हेटौंडास्थित सञ्चो अस्पतालका दुई विशेषज्ञ चिकित्सक विकास थापा र प्रशान्त विडारीलाई बुधबार मरणासन्न हुने गरी कुटेको भिडिओ हेरेदेखि मेरो मन बेचैन छ।
चिकित्सकमाथि अस्पतालभित्रै छिरेर भौतिक हमला गरिएको यस्तो घटनामा आक्रमणकारीहरूलाई तत्काल पक्राउ गरी फौजदारी मुद्दा चलाइनुपर्थ्यो। तर प्रहरीले पीडित पक्षको जाहेरीसमेत नलिएको र उल्टो साँझ 'मिलापत्र' गराएको खबर आयो।
मैले वास्तविकता बुझ्न घटना नजिकबाट देखेका एक जना दाइलाई सम्पर्क गरेँ।
'आफूविरूद्ध जाहेरी पर्यो भने जाहेरी दिनेलाई मारेर जेल जान्छु भन्दै आक्रमणकारीले धम्की दिएछ। अस्पताल प्रशासनले पनि जाहेरी फिर्ता लिन दबाब दिएछ,' ती दाइले मसँग भने, 'जिल्ला प्रशासनबाट समेत सुरक्षाको प्रत्याभूति नभएपछि पीडित डाक्टरहरू थप पीडा भोग्नुपर्ने डरले मिलापत्र गर्न बाध्य भएछन्। यस्तो कुरा भोगेपछि मात्र थाहा हुने रहेछ भाइ!'
नेपालमा डाक्टरहरूमाथि कार्यक्षेत्रमै हिंसा भएको यो पहिलो घटना होइन। सायद अन्तिम पनि होइन!
यो एक नियमित प्रक्रिया हो।
अहिले यो लेख लेख्दै गर्दा मेरो मनमा एउटै प्रश्न आइरहेछ — म पनि नेपालमै बसिरहेँ भने मेरो पिटाइ खाने पालो कहिले आउला?
विकास थापा र प्रशान्त विडारीसहित अन्य थुप्रै डाक्टरले जस्तै मैले पनि कुनै दिन पिटाइ खानुपर्ला भन्ने त्रास बोकेर कसरी बिरामीको सेवा गर्न सकूँला?
यो प्रश्नले मलाई मात्र होइन, नेपालमा रहेका सबै डाक्टरको मन उत्तिकै घोचिरहेको छ।
नघोचोस् पनि किन!
सँगै पढेका साथीहरू अमेरिका, बेलायत वा अस्ट्रेलिया गएर नाम-दाम कमाइरहेका बेला कम सुविधा र कम कमाइ भए पनि नेपालमै बस्छु भन्ने निधो गरेका डाक्टरले जब हेटौंडाको जस्तो घटना देख्छन्, उनीहरूले के आधारमा आफ्नो निर्णयमा चित्त बुझाऊन्!
आफ्नो चित्तलाई त आदर्श र सिद्धान्तको खोल ओढाएर थुम्थुम्याउलान्, परिवारको चित्त चाहिँ कसरी बुझाऊन्!
अनि जबसम्म यो अवस्था कायम रहन्छ, हामीले डाक्टरहरू नेपालमा बस्न चाहेनन्, सबका सब बिदेसिए भनेर कोसँग गुनासो गर्नु! कसलाई दोष दिनु!
म अरूको कुरा गर्दिनँ, आफ्नै कुरा गर्छु। मैले सँगै पढेका साथीहरू के गर्दै रहेछन् भनेर गत साता सोधपुछ गरेको थिएँ।
मलाई के थाहा भयो भने, सात वर्ष मसँगै पढेका १४० जना एमबिबिएस विद्यार्थीमध्ये अहिले कम्तिमा सय जना अमेरिका, बेलायत, अस्ट्रेलिया लगायत देश जान मेडिकल लाइसेन्स परीक्षाको तयारीमा रहेछन्।
अर्थात्, मसँग एमबिबिएस पढेकामध्ये ७० प्रतिशत विद्यार्थी देश छाड्ने तयारीमा रहेछन्।
तीमध्ये कोही यस्ता पनि छन्, जो एमबिबिएस पढ्दासम्म नेपालमै बस्न दृढ थिए। अमेरिका वा बेलायतलाई भन्दा नेपाललाई डाक्टरहरूको खाँचो बढ्ता छ भन्ने उनीहरूको विचार थियो। तिनले पनि विदेश जान खुट्टा उचालिसकेको देख्दा मेरो मन भरंग भयो।
यति मात्र कहाँ हो र!
