व्यक्ति 'क' ले व्यक्ति 'ख' लाई यौन दुर्व्यवहार, हिंसा वा यौनजन्य अपराधको आरोप लगायो।
यो सूचना तपाईं कसरी पचाउनुहुन्छ? आरोप सही वा गलत भएको कसरी खुट्याउनुहुन्छ?
अक्सर यस्तो हुन्छ-
पहिले तपाईंले क वा आरोपकको विश्वसनीयता विचार गर्नुहुन्छ।
दोस्रो, आरोपमा उल्लिखित घटनाक्रम कति स्वाभाविक र विश्वसनीय छन् अनि तिनको सम्भाव्यता कति छ भनेर आकलन गर्नुहुन्छ।
तीन, ख अर्थात् आरोपीले त्यस्ता आरोपको खण्डन वा प्रतिकार गरेको अवस्थामा तिनको विश्वसनीयता विचार गर्नुहुन्छ।
अनि मात्र तपाईंले निष्कर्ष निकाल्नुहुन्छ। यो स्वाभाविक प्रक्रिया हो।
तर त्यस्ता सूचना पचाउने प्रक्रिया यहीँ टुंगिँदैन। सूचना परखका ती तीनै पाइलालाई अरू दुई कुराले प्रभाव पार्न सक्छन्।
एक, तपाईंको क वा खसित कस्तो सम्बन्ध छ? त्यसमा मित्रता वा वैरभावको मात्रा कति छ? तपाईं एक पक्षसित यति नजिक हुन सक्नुहुन्छ, अर्को पक्षले जे भने पनि तपाईंका लागि त्यसले अर्थ नराख्न सक्छ।
दुई, तपाईं त्यो बहस र विवादमा आफैं निरपेक्ष धरातलमा उभिनुभएको हुँदैन। आफ्नो लैंगिक, वर्गीय, वैचारिक आदि पक्षधरता वा लगावका कारण तपाईं दुई पक्षमध्ये एउटालाई दुविधाको सुविधा दिन तयार हुनुहुन्छ। वा, सहानुभूति र समानुभूति राख्न सक्नुहुन्छ।
जब प्रसंग विशेषमा एक पक्ष सही हुन अर्को गलत हुनैपर्ने अवस्था आउँछ, तपाईंले दुई पक्षको विश्वसनीयता तौलेर निर्णय त लिनुहुन्छ तर त्यो निर्णय प्रक्रियालाई खास पक्षप्रति तपाईंको समानुभूतिले धेरै प्रभावित गर्छ।
यस्ता बहसमा आधारभूत विश्वसनीयताको यो पहिलो पत्र निकालेपछि अर्को पत्र सतहमा आउँछ 'मोटिभ' वा नियतको।
यस्ता विषयको बहस, वादविवाद र आरोप–प्रत्यारोप सतहमा आएपछि आरोपीको नियत आफूले सफाइ पाउने हुन्छ भने आरोपकको नियत आरोपीको दोष प्रमाणित गर्ने।
यी दुवै काम असाध्यै जटिल हुन्।
यौन हिंसा व्यक्तिको जीवनका सर्वाधिक निजी क्षणहरूमा हुन्छ। तिनको भिडिओ वा अडिओ अभिलेख राख्नु झन्डै असम्भव हुन्छ। त्यो अवस्थामा पीडितले गर्ने भनेको घटना भइसकेपछि अरूलाई सुनाउने हो। अनि भौतिक घाउचोट छन् भने तिनको प्रमाण राख्ने हो। त्यसैले यस्ता विवादमा पीडितले हिंसा भएपछि अरूलाई बताएका कुराको धेरै महत्व हुन्छ।
अर्कातिर आरोपीले आफू निर्दोष हो भनेर प्रमाणित गर्नु उत्तिकै जटिल प्रक्रिया हो। आरोप लागिसकेपछि जबसम्म आरोपकको विश्वसनीयता कायम हुन्छ, तबसम्म आरोपीको निर्दोषिता प्रमाणित हुने सम्भावना रहँदैन। त्यसैले अक्सर आरोपीहरूले दुईखाले मेहनत गर्छन्।
