विगत सय वर्षको समयावधितिर फर्केर हेर्दा संसारमा भएका विकासहरू अपत्यारिला लाग्छन्। औद्योगिक क्रान्ति, भौतिक पूर्वाधार विकास, अन्तरिक्ष अन्वेषण, आणविक हतियार निर्माण तथा सूचना प्रविधि विकासले मानव इतिहासलाई अधिकतर उचाइमा पुर्याएको छ।
विकासका अनेक युग पार गर्दै अहिले हामी डेटा विज्ञान र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को युगमा प्रवेश गरेका छौं। विभिन्न क्षेत्रहरूको विकासले दशकौं समय लिएका भए पनि एआई विकासको गति अकल्पनीय ढंगले तीव्र छ।
गुगलका वैज्ञानिकहरूले सन् २०१७ मा प्रकाशन गरेको ट्रान्सफर्मर आर्किटेक्चरको सोधपत्र एआई विकासको नयाँ सुरूआत मान्ने हो भने बितेको आठ वर्षमै एआईले ठूलो फड्को मारेको छ।
अहिले आएका च्याट जिपिटी र मिस्ट्रल जस्ता एआई क्षेत्रको प्रतिनिधित्व गर्ने लार्ज ल्यांग्वेज मोडल (एलएलएम) हरू सोधिएका प्रश्नको उत्तर मानिसले झैं भन्न र लेख्न सक्षम देखिएका छन्।
अझ डिपसिक र ओपन एआईले निर्माण गरेका नयाँ रिजनिङ मोडलहरू त मानिसले जस्तै सोच्न समेत सक्षम हुँदै अघि बढेका छन्।
एलएलएम मोडलहरू योग (आरएजी) नामक नयाँ प्रविधि प्रयोगबाट आफ्नो ट्रेनिङ डेटाको आधारमा मात्र नभएर इन्टरनेटमार्फत ताजा डेटा खोजेर त्यसको आधारमा पनि उत्तर दिन सक्छन्।
एआईको अर्को विशेष पाटो रोबोटिक्स हो, यसको प्रगतिसमेत लोभलाग्दो छ। रोबोटले लेखनमा अब्बल एलएलएमको सहयोगमा मानिसको निर्देशन बुझ्न र त्यही अनुसार भौतिक क्रियाकलापमा मद्दत गर्न सक्छ।
उता डेटा सेन्टरमा भएका खर्बौंका नयाँ लगानी, माइक्रोसफ्टको मजोराना–१ चिप लगायत क्वान्टम कम्प्युटिङमा भएका ताजा आविष्कारहरूले अबको केही वर्षमा एआईको दायरा अझै फराकिलो बनाउँदै लैजाने देखिन्छ। एआई प्रविधिहरूले एकातिर मानवजीवन सरल बनाउदै लगेका छन् भने अर्कोतिर मानिसकै रोजगारीका अवसरहरू खुम्च्याउँदै लगेका छन्।
विशेषतः सफ्टवेयर इन्जिनियरिङ, ग्राहकसेवा प्रतिनिधिजस्ता एकै प्रकारका काम दोहोरिने क्षेत्रमा एलएलएमको प्रयोगले रोजगारीमा गिरावट ल्याएको देखिन थालेको छ।
शिक्षा क्षेत्रमा समेत एआईले विशेष प्रभाव पार्न थालेको छ। अचेल विश्वविद्यालयका विद्यार्थीहरूले गृहकार्य र प्रोजेक्टहरूमा एलएलएम प्रयोग गर्ने गरेका छन्। यसबाट प्राध्यापकहरूलाई विद्यार्थीको रचनात्मकताको मूल्यांकन गर्न कठिन हुँदै गएको छ।
औपचारिक शिक्षा, अझ विशेष गरेर प्राविधिक शिक्षामा एआईको प्रयोग प्रभावकारी बनाउन विश्वविद्यालयहरूले सोच्ने बेला आएको छ।
अर्कोतिर, एआई र अनलाइनमार्फत नै सस्तोमा पढ्न मिल्ने सुविधा बढ्दै जाँदा आगामी दिनमा विश्वविद्यालय नै किन जानु भन्ने बहस सुरू हुन सक्छ।
केही महिनादेखि एआई एजेन्टको प्रयोग भइरहेको छ।
यस्तो एजेन्टले दिइएको निर्देशन अनुसार सफ्टवेयर बनाइदिन्छ, अनलाइनमार्फत किनमेल गरिदिन्छ। विभिन्न वेबसाइटमा खोजेर सबैभन्दा न्यून मूल्यमा होटेल बुक गरिदिन्छ, हवाई टिकट काटिदिन्छ। आफूलाई चाहिएको विषयको शोधपत्र खोजिदिने काम पनि गर्न सक्छ। त्यस्ता एजेन्टहरूले निकट भविष्यमा प्राध्यापकहरूले जस्तै पढाउन पनि सक्लान्।
यसै पनि प्राविधिक क्षेत्रमा रोजगारीका लागि आजकाल प्रमाणपत्रभन्दा सीपमा बढी महत्त्व दिने गरिएको छ। घरमै बसेर प्राविधिक ज्ञान हासिल गर्न सकिन्छ भने विश्वविद्यालय र प्राध्यापक किन अनिवार्य हुन्छ र!
