरेक तह र तप्कामा प्रचार संयन्त्र भएको दलका शालीन नेता प्रदीप ज्ञवालीले समेत “पार्टीलाई नै ‘मेडिकल माफिया’ का रुपमा डाम्न खोजिएको” गुनासो गर्नु पर्‍यो। तर उहाँले समेत बुझ्नुपर्ने कुरा के हो भने डा. केसीका पक्षमा बोल्ने सबभन्दा धेरै मान्छे ती छौँ, जो नाकाबन्दीका बिरूद्धमा बोल्दा अपमानजनक ढङ्गले राष्ट्रवादी भनिएका थियौँ, लोकमान सिंह कार्कीका विपक्षमा उभिँदा अराजकतावादी, सुशीला कार्कीलाई महाभियोग लगाउने नेपाली कांग्रेसको आलोचना गर्दा ‘एन्टी कांग्रेस’। अहिले ज्ञवालीजीले त्यति भन्दा चित्त नदुखाई उहाँको लेखको प्रशंसा गर्ने पनि हामी नै हौँ। विश्वविद्यालयकी शिक्षाध्यक्षले  ‘कन्सल्टेन्सी पोस्ने’, ‘डा.गोविन्द केसीको लोकपृयता र इमान्दारिताको दुरुपयोग गरिरहेका माफिया’, ‘डलरवादी’ भन्दा हाँसिदिने (घिनाउँदै भए पनि)  हामी नै गोविन्द केसीका कार्यकर्ता हौँ।

म  अरू विभिन्न कुरा हेरेर निर्वाचनमा कसैलाई मत दिउँला, तर मेरो मत पाएकै कारण कसैलाई नेता स्वीकार्न सक्दिनँ। मलाई गोविन्द केसीको स्तरको प्रतिबद्धता भएको नेताको खोजी छ र अहिलेलाई उनी मेरा सामुन्नेमा छन्। बाबुआमा भइसकेका मान्छे आफ्ना छोराछोरीका प्रति सबभन्दा इमानदार हुन्छन्।  म मेरा छोराछोरीले डा गोविन्द केसीको जस्तो निष्ठा भएका नेताको मात्र अनुशरण गरून् भन्ने चाहन्छु। तपाईँ त्यो नचाहन सक्नुहुन्छ। तपाईँ गोविन्द केसीको विरोधी हुन पूरा स्वतन्त्र हुनुहुन्छ। तर आफ्ना सन्तान यस मुलुकको कुन नेता जस्तो होस् भन्ने चाहनुहुन्छ? कुन नेता, मन्त्री, पूर्वमन्त्री, प्रधानमन्त्रीको तस्वीर आउँछ मनमा? कतै गोविन्द केसीको अनुहार त झलक्क मनमा आउँदैन?

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.