एक, बनिबनाउ, उडन्ते वा काल्पनिक आरोप लगाउन सक्ने, मतिभ्रम वा दृष्टिभ्रमयुक्त (ह्यालुसिनेटिङ) व्यक्तिका रूपमा आरोपकलाई स्थापित गर्ने। वा छिचरो, बेइमान वा निहित लाभका लागि फर्जी आरोप सिर्जना गर्न सक्ने अनैतिक चरित्रका रूपमा स्थापित गर्ने। त्यसका लागि आरोपकको चरित्रमाथि निरन्तर प्रहार गर्ने।
दुई, आफूलाई त्यस खाले मानवीय कमजोरी होला भनेर कल्पनै गर्न नसक्ने व्यक्तिका रूपमा प्रस्तुत गर्ने, सके देवत्वकरण नै गर्ने। त्यस्तो छवि निर्माणका लागि परिवारका सदस्य वा साथीहरू प्रयोग गर्ने।
यी सबै प्रक्रिया नेपालका लागि विशिष्ट वा मौलिक होइनन्। अमेरिकामा सुरू 'मिटु' अभियान विभिन्न देश हुँदै नेपालसम्म आइपुग्दा धेरैतिर हामीले तिनलाई देखेका छौं।
नेपालमा चाहिँ यौन हिंसाका आरोप सार्वजनिक हुने विभिन्न प्रसंगमध्ये पछिल्लो एउटा प्रसंग अहिले पनि चर्चामा छ। कवि तथा लेखक सरिता तिवारीले सामाजिक सञ्जालबाट अर्का कवि, लेखक संगीत स्रोतामाथि त्यस खाले आरोप सार्वजनिक गर्नुअघि मैले लेखक तिवारीबाटै सम्बन्धित घटनाक्रमको विवरण सुनेको थिएँ।
हुन त हामी चितवनमा वर्षौंदेखि वैचारिक मन्थन गर्दै आएका साथी हौं तर साथी नै नभएको भए पनि त्यो विवरणमा मैले अविश्वास गर्नुपर्ने कारण भेटिनँ।
आरोपी संगीतसित मेरो मैत्री वा वैरभाव दुवै थिएन र छैन। नेपालको सिंगो वामपन्थी कित्तासँग वैचारिक भिन्नताहरू भए पनि मलाई सधैं के लाग्छ भने जुनसुकै समाजमा दायाँ, बायाँ र तिनको बीच गरी सबै झुकावका मानिसका विचारको स्वतन्त्र प्रवाह हुनुपर्छ। संसारभर उग्र दक्षिणपन्थीहरूले लपेटेर विभेद र निषेधको शासन स्थापना गर्ने प्रयास गरिरहँदा मध्यपन्थी उदारवादी र वामपन्थीहरूले त्यसको सशक्त वैचारिक प्रतिवाद गर्न नसकेको भन्ने मेरो अहिलेको निर्क्यौल छ।
त्यसमा पनि नेपालमा त वामपन्थी भनिएका ठूला पार्टीहरूसमेत उग्रदक्षिणपन्थीहरूका धार्मिक वा नश्लीय सर्वोच्चतावादी विचार र व्यवहारतिर आकर्षित भइरहँदा वाम कित्ताबाटै उनीहरूप्रति हुने खबरदारीको ठूलो महत्व छ।
त्यसैले कम्युनिस्ट नामधारी ठूला राजनीतिक पार्टीहरूभन्दा बाहिर रहेर आहुतिले लेख्ने लामा तर सरस स्तम्भहरू होऊन् वा विनोदविक्रम केसीका आगो ओकल्ने कविता, हामीलाई अझ धेरै चाहिएका छन्, कम होइन।
त्यस दिन सरिताजीको विवरणले ममा दोहोरो भाव उत्पन्न गर्यो- एकतिर उहाँले यतिका वर्ष भोगेको पीडाप्रति समानुभूति। अर्कातिर हिंसामा संलग्न एक जना मात्रै भए पनि त्यसपछिका घटनाक्रममा वाम वृत्तका विभिन्न साथीहरूले खेलेको भूमिका मलाई निकै निराशाजनक लाग्यो।
