अहिले प्रचलित कक्षा १० को अन्तिम परीक्षा एसइई (माध्यमिक शिक्षा परीक्षा) पहिले माध्यमिक तहको फलामे ढोका भनिने एसएलसी (स्कुल लिभिङ सर्टिफिकेट) कै अर्को रूप हो।
एसएलसीलाई विद्यार्थी र अभिभावकहरू फलामे ढोका मान्थे। एसइई पनि फलामे ढोकाभन्दा फरक छैन। यो परीक्षा विद्यार्थीको जीवनमा कोशेढुंगा हो जसले उसको भावी शैक्षिक यात्रा तय गर्छ।
२०८१ सालको एसइई आगामी चैत ७ देखि हुँदै छ। गत वर्षको परीक्षा नतिजाले विद्यार्थीका लागि एसइई निकै चुनौतीपूर्ण रहेको संकेत गरेको छ।
गत वर्ष ४ लाख ६४ हजार ७८५ विद्यार्थी एसइईमा सहभागी भएकामा ४८.८६ प्रतिशत मात्र उत्तीर्ण भए। तीमध्ये १८६ ले मात्र ४ जिपिए हासिल गरे। आधाभन्दा बढी, ५१.१४ प्रतिशत, विद्यार्थी असफल भए। यस नतिजाले समाजमा चिन्ता बढाएको छ। यसमा विद्यार्थी, शिक्षक, अभिभावक र सरकारी अधिकारी गम्भीर हुन आवश्यक छ।
विद्यार्थीहरूले परीक्षा तयारीमा ध्यान दिएर नतिजा सुधार्न सक्छन्। विद्यार्थीले नियमित र व्यवस्थित अध्ययन तालिका बनाउनुपर्छ। यस्तो तालिकाले समयको उचित व्यवस्थापन गर्न मद्दत गर्छ।
तालिका बनाउँदा विद्यार्थीले हरेक दिनको पढाइ समय, विषय र लक्ष्य निर्धारण गर्नुपर्छ। यस्तो तालिकाले विद्यार्थीको मानसिक तयारी पनि मजबुत बनाउँछ। विद्यार्थीले हरेक विषयमा आफै आफ्नो समीक्षा गरेर कमजोरी पत्ता लगाउनुपर्छ र सुधारमा ध्यान दिनुपर्छ। कठिन मानिएका विषय र पाठमा पनि बढी ध्यान दिनुपर्छ।
नमूना प्रश्नपत्र हल गर्ने अभ्यास परीक्षा तयारीको एक महत्त्वपूर्ण हिस्सा हो। यस्तो अभ्यासले विद्यार्थीलाई परीक्षामा समय व्यवस्थापन गर्न र प्रश्नको प्रकृति बुझ्न मद्दत पुग्छ। नमूना प्रश्नपत्र हल गर्दा विद्यार्थीले परीक्षाको सबै नियम पालना गर्नुपर्छ। यसो गर्दा वास्तविक परीक्षाको अनुभव प्राप्त हुन्छ, विद्यार्थीले आफ्ना कमजोरी थाहा पाउन सक्छ। परीक्षाको दबाब कम हुन्छ र आत्मविश्वास बढ्छ।
विद्यार्थीले आफ्ना नोटहरू पुनरवलोकन गर्नु प्रभावकारी अध्ययन रणनीति हो। आफूलाई कठिन लाग्ने विषय र पाठको नोट र लघु नोट बनाउनुपर्छ। यसले पाठ सरल र संक्षिप्त बनाउँछ।
लघु नोट परीक्षाको मुखमा सर्सर्ती पुनरवलोकनको राम्रो स्रोत बन्न सक्छ, छोटो समयमा धेरै कुरा सम्झन सजिलो बनाउँछ।
परीक्षा नजिकिँदै गर्दा विद्यार्थीमा मानसिक दबाब र तनाव बढ्छ। यसले परीक्षा तयारीमा असर पार्न सक्छ। त्यस्तो असर पर्न नदिन पर्याप्त निद्रा, स्वस्थ आहार र नियमित व्यायाम महत्त्वपूर्ण हुन्छ। व्यायामले शरीर फूर्तिलो बनाउन र ध्यान एकीकृत गर्न सहयोग पुग्छ। स्वस्थ आहारले शारीरिक र मानसिक स्वास्थ्य सुदृढ बनाउँछ। पर्याप्त निद्राले शरीरलाई ऊर्जाशील राख्छ।
एसइई तयारीको समयमा अभिभावकको भूमिका निकै महत्त्वपूर्ण हुन्छ। परीक्षार्थी छोराछोरीको मानसिक र शारीरिक स्वास्थ्य सुदृढ बनाउन मद्दत गर्नु, पढाइको अनकूल वातावरण बनाइदिनु र भावनात्मक समर्थन दिनु अभिभावकको मुख्य जिम्मेवारी हो।