हाम्रो ब्याचबाट आठ जना हाडजोर्नीका विशेषज्ञ बनेका थिए। तीमध्ये एक जना पनि अहिले नेपालमा छैनन्।
मैले एउटा मेडिकल कलेजको एक ब्याचका विद्यार्थीहरूमा सर्वेक्षण गर्दा त यस्तो नतिजा देखियो भने नेपालभरका कलेजमा सर्वेक्षण गर्यो भने कस्तो नतिजा आउला?
मलाई लाग्छ, नेपालभरको अवस्था पनि म पढेको मेडिकल कलेजभन्दा फरक छैन।
मैले आफ्नो ब्याचका साथीहरूसँग कुराकानी गर्दा एक जनाले रोचक घटना सुनायो — उसले अमेरिकी मेडिकल परीक्षा निम्ति समय लिने बेला हाडजोर्नी पढाउने अध्यापक पनि भेटिएछन्। देखादेखपछि उनले एकछिन असहज मानेछन्। अलि बेरपछि मेरो साथीलाई अँगालो हाल्दै भनेछन्, 'तिमीले समयमै परिपक्व निर्णय गर्न लागेछौ, खुसी लाग्यो!'
यो त एउटा उदाहरण मात्र हो। अहिले नेपालका युवा डाक्टर मात्र होइन, पुराना डाक्टरसमेत धमाधम देश छाडेर बाहिरिँदै छन्। कोही बाहिरिने तयारीमा छन्।
मेरा एक परिचित दाइले एमबिबिएस पास गरेर नौ वर्ष काम र पढाइ गरेपछि अमेरिकामा रेजिडेन्सी अर्थात् स्नातकोत्तर पढ्न सुरू गरेका थिए। उनले मसँग भनेका थिए, 'यो देशमा असल डाक्टरलाई पैसा, सुरक्षा केही छैन। म धेरै सोचविचार गरेर अमेरिका जाने निर्णयमा पुगेँ।'
म चुपचाप उनको कुरा सुनिरहेँ।
'दाइ अवस्था सुध्रिन्छ होला नि कुनै दिन?' मैले सोधेँ।
जवाफमा उनले भने, 'मलाई विश्वास छैन। विश्वास गर्ने आधार पनि देखेको छैन। स्वास्थ्यको आधारभूत कुरासमेत नबुझ्ने नेतृत्व छ। अपेक्षा धेरै राखेर के गर्नू!'
बाहिरबाट हेर्दा सामान्य देखिए पनि डाक्टरहरू पलायन हुने प्रवृत्तिले नेपालको स्वास्थ्य सेवाको भविष्य राम्रो देखिँदैन। यस्तो अवस्थामा हेटौंडाको जस्तो घटना दोहोरिरह्यो भने हामी डाक्टरहरू किन नेपालमै बाँधिएर बस्ने?
पेसागत हित सुनिश्चित गर्न त राज्यले केही गरेन गरेन, अब भौतिक हमलाबाट समेत सुरक्षा दिन नसक्ने हो भने र कुटाइ खाएका पीडित डाक्टरलाई आक्रमणकारीसँग मिलापत्र गर्न बाध्य पार्ने हो भने डाक्टरहरू बिदेसिनबाट रोक्ने आधार के?
हामीले डाक्टरहरूका सन्दर्भमा धेरै समयदेखि एउटा आमगुनासो सुन्दै आएका छौं। त्यो गुनासो हो — डाक्टरहरू दुर्गम क्षेत्रमा सेवा दिन जाँदैनन्!