स्वभावतः तत्कालका लागि जवाफदेहिताको कुरा सबभन्दा प्रमुख थियो। साथमा पीडित साथीप्रति ढाडस र ऐक्यबद्धताको कुरा पनि थियो। सँगसँगै आरोपी र उनको बचाउमा लागेका साथीहरूले भूल स्विकारून्, आरोपीले माफी पनि मागून् अनि उनीहरूले चलाइरहेको बागी अभियानलाई क्षति नपुगोस् भन्ने सदाशय पनि थियो।
मलाई तबसम्म सबभन्दा बढी बिझेका दुई कुरा थिए-
एक, यौन हिंसाको मुद्दा विषयान्तर गर्न साथीहरूले आफ्नो बौद्धिक र वैचारिक पक्षधरताको विषय दुरूपयोग गरिरहेका थिए।
दुई, यस विषयमा दुई पक्षबीच छलफल आयोजना गर्दा संगीत पक्षले सर्त राखेछ- 'श्रीमान् वा ससुरालाई पनि लिएर आउनू।' त्यो सर्तमा 'तिमी महिला भएकैले अविश्वसनीय, दोस्रो दर्जाकी वा अपूर्ण नागरिक हौ' भन्ने भाव झल्किन्थ्यो। कम्तिमा मलाई त्यस्तो लाग्यो।
केही वर्षपहिले यौन हिंसा र बलात्कारसम्बन्धी कार्ल मार्क्सको निजी जीवनबारे असुविधाजनक प्रश्नहरू सोधिएको सरिताजीको लेख कान्तिपुरमा प्रकाशित भएको थियो। त्यसको प्रतिवादमा वामपन्थी साथीहरूले विभिन्न माध्यममा बोले, लेखे। त्यो सबै स्वाभाविक थियो।
अस्वाभाविक के थियो भने सरिताजीले संगीतलाई आरोप लगाएपछि उनको सर्कलले यस्तो भाष्य स्थापित गर्न खोजेछ- सरिताले त्यही बहस र वादविवादकै कारण प्रतिशोध साँध्न संगीतमाथि यौन हिंसाको आरोप लगाएकी हुन्।
मेरा लागि त्यो बेतुकको मात्र नभई असम्भव कुरा थियो। त्यो गत दशकभर सरिता तिवारीले आफ्नो परिवारका सदस्यदेखि प्रधानमन्त्री र राष्ट्रपतिसम्मलाई जवाफदेही बनाउने गरी आएको तीव्र बौद्धिक अभ्यासको चरम अवमूल्यन थियो जसमा महिलाले तर्कवितर्क गर्न नसकेपछि यस्तो चोर बाटो रोज्छन् भन्ने सामन्तवादी–पितृसत्तावादी कुतर्कको गन्ध आउँथ्यो।
त्यस्ता कुतर्क सुन्दै गर्दा मैले संगीत लगायत व्यक्तिहरूले चलाएको बौद्धिक अभियानको निम्छरोपन महसुुस गरेँ। मलाई के पनि लाग्यो भने वाम आन्दोलन बेला वर्गीय न्याय र समानताका मुद्दा उराल्दै गर्दा संस्थागत गरिएका वा प्रश्रय दिइएका अन्य खाले विभेदहरूमा अझ गहिरो बहस हुनुपर्छ।
त्यस्तो बहस नहुँदा र क्रान्तिकारीहरूको देवत्वकरण मात्रै हुँदा उति बेला पीडित हुने महिलाहरूले न्याय त पाएनन् नै, पछि आउने क्रान्तिकारीहरूले पनि अग्रजहरूकै मार्ग पछ्याउँदै गए। त्यो क्रम जारी रहँदा क्रान्तिसँगै महिलाद्वेषी व्यवहार र हिंसा पनि संस्थागत हुने भयो।