परीक्षाको दबाब र तनावमा रहेका छोराछोरीलाई अभिभावकले उत्साहित र प्रेरित गर्नुपर्छ। आत्मबल बढाउन मद्दत गर्नुपर्छ। यस किसिमको मद्दतले विद्यार्थीलाई उत्साहित बनाउँछ, आत्मविश्वास पनि बढाउँछ।
अभिभावकले आफ्ना परीक्षार्थी छोराछोरीसँग गफ गरेर भावना बुझ्ने र उचित मार्गदर्शन गराउने काम गर्नुपर्छ। यसो गर्दा परीक्षार्थीको आत्मविश्वास बढ्छ। परीक्षार्थी छोराछोरीको पोषणयुक्त खानपिन, निद्रा र समय व्यवस्थापनमा पनि उचित सहयोग गर्नुपर्छ।
घरमा पढाइको उचित वातावरण हुनु निकै महत्त्वपूर्ण हुन्छ। शान्त र सहज वातावरण बनाइदिने काम अभिभावककै हो। पढाइमा अवरोध सिर्जना नहुने घरायसी वतावरण हुन्छ। आवश्यक सबै सिकाइ सामग्री उपलब्ध हुनुपर्छ।
अभिभावकहरूले छोराछोरीको उचित निगरानी गर्नुपर्छ तर बढी दबाब दिनु हुँदैन, हौसला दिनुपर्छ। बढी दबाबले मानसिक असर पुर्याउँछ, पढाइ–सिकाइको गुणस्तर घटाउँछ।
विद्यार्थी छोराछोरीको प्रगति नियमित जाँच्नु, आवश्यकता अनुसार सहारा दिनु र उचित मार्गनिर्देश गर्नु पनि अभिभावकको जिम्मेवारी हो। यसो हुँदा विद्यार्थी पढाइका लागि उत्साह हुन्छ।
एसइई तयारीमा विषय शिक्षकको भूमिका निकै महत्त्वपूर्ण हुन्छ। शिक्षकले विद्यार्थीहरूलाई शैक्षिक मार्गदर्शन गराउँदै उनीहरूको मानसिक तयारी र आत्मविश्वास अभिवृद्धिमा सहयोग गर्नुपर्छ। परीक्षा तयारीको सहज र प्रभावकारी उपाय सिकाउनु विषय शिक्षकको कर्तव्य हो। शिक्षकले पाठ पुनरवलोकन गर्दै नमूना प्रश्नपत्रमा विद्यार्थीलाई बढीभन्दा बढी अभ्यास गराउनुपर्छ।
उत्तर लेख्ने तरिका सिकाउनुपर्छ, नबुझेको कुरामा प्रश्न गर्न प्रेरित गर्नुपर्छ, कमजोरी सुधार्न र आत्मविश्वास बढाउन मद्दत गर्नुपर्छ। सूत्रात्मक ढंगले सम्झिने तरिका सिकाउनुपर्छ। सहज सिकाइ वातावरण सिर्जना गर्नु शिक्षकको अर्को महत्त्वपूर्ण जिम्मेवारी हो। विद्यार्थीहरूको सिकाइ प्रक्रिया धेरै हदसम्म वातावरणमा निर्भर हुन्छ।
कक्षामा पढाइको समयमा विद्यार्थीको मनोबल बढाउँदै सिकाइ सरल र स्पष्ट बनाउने पनि शिक्षकले नै हो। विद्यार्थीहरूलाई आफ्नो विचार व्यक्त गर्न प्रेरित गर्नुपर्छ जसबाट उनीहरूको समस्या समाधान होओस्, शंका निवारण होओस्, सिकाइको गहिराइ बढोस्।
विद्यार्थीलई लिखित अभ्यास गराउने पद्धति निकै प्रभावकारी हुन्छ। हाल एसइईको तीन चौथाइ भाग लिखित हुन्छ। यस कारण पनि शिक्षकले विद्यार्थीलाई लेखनमा बढीभन्दा बढी अभ्यास गराउनुपर्छ।
विद्यार्थीलाई प्रश्नको उत्तर स्पष्ट र सुसंगत तरिकाले लेख्ने अभ्यास गराउनुपर्छ। यस्तो अभ्यासले परीक्षामा उत्तर लेख्दा समय व्यवस्थापन र विचार संगठनमा मद्दत पुग्छ।