तर उनीहरू किन जाँदैनन्? यो प्रश्नको जवाफ अहिलेसम्म कसैले खोजेका छैनन्।
यसको जवाफ कुनै न कुनै रूपमा हेटौंडाको घटनासँग जोडिन्छ।
जसरी सहरी क्षेत्रमा काम गर्ने डाक्टरलाई भौतिक हमलाको त्रासले उकुसमुकुस बनाउँछ, त्यसरी नै नेपालमै बस्ने सोच बनाएर दुर्गममा काम गर्न गएकाहरू त्यहाँका स्वास्थ्य संस्थाको रूग्ण स्थिति र स्वास्थ्य प्रणालीको दयनीय हालत देखेर उकुसमुकुस हुन्छन्।
सिटामोलधरि नपाइने स्वास्थ्य संस्थामा बसेर उपचार गर्न बाध्य डाक्टरहरू चाहेर पनि बिरामीको घाउमा मह्लम लगाउन सक्दैनन्। उनीहरूलाई रोग थाहा हुन्छ, उपचारको तरिका पनि थाहा हुन्छ, तर त्यो उपचारको सुविधा उनीहरूको हातमा हुँदैन। यस्तोमा विशेषज्ञ डाक्टरसमेत आफ्नो क्षमताअनुरूप उपचार गर्न नपाएकोमा दिक्क मान्छन्। भौतिक पूर्वाधार र औषधिको अभावमा सामान्य बिरामीको ज्यानधरि बचाउन नसकेको पीडाले उनीहरूलाई रातदिन पिरोल्छ।
यस्तो उकुसमुकुसले उनीहरू केही महिनामै एउटा निर्णयमा पुग्छन् — यो देशको स्वास्थ्य प्रणाली यस्तै हो, यहाँ केही सुध्रिनेवाला छैन!
तपाईंहरूलाई युवा चिकित्सक भएर पनि किन केही महिनामै हतोत्साही भएको होला भन्ने लाग्ला। यसको निम्ति धरातलीय यथार्थ बुझ्नुपर्छ। म यो लेखमा त्यही यथार्थ सामान्य रूपले बुझाउने प्रयत्न गर्दैछु।
सबभन्दा पहिला पढाइको कुरा गरौं।
सामान्यतया स्नातक पढाइ चार वर्षको हुन्छ। एमबिबिएस पढाइ भने साढे पाँच वर्षको हुन्छ। त्यो पनि समयमा सकिन भाग्यले साथ दिनुपर्छ।
त्रिभुवन विश्वविद्यालयका मेडिकल कलेजमा एमबिबिएस सक्न कम्तिमा छ वर्ष लाग्छ। समयमा परीक्षा नहुने र नतिजा आउन ढिलाइले सात वर्षसम्म लागेको उदाहरण छ। यही पढाइ काठमाडौं विश्वविद्यालयका कलेजमा साढे पाँच वर्षमै सकिन्छ। चीन लगायत कतिपय मुलुकमा पहिला भाषा सिक्नुपर्ने हुँदा एमबिबिएस पूरा हुन कम्तिमा छ-सात वर्ष लाग्छ।
भन्नुको मतलब, सँगै प्लस-टू पढेर इञ्जिनियरिङतर्फ लागेको साथीले स्नातकोत्तर सक्ने बेलासम्म मेडिकल पढ्नेहरू एमबिबिएसमै झुन्डिरहेका हुन्छन्।
एमबिबिएसपछि एमडी/एमएस पढ्नुअघि कम्तिमा एक वर्ष (व्यावहारिक हिसाबले दुई वर्ष) को 'दैनिक ज्यालादारी' पनि छँदैछ। अरू कुनै विधामा नभएको र अन्य देशको चिकित्सा शिक्षामा समेत नभएको यो 'मौलिक' नियम हाम्रो देशमा कायम छ!
यसरी सबै हिसाबले ठिकठाक भए एमबिबिएसको न्यूनतम छ वर्ष, बीचको संक्रमणकालीन दुई वर्ष अनि एमडी/एमएस गर्दाको तीन वर्ष गरी ११ वर्षपछि बल्ल मेडिकल शिक्षामा स्नातकोत्तर सकिन्छ। यही अवधिमा इञ्जिनियरिङ क्षेत्रमा लागेको वा अन्य पेसा अपनाएको साथी आफ्नो करिअरमा लगभग स्थापित भइसकेको हुन्छ।
विद्यार्थीको उमेरमा गणना गर्ने हो भने २० वर्षमा एमबिबिएस भर्ना भएको युवा स्नातकोत्तर सक्दा ३३-३४ वर्ष भइसकेको हुन्छ।
स्नातकोत्तरपछि पनि न्यूनतम ज्यालामा अस्पतालमै बसेर गर्नुपर्ने डिएम/एमपिएच आफ्नो ठाउँमा छँदैछ!