त्यसैले उक्त घटनाक्रमबारे सुनेकै दिन मैले लेखेको लेखको आधा हिस्सा विश्व कम्युनिस्ट आन्दोलनका अर्का धरोहर भ्लादिमिर लेनिनले पार्टीभित्र यौन हिंसाका मुद्दामा देखाएको रवैयाको चर्चामा खर्च गरेँ। मलाई लाग्छ, अबका दिनमा स्टालिन, माओ, क्यास्त्रो र सुङहरूको महिलाप्रति व्यवहारबारे त्यसरी नै तथ्यमा टेकेर विमर्शहरू हुनुपर्छ। उनीहरूले क्रान्ति सम्पन्न गरेकैले मानवीय कमजोरी वा जवाफदेहिताको तहभन्दा माथि थिए भन्ने भाष्य अन्त्य गर्नुपर्छ।
मेरो विचारमा मार्क्स, लेनिन वा माओले इतिहासमा जस्तो योगदान गरे, मानिसका रूपमा उनीहरूका कमजोर पक्षको चित्रणले त्यो योगदानलाई नकार्दैन, खाली उनीहरूलाई गुणदोषसहितका मानवका रूपमा देखाउँछ, जुन उनीहरू थिए। त्यसबाहेक हामी त अहिले इस्वीको २१औं शताब्दीमा छौं जहाँ संसारभर इतिहासलाई हेर्ने र परख गर्ने नयाँ संवेदना विकास भएको छ। त्यो संवेदनाको विकासमा धेरै पुस्ताका महिलावादी र महिला अधिकारवादीहरूले रगत र पसिना बगाएका छन्।
मार्क्स वा लेनिनलाई उनीहरूका समकालीन मानिसले जसरी हेर्थे, आजका हामीले त्यसै गर्न सम्भव छैन र हुनु पनि हुँदैन। त्यसो हुन समय अघि बढ्न छाडेर एक-डेढ शताब्दीपछि फर्कनुपर्ने हुन्छ जुन सम्भव छैन।
त्यसैले आजका दिनसम्म कार्ल मार्क्सप्रति प्रश्न उठाएको भनेर सरिता तिवारीको निन्दा गर्ने र ती प्रश्न उठाएकै कारण उहाँले उठाएका मुद्दा वा लगाएका आरोपको वैधतामाथि प्रश्न उठाउनेहरूले समयको त्यस खाले बहावको र समयसँगै बदलिँदै जाने चेतना र संवेदनाको आभाससमेत पाएको देखिँदैन।
अन्त्यमा, उल्लिखित दुर्व्यवहारको घटनाक्रममा के भयो भन्ने कुरा महत्वपुर्ण त छ तर त्यसले दुई पक्षका दुई व्यक्तिमा कस्तो छाप छाड्यो र घटना विशेषलाई दुई पक्षले कसरी लिए भन्ने उत्तिकै महत्वपूर्ण छ।
मानिलिऔं एक पुरूषले कुनै परिचित महिलालाई पछाडिबाट धाप मार्यो। उसले त्यो घटना निमेषभरमा बिर्सन वा बेवास्ता गर्न सक्छ। उसले अरू धेरै परिचित महिलालाई त्यस्तै गर्दा उनीहरूले त्यसलाई स्वाभाविक रूपमा लिएका हुन सक्छन् वा उसलाई त्यस्तो लागेको हुन सक्छ।
तर उता महिलाले त्यही धापमा दुर्व्यवहार वा हिंसाको झझल्को पाएकी हुन सक्छिन्। सुरूमा त्यसरी धाप मार्नेहरूले पछि गएर सुम्सुम्याउन र गम्भीर हिंसा गर्न थालेको उनको अनुभव हुन सक्छ। अथवा विगतमा आफैं वा नजिकका महिलाहरूले भोगेको लैंगिक हिंसाका कारण त्यस्तो छुवाइप्रति उनी अतिरिक्त संवेदनशील हुन सक्छिन्। वा उनको अनुभवमा त्यही घटना बेला धापको बहानामा उनको पिठ्युँमा उक्त पुरूषका हात अस्वाभाविक रूपमा अडिएको हुन सक्छ।
