शिवपुरी विपश्यना केन्द्रमा ध्यानको अन्तिम दिन उनीसँग भेट भयो। मौन फुकेर उल्लास छाउने दिन। तर वातावरणमा उदासी। उनी रोइरहेकी थिइन्। म नजिक गएँ। उनी ध्यानको बेला पनि यसैगरी लगातार रोइरहेकी थिइन् रे।
ठमेल घर रहेछ। उमेर ४५ हाराहारी। श्रीमानले दोस्रो विवाह गरेछन्। उनी छोरासँग बस्न थालिन्। श्रीमानले खोजखबर केही राखेनन्।
भुइँचालोमा १७ वर्षे तन्नेरी छोराको ज्यान गयो। आफन्त जम्मा भए। सबै मिलेर बाबुलाई बोलाए। समाजले अन्तिम संस्कारको जिम्मा बाबुलाई दियो। उनले छोराको मुखसम्म हेर्न पाइनन्।
बाँचुञ्जेल छोराको वास्ता नगर्ने उही बाबु मर्ने बेला किन चाहियो? कस्तो रित हो यो? एउटी आमाले आफ्नै सन्तानको अन्तिम संस्कार गर्न नपाउने? त्यही बाबुलाई खोज्नुपर्ने, जो श्रीमती र छोराको माया मारेर उनीहरूको जिन्दगीबाट गइसकेको छ?
ती आमाको छातीमा कस्तो बज्रपात भयो होला, जसले मृत छोराको अनुहारधरि हेर्न पाइनन्। सन्तान गुमाउनुको पीडा एकातिर, मातृत्वको अपमान अर्कातिर। त्यही बज्रको भारी उनको आँखाबाट रसाउँदो रहेछ। आमाको छातीको चोट अश्रुधाराले के बगाउन सक्थ्यो? झरीले पनि हार खाएझैं भयो।
विपश्यना केन्द्रमा दस दिन बुद्धवाणी गुञ्जिरहँदा उनका आँसु नथामिएको त्यही भएर रहेछ।
उनलाई देखेर मेरो मन भारी भयो। अलि माथि उक्लेँ। बर्खामा हरिया फाँट खुलेका थिए। सोचेँ– विवाहको संस्था स्थापना हुनुअघि पनि आमाको शाश्वत प्रेम यो धर्तीमा थियो। आमाको मायाभन्दा ठूलो कुन संस्था होला? कुन नियम होला?
दिमागभरी प्रश्न सल्बलाए।
आखिर ती आमालाई किन मृत छोराको अन्तिम संस्कार गर्न दिइएन? किन अलपत्र छाडेर जाने बाबुकै खोजी गर्यो समाजले?
यो महिलालाई दोस्रो दर्जाको नागरिक ठान्ने सोचको अवशेष हो। यही अवशेष आमाको नामको नागरिकताका सन्दर्भमा जुर्मुराउन थालेको छ।
हामीले वैवाहिक संस्था र आमाको मातृत्वमध्ये कुन ठूलो भन्ने खुट्टयाउनुपर्छ। मानव समाजको विकास क्रममा उत्पादन प्रणालीको मागअनुसार जन्मेको हो, वैवाहिक संस्था।
जंगली युगको मानिस पशुपालनमा आइपुग्यो। सम्पत्ति कमाउन थाल्यो। सम्पत्ति आफ्नै सन्तानमा हस्तान्तरण गर्न आमालाई घरमै बन्द गर्नुपर्ने भयो। महिलाको यौनिकता र गतिशिलता कैद भयो। निजी सम्पत्तिसँगै वैवाहिक संस्था जन्मियो। त्यतिबेलाको हाम्रो उत्पादन प्रणालीले त्यही माग गर्यो होला।
समाजको उत्पादन प्रणाली फेरियो। महिला घरबाहिर निस्कन थाले। नाम र दाम कमाउन थाले। परिवार र समाजको आर्थिक स्वरूप बदलियो। सामाजिक स्वरुप बदलियो। बदलावको गति भने मेल खान सकेन।
पुरुष पराक्रम र महिला आदर्शको खम्बामा मात्र वैवाहिक संस्थाको नीब अडिन्न। समाज र परिवारको मान्यता आर्थिक आयामसँगै बदलिनुपर्छ।
महिलाको यौनिकता कैद गरेर वंश र सम्पत्तिको वर्चश्व जोगाउने मान्यता कायम छ। आमाको नामको नागरिकता अस्वीकार्य हुनु यही सोचको परिणाम हो।
वैवाहिक संस्था मातृत्वभन्दा माथि हुन सक्दैन। हुनै पाउँदैन। मेरो शरीर मेरो हो। मेरो यौनिकता मेरो हो। कुन पुरुषको वीर्य लिएर सन्तान जन्माउने रोजाइ मेरो हो। तिमी यही पुरुषका सन्तानको आमा बन भन्ने दिन गए।
पत्नीलाई पतिसँगै चितामा जलाउने मानसिकताको अवशेष बोकेकालाई यो स्वीकार्न गाह्रो पर्ला। कसैले स्विकार्नु वा नस्विकार्नुले फरक पर्नेवाला छैन। शिवजीले विष पिएसरी सारा अपमान, तिरस्कार, गाली र असहयोगको विष घाँटीमा लिएर निर्धक्क हिँडेका छौं हामी।
आमाको नामबाट नागरिकता चाहियो भन्नेहरूलाई समाज नानावली ‘लेबल’ भिडाउन तत्पर छ। विदेशीसँग प्रेम गर्दै हिँड्ने बाइफालालाई चाहिएको छ रे आमाको नामको नागरिकता! आफ्नो शरीरमा आफ्नै अधिकार ठान्ने उत्तराधुनिकहरूलाई चाहिएको छ रे आमाको नामको नागरिकता! यौनिकतालाई अधिकार ठान्नेहरूलाई चाहिएको छ रे आमाको नामको नागरिकता!