लेखन अभ्यासले विद्यार्थीमा प्रभावकारी ढंगले विचार व्यक्त गर्ने क्षमता पनि बढाउँछ। एसइई तयारीमा विद्यालय प्रशासनको भूमिका पनि अत्यन्त महत्त्वपूर्ण हुन्छ। विद्यालयको शैक्षिक वातावरण सुदृढ बनाउनु, शिक्षण प्रक्रिया सहज बनाउनु र परीक्षा सम्बन्धी सबै तयारी ठीक समयमा गराउनु विद्यालय प्रशासनको जिम्मेवारी हो।
विद्यालय प्रशासनले नमूना परीक्षा पनि चलाउनुपर्छ। यो निकै प्रभावकारी रणनीति हो। यस्तो परीक्षाले विद्यार्थीहरूलाई वास्तविक परीक्षा अनुभव प्राप्त हुन्छ। नमूना परीक्षाबाट विद्यार्थीले आफ्नो सामर्थ्य र कमजोरी र थाहा पाउँछ। आफ्नो कमजोरी सुधार गर्ने अवसर पाउँछ। यस्तो परीक्षामा प्राप्त अंकका आधारमा विद्यार्थीले सुधारको लक्ष्य निर्धारण गर्न पाउँछ।
यसले विद्यार्थीलाई समय व्यवस्थापनमा र परीक्षा प्रक्रियामा सजग बनाउँछ।
प्रत्येक विद्यार्थीको क्षमता फरकफरक हुन्छ। सबैले एकै गतिमा सिक्न सक्दैनन्। विद्यालय प्रशासनले कमजोर विद्यार्थी पहिचान गरेर तिनको सिकाइ सुधार गर्ने उपाय अपनाउनुपर्छ। कमजोर हुनुको खास कारण पत्ता लगाएर त्यसमा सुधार गर्न मद्दत गर्नुपर्छ।
विद्यालय प्रशासनले शिक्षकलाई पनि उचित मार्गदर्शन र सहयोग गर्नुपर्छ। शिक्षकको पनि केही समस्या छ, उसलाई सहयोग चाहिएको छ भने विद्यालय प्रशासनले मद्दत गर्नुपर्छ।
विद्यालय प्रशासनले शिक्षक, विद्यार्थी र अभिभावक बीच बलियो समन्वय गर्नुपर्छ। समयसमयमा अभिभावकसँग बैठक गरेर विद्यार्थीका लागि उचित वतावरण सिर्जना गर्न मद्दत गर्नुपर्छ। विद्यार्थी र शिक्षकबीचको सम्बन्ध सहज बनाउन र संवाद बढाउन सहयोग गर्नुपर्छ।
यस्तो समन्वयले विद्यार्थीको सिकाइ प्रभावकारी बनाउन मद्दत पुग्छ। अभिभावकले घरमा गर्ने सहयोग बढ्छ। विद्यार्थी पनि उत्साहित हुन्छ र आफ्नो लक्ष्य निर्धारण गर्छ। यसले सिकाइको गति बढाउँछ। विद्यालय प्रशासनले परीक्षा केन्द्र, परीक्षा समय, परीक्षा नियम र परीक्षा सामग्रीबारे प्रस्ट जानकारी दिनुपर्छ। विद्यालय प्रशासनले आफ्नो रणनीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्दा विद्यार्थीको परीक्षा तयारीमा राम्रो सुधार हुन्छ।
एसइई तयारीमा इन्टरनेट पहुँच भएको ठाउँमा डिजिटल प्रविधि, सामाजिक सञ्जाल, र कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गर्न पनि सकिन्छ। शिक्षकले नियमित कक्षाका अतिरिक्त फेसबुक, भाइबर, ह्वाट्सएप जस्ता सामाजिक सञ्जाल प्रयोग गरी सिकाइमा मद्दत गर्न सक्छन्।
विद्यार्थीले यस्ता उपायबाट प्रश्न गर्न र शिक्षकले उत्तर दिन सक्छन्। युट्युब वा जूम जस्ता प्लेटफर्ममा छोटो भिडिओ राखेर विद्यार्थीलाई मद्दत गर्न सकिन्छ। विद्यार्थीले एआईबाट अभ्यास प्रश्न, संक्षिप्त नोट र परीक्षा सम्बन्धी सामग्री तयार गर्न सक्छन् तर एआईको दुरूपयोग हुनबाट रोक्नुपर्छ। डिजिटल प्रविधि प्रयोग गर्दा भ्रामक सूचना र मानसिक दबाबबाट बच्नुपर्छ।