मैले एमबिबिएस पढ्ने निर्णय गर्दा एक जना चिनेका डाक्टर दाइले पढाइ सकिएपछि भोग्नुपर्ने यी सबै परिस्थितिबारे जानकारी दिएका थिए। त्यति बेला उनको कुरा सुनेर मैले मनमनै सोचेको थिएँ — आफू डाक्टर बने, हामीलाई चाहिँ नबन् भन्न कसरी सकेका होलान्!
आजभोलि म ती डाक्टर दाइको भनाइ झल्झल्ती सम्झिन्छु। कसैले एमबिबिएस पढाइ कस्तो होला भनेर सल्लाह लिन आए म पनि त्यही कुरा भन्ने गर्छु, जुन ती दाइले एक दशकअघि मलाई भनेका थिए।
सायद आज मेरो कुरा सुनेर मसँग सल्लाह लिन आउने भाइबहिनीहरू पनि मनमनै त्यही सोच्दा होलान्, जुन मैले एक दशकअघि सोचेको थिएँ!
सल्लाह लिने मान्छे जब सल्लाह दिने हैसियतमा पुग्छ, तब उसको मन आनका तान फेरिसक्दो रहेछ!
यो पनि एउटा नियमित चक्र नै रहेछ!
पढाइपछि अब कुरौं कामको।
एमबिबिएस सकेर स्नातकोत्तर अध्ययन सुरू गर्नुअघि कम्तिमा एक वर्ष अनिवार्य काम गर्नुपर्ने नियम नेपालबाहेक अन्यत्र कतै छैन। अझ एकचोटि मात्र स्नातकोत्तरको प्रवेश परीक्षा हुने भएकाले धेरै समय खेर जाने निश्चितप्राय: छ। छिमेकी देश भारतमा पनि एमबिबिएस इन्टर्नसिप सकिएको भोलिपल्टैदेखि स्नातकोत्तर पढ्न पाइन्छ।
यति मात्र होइन, एक वर्षको उक्त सेवा अवधिमा कम्तिमा आठौं तहको अधिकृत सरह तलब दिनुपर्ने नियम छ। तर निजी अस्पतालहरूले ४० हजार पनि बिरलै दिने गरेका छन्। आफैं पढेको मेडिकल कलेजमा जागिर खान्छु भनेर कागजात बुझाउन जाँदा 'दुई महिना स्वयंसेवक बनेर काम गर है' भन्ने जवाफ सुन्नुपर्छ। काठमाडौं लगायतका सहरमा जागिर पाउनु त फलामको चिउरा चपाउनुभन्दा गाह्रो छ।
सरकारी सेवामा छिर्ने सपना देखेका युवा डाक्टरलाई सरकारले पाइला पाइलामा बाटो छेक्छ। देशभर डाक्टर लगायतका स्वास्थ्यकर्मीहरूको व्यापक अभाव रहे पनि वर्षौंदेखि दरबन्दी खुलाइएको छैन। खुलाउन पहलसम्म गरेको देखिन्न।
यसबीच प्रधानमन्त्री स्वयंले केही समयअघि 'अबका केही वर्षमा नेपालमा डाक्टर/नर्स पाइँदैनन्' भनेको भिडिओले खुब चर्चा बटुलेको थियो। उक्त भिडिओ हेरेपछि मैले आफैंलाई प्रश्न गरेको थिएँ — प्रधानमन्त्रीजस्तो मान्छेले यस्तो भयावह अवस्थाको हेक्का पाएपछि त्यसलाई निवारण गर्न कदम चाल्ने कि आममान्छेले जस्तो समस्या मात्र औंल्याएर बस्ने?
प्रधानमन्त्रीले समस्या छ भन्ने चाल पाएपछि त्यो समस्या हल गर्नुपर्दैन? सरोकारवाला निकायहरूसँग विमर्श गर्नुपर्दैन?
अचम्मलाग्दो त के भने, देशभरि स्वास्थ्यकर्मीको अभाव छ भन्ने जान्दाजान्दै सरकारले नयाँ डाक्टर वा अन्य स्वास्थ्यकर्मीको दरबन्दी खुलाउँदैन, जबकि सरकारले भन्दा बढी डाक्टरको स्थायी भर्ना नेपाली सेनाले लिन्छ!