उनीहरू किन सोच्न सक्दैनन्– छोराछोरीलाई आफ्नो रगतले सिँचित गर्ने आमालाई चाहिएको छ आमाको नामको नागरिकता।
पुरुषसँग कुममा कुम जोडेर अघि बढेको हरेक महिलालाई चाहिएको छ, आमाको नामको नागरिकता।
बाबाको नाममा नागरिकता बनाउँदा आमाको खोजी हुन्न। आमाको नामबाट नागरिकता बनाउन बाबाको खोजी किन? यो महिलालाई दोस्रो दर्जाको नागरिक ठान्ने पुरातन सोचको परिणाम हो। हाम्रा नीति निर्माता एक्काइसौं शताब्दीमा पनि त्यही सोच पालेर बस्नुभएको छ।
हामीले कुन मान्छेसँग प्रेम गर्ने? कोसँग बिहे गर्ने? कसको बच्चा पाउने? यस्ता अर्ती उपदेश दिने दिन गए। आफ्नो बुताले बनाएको जीवनमा कुनै माइकालालको हक चल्नेवाला छैन। कसैले ‘बिहे गर, बच्चा पाएर बस’ भन्छ भने ऊसँग आँखा जुधाएर भन्न सक्छौं, ‘बच्चा पाएर बिहे गरे हुँदैन र?’
यो हाम्रो अधिकार हो। हामी यही अधिकारको प्रत्याभूति चाहन्छौं।
आर्थिक र सामाजिक सुरक्षा आर्जन गर्न सक्नेले नितान्त निजी कुरा– यौनिकताको अधिकार राख्न सक्छन्। बिहा गरेर सन्तान नजन्माउन सक्छन्। बिहा नगरी सन्तान जन्माउन पनि सक्छन्। मातृत्व र सन्तानले पाउने पितृवात्सल्यको ख्याल राख्न सक्छन्। बिहा गरिसकेका महिलाले यो संस्था उपयुक्त नलागे छाड्न पाउँछन्। सुखद भए आजन्म बिताउन पाउँछन्। आफ्नो पहिचानको बलमा सन्तानलाई पहिचान दिलाउन सक्छन्। वैवाहिक संस्थाभित्र र बाहिरका दुवै महिलालाई यसको छुट हुनुपर्छ।
यस्तो कुरा गर्दा हामीलाई परिवार र समाज भाँडिने डर हुनसक्छ। हाम्रा खुट्टा डगमगाउन सक्छन्। तपाईंलाई पनि त्यस्तै हुन्छ भने आँखा चिम्म गर्नुस्। आफैंलाई सोध्नुस्– वैवाहिक संस्थामा तपाईं आफ्नो साथीको एकोहोरो त्याग त खोजिरहनु भएको छैन? साँच्चै इमानदार हुनुहुन्छ कि देखिए मात्र पुगेको छ?
तपाईंको विवाह समानताको पिलरमा उभिएर मुस्कुराइरहेको भए ढुक्क हुनुस्। एकातर्फ धोकाधडी र अर्कातिर त्यागको बेमेल पांग्राले हाँक्दैछ भने तिलमिलाउनुस्। छोरीको कर्म, आकांक्षा र योगदानसँगै वैवाहिक संस्थाको मान्यता बदलिनै पर्छ। छोरीहरू बाहिर निस्किसकेको अवस्थामा घरका काममा साझेदारी ऐच्छिक होइन, अनिवार्य हुनुपर्छ।
छोरीका बाबुआमाले केटा र उसका बाबुआमालाई धनुष्टंकार नमस्कार चढाएसम्म यो सम्भव नहोला। छोरी पनि वस्तुसरह दान हुन राजी भएसम्म यो उकुसमुकुसमा ताजा हावा छिर्न मुश्किल होला। हाम्रो सम्बन्धको गाँठो कसिने बेला कस्तो मन्त्र पढ्ने अब हामी आफैं बनाउँछौं।
मलाई बा र आमा उत्तिकै प्रिय छन्। तर, आमाको अस्तिवमाथि धावा बोलिरहने वैवाहिक संस्था मलाई स्विकार्य छैन। त्यसमाथि धावा बोलेर म भन्न सक्छु, तिम्रो अनुमतिविना पनि म प्रेम गर्न पाउँछु। ऊसँग सन्तान जन्माउन पाउँछु। सँगै बस्न र जीवन बिताउन पाउँछु। मेरो नामबाट मेरो सन्तानलाई नागरिकता दिन पाउँछु।
दिन नपाउने निर्णय गर्ने मनोमानी मलाई मान्य छैन।