विद्यार्थीको परीक्षा तयारीको अन्तिम चरणमा स्थानीय सरकार र समाजको पनि विशेष भूमिका हुन्छ। विशेष गरेर दुर्गम क्षेत्रका छात्राको मानसिक र सामाजिक सुरक्षामा स्थानीय सरकारले ध्यान दिनुपर्छ। परीक्षार्थीको सम्पूर्ण सुरक्षाको प्रबन्ध गर्नुपर्छ।
दुर्गम क्षेत्रमा परीक्षा केन्द्रहरू टाढा हुन्छन्। विद्यार्थी घर छाडेर केन्द्रनजिकै बस्ने गरी जानुपर्ने हुन सक्छ। यसमा विशेषगरी छात्राहरूले असुरक्षा अनुभव गर्न सक्छन्। उनीहरूलाई सुरक्षाको विश्वास दिलाउनुपर्छ। बलियो सुरक्षा प्रबन्ध गर्न स्थानीय सरकार, प्रहरी प्रशासन, विद्यालय व्यवस्थापन समिति, अभिभावक र स्थानीय समुदाय रचेत रहनुपर्छ। परीक्षा केन्द्रमा महिला सुरक्षाकर्मी पनि राख्नुपर्छ। कुनै छात्रा कुनै दुर्व्यवहारको सिकार भए तुरून्त जानकारी दिन सक्ने वातावरण हुनुपर्छ।
स्थानीय सरकारले विद्यालयहरूसँग सहकार्य गरेर तयारी कक्षा सञ्चालनमा सहयोग गर्न सक्छ। आर्थिक समस्यामा परेर शैक्षिक सामग्री जुटाउन नसक्ने विद्यार्थीलाई सहयोग पुर्याउन पनि स्थानीय सरकारले ध्यान दिनुपर्छ। यस्तो गतिविधिले विद्यार्थीको आत्मबल बढ्छ।
छात्राहरू कुनै किसिमको समस्या र तनावमा छन् भने तिनलाई आवश्यक सहयोग पुर्याउन पनि स्थानीय सरकारले ध्यान दिनुपर्छ।
एसइई नतिजा सुधार गर्नु राष्ट्रिय प्राथमिकता र सबै सरोकारवालाको चासोको विषय हो।
नतिजा सुधार गर्न सबभन्दा पहिला शैक्षिक वातावरण सुधार गर्नु आवश्यक छ। विद्यालयहरू आवश्यक स्रोतसामग्री र भौतिक संरचना उपलब्ध गराउन सक्दा मात्र नतिजा सुधारमा प्रभाव पर्छ।
सरकारले शिक्षकको आत्मविश्वास र हौसला बढाउन काम गर्नुपर्छ। शिक्षण–सिकाइमा शिक्षकका समस्या समाधान गर्न मद्दत गर्नुपर्छ। शिक्षकलाई मानसिक स्वास्थ्य सम्बन्धी परामर्श पनि दिनुपर्छ।
दुर्गम क्षेत्रका र पिछडिएका समूहका छात्राहरूका लागि आवश्यक सुरक्षा, परामर्श र सूचना प्रणाली स्थापन गर्नुपर्छ। विद्यार्थीको मनोबल बढाउन तीनवटै तहका सरकारले समन्वयका साथ काम गर्नुपर्छ।
परीक्षाको तयारीमा विद्यार्थीका लागि अन्तिम एक महिना निकै महत्त्वपूर्ण हुन्छ। यो अवधिमा विद्यार्थीमा म उत्तीर्ण हुन्छु, राम्रो ग्रेड हासिल गर्छु भन्ने आत्मविश्वास बढाउने काम गर्नुपर्छ। अभिभावकले आफ्ना परीक्षार्थी छोराछोरी मानसिक स्थिति सबल बनाउन मद्दत गर्नुपर्छ। अधिकतम अभ्यास र तयारीका लागि प्रेरित गर्नुपर्छ।
सबै सरोकोरवालाहरूको एकमुष्ट प्रयास र योगदानले मात्र एसइई परीक्षाको नतिजामा सुधार ल्याउन सकिन्छ। यसैअनुसार सबै पक्ष गम्भीर हुन आवश्यक छ।
अन्यथा एसइई नतिजा दुई–चार दिनका लागि गफ, टीकाटिप्पणी र एकअर्काको आलोचनाको विषय मात्र हुन्छ।
(लेखक त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र केन्द्रीय विभाग तथा सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन कार्यक्रममा कार्यरत छन्।)