यसैको फलस्वरूप आज आठौं तहका डाक्टर दैनिक/मासिक ज्यालादारीमा काम गर्न बाध्य छन्। उचित सेवा-सुविधाको अभाव र आफूभन्दा कनिष्ठ कर्मचारी मातहत काम गर्नुपर्ने बाध्यताले युवा डाक्टरहरूको मन करिअरको सुरूआतमै आहत हुन्छ।
नगरपालिका र गाउँपालिका स्तरका अस्पतालमा त डाक्टरले पाँचौं/छैठौं तहको अहेव/एचए मातहत काम गर्नुपर्ने नियम छ। त्यो पनि न्यूनतम सेवा-सुविधामा!
यस्तो परिस्थिति रहेसम्म डाक्टरहरूमा दुर्गम क्षेत्रमा गएर काम गर्ने ऊर्जा कहाँबाट आओस्!
केही समयअघि एक म्यानपावर कम्पनीले ओमानको एउटा अस्पतालमा नौ सय नेपाली चिकित्सक लैजाने भनेर फर्जी विज्ञापन गर्दा नेपालको मेडिकल क्षेत्रमा हप्तौंसम्म चर्चाको विषय बनेको थियो। ओमानको आकर्षक पारिश्रमिक, न्यूनतम काम र उचित सुरक्षाको प्रत्याभूति देखेर धेरै नेपाली डाक्टर लोभिएका थिए।
अब डाक्टरी पेसाको सुरक्षाको कुरा गरौं।
हामीकहाँ चिकित्सा सेवालाई सेवामूलक पेसा भनिन्छ। पैसा कमाउने भए अन्य सयौं क्षेत्र छन्, चिकित्सा सेवाबाट प्राप्त हुने सन्तुष्टिलाई पेसासँग दाँज्न मिल्दैन भन्ने गरिन्छ। डाक्टरलाई त 'भगवानकै अर्को रूप' समेत मानिन्छ।
नेपाली समाजले बनाएको यो न्यारेटिभ नै आफैंमा गलत छ।
डाक्टर भनेका पनि मान्छे नै हुन्। उनीहरूले पनि अरू पेसाकर्मीले जस्तै आफ्नो काम गर्ने हुन्। मानवीय कमजोरी मात्र होइन, उनीहरूमा क्रोध, इर्ष्या, आक्रोश, लोभ सबै हुन्छ। तर डाक्टरले पैसाको कुरा गर्नेबित्तिकै उनीहरूलाई 'देवता' मान्ने समाजले तुरून्तै दानवीकरण गर्न थाल्छ। कहिलेकाहीँ काममा त्रुटि भयो भने वा व्यवस्थापकीय कमजोरी देखियो भने सबै जना डाक्टरमाथि जाइलाग्छन्। यस्तो अवस्थामा डाक्टरहरूलाई गलत साबित गर्ने होडबाजी चल्छ। राम्रो नियत राखेर काम गर्नेहरूलाई पनि निरूत्साहित गरिन्छ।
म एकचोटि आफ्नै जिल्लाको एक आधारभूत अस्पतालमा सेवा दिइरहेको थिएँ। मध्यरात बिरामीको आफन्तले फोन गरेर 'हाम्रो बिरामीलाई केही भयो भने तिम्रो खैरियत छैन' भन्दै मलाई थर्काए।
चौबीस घन्टाभन्दा बढी धामी-झाँक्रीकहाँ लगेर निको नभएपछि मध्यरात अस्पताल ल्याइएको बिरामीलाई प्रारम्भिक जाँचसमेत गर्न नपाउँदै 'ठिक हुने/नहुने ग्यारेन्टी देऊ' भनेर बिरामीका आफन्त होहल्ला गर्न थाले। अफिस समयबाहेक अरू बेला बिरामी हेर्ने मेरो तोकिएको जिम्मेवारी थिएन। तैपनि म नजिकै क्वाटरमा बसेकाले मध्यरातमै भए पनि बिरामी हेर्न गएको थिएँ।
त्यो रात बिरामी पक्ष आक्रोशित रूपमा प्रस्तुत हुँदा मलाई आफ्नो सुरक्षाको चिन्ता लागेको थियो। कयौंको सल्लाहविपरीत आफ्नै माटोमा फर्किएर सेवा दिने निर्णयमा पुनर्विचार गर्न मलाई झकझक्याएको थियो।
मैले आफ्नो उक्त अनुभव सुनाउँदा साथीभाइ भन्छन्, 'हामीलाई यो सहर छाडेर कहिले विदेश जाऊँ भएको छ, तिमी भने अझै गाउँ गाउँ भन्दै बसिरहेका छौ!'