फेरि मानौं, त्यही विषयले केही महिनापछि विवादको रूप लियो।
पुरूषले भन्न सक्छ- मैले धाप मात्रै मारेको हो। उसले थप्न सक्छ- त्यही धापले यदि महिलालाई चोट परेको छ भने म क्षमा चाहन्छु। अझै थप्न सक्छ- आम रूपमा हामी पुरूषले महिलाले झैं यौन हिंसा र दुर्व्यवहार भोग्नुपर्दैन, त्यसैले यस्ता विषयमा हाम्रो संवेदनशीलता कम हुन्छ। त्यसैले अबदेखि त्यस्तो धाप मार्दा वा कुनै पनि छुवाइका क्रममा म थप संवेदनशील बन्छु।
त्यसो गर्दा महिलालाई क्षमा दिन र आफूमा परेको आघात मेटाउन सजिलो हुन्छ।
अर्कातिर पुरूषले यस्ता तर्क पनि गर्न सक्छ- मैले लैंगिक अध्ययनमा पिएचडी गरेको छु। बलात्कारविरूद्ध सडक आन्दोलनमा म सधैं संलग्न हुन्छु। घरमा श्रीमती छन्, छोरी छन्। मबाट कसरी महिलामाथि दुर्व्यवहार हुन सक्छ?
अझै थप्न सक्छ- ती महिला त एक दिन पँधेरामा अरू महिलासित बाझ्दै गरेको देखेको थिएँ। ती स्वभावैले झगडालु हुन्। मसित पनि दुई सालअगाडि भनाभन भएको थियो। त्यसैले प्रतिशोधका लागि उनले मविरूद्ध षड्यन्त्र गरेको हुनुपर्छ। उनी परपुरूषसित हाँसेर बोलेको पनि देखेको थिएँ। त्यसैले तिनको चरित्रमाथि पनि मलाई शंका छ।
यसो गर्दा महिलामाथि परेको आघात झन् गहिरिएर मात्रै जाँदैन, नयाँ नयाँ आघात पर्छन्। बहसमा नयाँ गाँठा पर्छन्। मूल मुद्दाबाट विषयान्तर हुन्छ।
हेर्दा साधारण लाग्ने दुर्व्यवहारमा त बहसले यसरी गलत बाटो समात्न सक्छ भने गम्भीर यौन हिंसा र अपराधहरूपछि हुने यसै खालको बहस र न्याय प्रक्रियाले कसरी बाटो बिराउन सक्छ भन्ने सहजै कल्पना गर्न सकिन्छ। नेपालकै एक न्यायाधीशले बलात्कारको घटनापछि पीडकलाई उन्मुक्ति र पीडितलाई जेल सजाय तोकेको समाचार आएको धेरै भएको छैन।
त्यसैले समाजका रूपमा हामीले यौन हिंसा र दुर्व्यवहार रोक्न जति आवश्यक छ, तीसम्बन्धी आरोपहरूलाई उचित तरिकाले सम्बोधन गर्न सिक्न पनि उत्तिकै आवश्यक छ।
चोक र चिया पसलदेखि सामाजिक सञ्जालसम्म यी विषयमा हुने चर्चाहरूदेखि न्यायाधीशले दिने फैसलाहरूसम्म लैंगिक संवेदनशीलता विकास गर्नु जरूरी छ।
त्यसका लागि खासगरी हामी पुरूषहरूले पितृसत्ताले हाम्रा मस्तिष्कमा रोपिदिएको अहंकार र महिलाद्वेषिताको विषवृक्ष उखेल्न, खुला मनले महिलाहरूका कुरा सुन्न, उनीहरूको संवेदना बुझ्न र बदलिँदो समयको पदचाप पछ्याउन जरूरी छ।
लेखकले साप्ताहिक रूपमा सिफारिस गर्ने लेख, पोडकास्ट, सिनेमा र अरू सामग्रीहरूका लागि यहाँ क्लिक गर्नुहोस्।