कतिपय देशमा यस्तो कुरा पनि उठ्न थालेको छ।
अब विश्वविद्यालयहरू प्रचलित प्रविधि अनुसार चल्न सकेनन् भने तिनको आवश्यकता घट्दै जान सक्छ।
प्राविधिक हिसाबले विश्वविद्यालयको आवश्यकता घटे पनि, अनलाइन कक्षा र एआई मोडलहरू शिक्षकले झैं पढाउन सक्षम भए पनि विश्वविद्यालय हामीलाई आवश्यक हुनेछन्।
विश्वविद्यालय शैक्षिक ज्ञान प्रवाह गर्ने ठाउँ मात्र होइन, सामाजिक जीवनको महत्त्वपूर्ण अवयव समेत हो।
मानव सभ्यताको विकास एकल ढंगले भएको होइन, एकअर्कासँग मिलेर काम गर्दा, समूहमा बस्दा र सामूहिक भावनाले काम गर्दै जाँदा क्रमिक रूपले भएको हो। विश्वविद्यालयमा विद्यार्थीहरूले समान सोच भएका साथीहरू भेट्छन्। आपसमा सहकार्य गर्छन्। यस प्रक्रियाले थप विकासका लागि सञ्जाल निर्माण गर्न, नयाँ विचार आदानप्रदान गर्न र व्यावहारिक जीवनमा आवश्यक सीप सिक्न मद्दत पुर्याउँछ।
विश्वविद्यालयमा हुने सहकार्य, सामूहिकता, सञ्चार कौशल र समस्या समाधान गर्ने क्षमता विकास अनलाइन कक्षा वा एआई मोडलहरूले उपलब्ध गराउन सक्दैनन्। साथै, लामो समय निरन्तर अनलाइन कक्षा लिनु विद्यार्थीका लागि थकाइलाग्दो हुन सक्छ। स्क्रिनमार्फत मात्र सिकाइ गर्नु चुनौतीपूर्ण पनि हुन सक्छ।
विद्यार्थीहरूलाई प्रत्यक्ष अियान्तर्क्र, शिक्षकको प्रत्यक्ष सहयोग र समूहमा सिक्ने वातावरण आवश्यक पर्छ। अनलाइन कक्षामा यस्तो वातावरण कमजोर हुन्छ।
प्राध्यापकको मद्दतबाट विद्यार्थीले पाठ्यक्रममा भएको ज्ञान प्राप्त गर्ने मात्र होइन, कक्षाकोठामा हुने प्रत्यक्ष अन्तर्क्रियाले विद्यार्थीको आत्मविश्वास बढाउँछ, तर्क गर्ने क्षमता विकसित गर्छ र व्यावहारिक जीवनका चुनौती सामना गर्न तयार बनाउँछ।
विश्वविद्यालय नयाँ विचार सिर्जना गर्ने, अनुसन्धान गर्ने र जटिल समस्याको समाधान खोज्ने सामूहिक थलो हो। एलएलएम र अन्य एआई प्रणालीहरू शिक्षा आर्जन गर्न उपयोगी भए पनि विश्वविद्यालय सोझै विस्थापन गर्न सक्ने हुँदैनन्। परोक्ष रूपमा भने असर पार्न सक्छन्, विश्वविद्यालयको चुनौती बढाउन सक्छन्।
रोजगारीमा सीप महत्त्वपूर्ण त हुन्छ नै, यससँगै असल आचरण, मेहनत गर्ने बानी, समयसीमाभित्रै काम सक्ने क्षमताजस्तो गुण पनि आवश्यक पर्छ। यस्तो गुण औपचारिक शिक्षाले मात्र ठिक ढंगले विकास गराउन सक्छ। विश्वविद्यालयको आवश्यकता कायम राख्न समयसापेक्ष रूपमा परिमार्जन र विकास हुन आवश्यक पर्छ। अबको समयमा विद्यार्थीलाई के सिकाउने; उनीहरूको ज्ञान, अवधारणा र सिप परीक्षण कसरी गर्ने भन्ने बारेमा हाम्रा विश्वविद्यालयहरू स्पष्ट हुन जरुरी छ।
यस अनुसार कदम चाल्न पनि उत्तिकै जरूरी छ।
मानिसका लागि एआई मित्रवत प्रविधि हो। यसले मानिसको पूर्ण स्थान लिने छैन। आफ्नो कामको महत्त्व बढाउन र रोजगारीका लागि आफूलाई अझ योग्य बनाउन एआईको उपयोग सिक्नु सबैका लागि अत्यावश्यक भएको छ।
हाम्रा विश्वविद्यालय र शिक्षकहरू एआईको समयसापेक्ष उपयोग गरेर शिक्षण प्रक्रिया अझ सहज र प्रभावकारी बनाउन सक्छन्। यसतर्फ बेलैमा ध्यान दिन अत्यावश्यक भएको छ। होइन भने विश्वविद्यालय र शिक्षकको महत्त्वमाथिको प्रश्न बलियो हुँदै जानेछ।
(लेखक डा. आमोद खतिवडाले नर्थइस्टर्न विश्वविद्यालय (बोस्टन, अमेरिका) बाट विद्यावारिधि गरेका छन् उनी हाल माइक्रोसफ्ट (सिलिकन भ्याली, अमेरिका) का डेटा वैज्ञानिक हुन्। यस लेखमा प्रस्तुत विचार उनका निजी हुन्।)