हालसालैको कुरा हो। सँगै पढेका दुई जना साथी विदेश जान लागेका थिए। म उनीहरूलाई विदावारी गर्न काठमाडौं गएको थिएँ। त्यही बेला सामाजिक सञ्जालमार्फत् चिनेका एक जना दाइले भने, 'सुदन भाइ, तिम्रो पारिवारिक अवस्था मलाई थाहा छ, त्यसैले बरू तिमी जहिले सक्छौ त्यही बेला तिर्ने गरी ६-७ लाख रूपैयाँ दिन्छु। तिमी विदेश जाने तयारी गरिहाल।'
उनले अगाडि थपे, 'हामीलाई एउटा उमेरमा म भइनँ भने त मेरो परिवार, समाज वा यो देशले नै अभाव महसुस गर्छ कि क्या हो भन्ने लाग्दो रहेछ! यस्तो सोच्नु भनेको 'अप्टिमिस्टिक' हुनु होइन, 'फल्स बिलिफ' राख्नु हो। यो भ्रम हो। यस्तो भ्रम जति छिटो उत्रिन्छ, त्यति राम्रो!'
अचेल मेरा अधिकांश परिचितहरू यस्तै कुरा गर्छन् र मलाई विदेश जाने सल्लाह दिइरहन्छन्। अझ सिनियर डाक्टरहरूले त नेपालमै बस भनेर भन्दै भन्दैनन्। उनीहरूको कुराले मलाई बेचैन बनाउँछ।
एकदिन नवौं तहका एक विशेषज्ञ चिकित्सकसँग लामो कुराकानीपछि मैले प्रश्न गरेँ, 'म सरकारी सेवामा छिर्न पाए सारा सपना पूरा हुन्छ भन्ने आसमा बसेको छु, तपाईं किन यति दिक्क हुनुभएको दाइ?'
'भाइ, थप के भनौं र! म खाडी देश जाँदै छु,' उनले यत्ति भने, त्यसपछि केही बोल्दै बोलेनन्।
उनको यस्तो भनाइ सुनेर मैले एमबिबिएस अन्तिम वर्षमा सर्जरी पढाउने एक प्राध्यापकले भनेको सम्झिएँ। उनले लामो भूमिका बाँधेर भनेका थिए, 'बेलैमा विदेश जाने तयारी गर है केटा हो।'
त्यति बेला मैले ती प्राध्यापकलाई 'हामीलाई विदेश पठाएर हाम्रो भाग पनि सरहरूले नै खान खोज्नुभएको हो कि क्या हो' भनेको थिएँ।
मेरो कुरा सुनेर उनी मुसुमुसु हाँसेका थिए। जवाफ चाहिँ केही दिएनन्।
उनको त्यो हाँसोको अर्थ म आज बुझ्दैछु।
म बुझ्दैछु — सर्जरीका ती प्राध्यापकले आफ्नो वर्षौंको अनुभवले पो त्यस्तो भनेका रहेछन्!
विदेश जाने यो लहडबीच एउटा प्रश्न उठ्छ — त्यहाँ जानेबित्तिकै चैन होला त?
नेपालमै बस्नुपर्छ भनेर आफ्नो मनलाई सम्झाउन म कहिलेकाहीँ यही प्रश्न आफैंसँग गर्छु। कहिलेकाहीँ विदेशमा रहेका साथीहरूसँग पनि यसबारे कुरा गर्छु।
एक वर्षअघि अमेरिका गएर स्नातकोत्तर पढिरहेका साथीसँग कुरा गर्दा उनले भनेका थिए, 'विदेशमा पनि चैन हुन्छ भन्ने ग्यारेन्टी त छैन, तर केही वर्ष दु:ख गरेपछि भविष्यको सुरक्षा चाहिँ हुन्छ।'
'उपचार गर्दागर्दै बिरामीलाई केही भइहाले नेपालमा जस्तो ठाडै अपराधी करार गरिँदैन,' ती साथीले भने, 'लगातार ७० घन्टा एकोहोरो काममा पेलाएर मानसिक र पारिवारिक स्वास्थ्यलाई नै असर पार्ने गरी पढाइ हुँदैन। यहाँ स्नातकोत्तर गर्न नेपालमा जस्तो पैसा तिर्नुपर्दैन। पढाइ गर्दागर्दै राम्रो पारिश्रमिक पाइन्छ। पद्धतिमा बसिसकेको देशमा धेरै कुरा स्वत: सजिलो हुने रहेछ।'
त्यसो भए समस्याको समाधान के त? हाम्रो देशले डाक्टरहरू बिदेसिने प्रवृत्तिबाट कसरी मुक्ति पाउला त?
हुन त समस्या पहिचान गर्नधरि हिच्किचाइरहेको सरोकारवाला निकायले समाधानमा पहलकदमी लिन्छ भन्ने विश्वास कसैलाई छैन। डा. गोविन्द केसीको पटक-पटकको सत्याग्रहका कारण चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा भएका उल्लेख्य सुधारलाई बेवास्ता गर्दै उल्टै उनैमाथि दोष थोपर्ने नेतृत्वले समस्या पहिचान गर्ला भनेर आस गर्ने ठाउँ पनि छैन।
हजारौं झूटले यथार्थ छोपेर 'डाक्टर-नर्सहरू विदेश भागे' भन्ने भाष्यले अन्ततः देशलाई हुने हानिबारे सरोकारवालाहरूले छलफल गर्न र त्यसको हल खोज्न चाहेकै छैनन्।
छुट्टै स्वास्थ्य ऐन जारी गरेर, लोकसेवा आयोगमार्फत् उल्लेख्य रोजगारी थपेर, सेवा-सुविधाको उचित व्यवस्थापन गरेर र तहअनुसार जिम्मेवारी दिएर युवा चिकित्सकलाई प्रोत्साहित गर्नु नै आजको आवश्यकता हो। तर वर्तमान नेतृत्वले यो आवश्यकता पूरा गर्ला भन्ने विश्वास चाहिँ कमैलाई छ।
मेरो यो लेख पढेर तपाईंको मनमा डाक्टरहरूमा मात्र यस्तो उकुसमुकुस किन भन्ने प्रश्न पनि आयो होला। तर वास्तविकता के हो भने, यो उकुसमुकुस डाक्टरहरूको मात्र होइन। नर्सिङ पढ्दै गरेका साथीहरू अन्तिम वर्षको परीक्षा तयारी गर्नुभन्दा अगाडि विदेशी जाँचको तयारी गर्छन्।
इञ्जिनियरिङका साथीहरू विदेश गएर जुनसुकै पेसा अपनाउनुपरे पनि देश चाहिँ छाडिहालौं भन्ने मनस्थितिमा छन्।
हुँदाहुँदा अब त स्नातक पढिरहेका साथीहरू पनि 'प्लस-टू सकेलगत्तै किन विदेश गएनछु' भनेर थकथकी मान्छन्।
देशमै बसिरहेकाहरू त 'विदेशको भिसा नलागेर वा नसकेर नगएका हुन्' भन्ने जबर्जस्त भाष्य तयार भइसकेको छ। विवाह गर्न चिना देखाउनुअघि 'विदेश जाने सोच छ कि छैन' भनेर सोध्ने नियम आइसकेको छ।
यी सब घटनाक्रमबीच एउटै प्रश्न दोहोरिएर आउँछ — यो देशमा कोही किन बसिरहोस्?'
यो लेख लेख्दै गर्दा मेरो ओपिडी कक्षमा जचाउन आउनुभएकी एक ७० वर्षीय आमाले आफ्ना बिदेसिएका सन्तानबारे कुरा गर्दै मलाई सोध्नुभएको थियो, 'डाक्टरबाबु, तपाईं विदेश कहिले जाने?'
मैले भनेँ, 'म त नेपालमै बस्ने हो नि आमा!'
आमाले मेरो कुरा पत्याउनुभएन।
उहाँले भन्नुभयो, 'तपाईंको उमेरको को पो बसेको छ र यहाँ!'
हेटौंडाको घटनापछि ७० वर्षीय आमाको भनाइले घरिघरि मेरो मथिंगल खल्बल्याउन थालेको छ।
(डा. सुदन अधिकारी गोरखाको भीमसेन थापा गाउँपालिकास्थित आधारभूत अस्पतालमा कार्यरत छन्।)