बोल्ने महिलासँग किन प्रमाण खोजिँदै छ? 


दुई साताअघि लेखक तथा साहित्यकार शारदा शर्माको १२ औं कृति ‘त्यो समय’को विमोचन भयो। शर्माले पुस्तकमा जागिरका सिलसिलामा सन् २००४ देखि २००६ सम्म दिल्ली बस्दाका अनुभव र अनुभूति समेटेकी छन्।

पुस्तकमा तत्कालीन राजा ज्ञानेन्द्रले गरेको ‘कू’ को पृष्ठभूमिमा आएका अनेक राजनीतिक उतारचढावका विषय समेटिएको छ। नरहरि आचार्य त्यही उतारचढावका थुप्रै पात्रमध्येका एक हुन्। आचार्य शर्माका पति पनि हुन्।

आचार्यलाई थुनामा राख्दाको अवस्थामा लेखिकाले भोगेका मानसिक तनाव, १२ बुँदे दिल्ली सम्झौताको पृष्ठभूमिदेखि संविधानसभाको पहिलो चुनावसम्मका अनौपचारिक इतिवृत्तिहरू पुस्तकमा समेटिएका छन् ।

लेखिकाले पुस्तकमा आफ्ना निजी कुरा पनि सहजताका साथ प्रस्तुत गरेकी छन्।

एउटा प्रसंगमा नेताले सबै मतदातालाई नचिन्दा उत्पन्न हुने परिस्थिति जोडेर शर्माले पतिसँगको आफ्नो सम्बन्धबारे लेखेकी छन्। उनी लेख्छिन्, ‘मान्छेलाई एक/दुई पल्ट नदेख्दा, नमस्ते नफर्काउँदा त राम्रो लाग्दैन। यही मान्छेसँग तीस वर्षसँगै बस्ता मलाई कति गाह्रो भयो होला? ऊ मलाई पनि देख्तैनथ्यो, अझै देख्तैन कतिपय अवस्थामा…’

लेखिकाले महिलालाई ‘यौनिक दृष्टिकोण’बाट हेरिने कुरालाई पुस्तकमा बारम्बार उदाहरणसहित उठाएकी छन्। कतिपय आफ्नै प्रसंग छन्, कति अरूका।
कलकत्ताको सोनागाछीका ‘रेडलाइट एरिया’ र बैंककका त्यस्तै क्षेत्रकाबारे पुस्तकमा प्रसंग छन्। सोनागाछीकी एक नेपाली महिलाले लेखकसँग भनेको कुरालाई उनले जस्ताको त्यस्तै राखेकी छन्।

ती महिला भन्छिन्, ‘…हामी यहाँ बजारमा नबस्ता हौँ त तिमीहरू भलाद्मी र असल बनेर कसरी निर्धक्क हिँड्न पाउँथ्यौ? सडकमै दिउँसै बलात्कार गर्थे यी पुरुषहरूले तिमीहरूलाई। घरका पत्नी तिमी, बजारका पत्नी हामी… तिमीहरू पट्टी बाँधिएका कुकुर, हामी पट्टी नबाँधिएका कुकुर, तिमी र हामीमा यति नै त हो फरक…’

स्वतन्त्र पहिचान निर्माण गरिसकेकी नारीले श्रीमानको छाँयामा परेर आफ्नो अस्तित्व हराउन लागेको कुरालाई त्यो घटनापछि एक्कासी सपनाबाट ब्युँझेझैं महशुस भएको शर्माले पुस्तकमा मिहीन ढंगले पस्केकी छन्।

पुस्तकमा कैंयन विषय समेटिएका छन्। तर लेखिकाले नेपाली कांग्रेसका दुई हस्तीहरू कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबारे लेखेका कुराले अहिले तरंग पैदा गरेको छ। एक प्रकारको यौन विचलनको ‘आरोप’ झल्किने त्यो प्रसंगले विवाद सृजना भएको छ।

यो लेख त्यो किताबको वर्णनभन्दा पनि त्यो ‘आरोप’ र तत्पश्चात उठेका तरंगमा केन्द्रीत छ।

पुस्तक प्रकाशित भएपछि, आफूलाई ‘वौद्धिक’ मान्ने कतिपयले, लेखिकालाई ती व्यक्तिहरू जीवित हुँदै कुरा किन नउठाएको? भनेर प्रश्न गरे।

अर्काथरीले लेखिकासँग आफ्नो दाबी प्रमाणित गर्ने आधार खोजे। तेस्रो थरी ‘हुन पनि सक्छ, नहुन पनि सक्छ’को भावमा बहसमा उत्रिएका छन्।

एउटी स्थापित महिला लेखकले लेखेको कुरामा आज प्रश्न उठाइएको छ। ‘महिला’ शब्दमा यसकारण मैले जोड दिएँ, यस्ता कुरा पुरुष लेखकहरूको संस्मरण वा आत्मकथामा आएको भए, जीभ्रो फट्कार्दै आरोपितलाई त्यो त ‘यस्तो पो रहिछे या रहेछ!’ भन्दै चिया गफको बहससमेत बनाइन्थ्यो। यसभन्दा अगाडि प्रकाशित कतिपय पुरुष लेखकका संस्मरण र आत्मकथाले त्यो प्रमाणित गरेको छ।

अर्कोतिर आफ्नो जीवनको एउटा कालखण्डको संस्मरण लेख्दा, उमेर र अनुभवमा समेत आफूले जन्माएका छोराछोरी उमेरका समेतले लेखिकासँग ‘प्रमाण’ खोजेका छन्।

समस्याको चुरो यहीँ छ- के महिलाले आफूमाथि भएका वा हुने यौनिक हिंसा वा दुर्व्यवहारबारे आवाज उठाउन सधैँ प्रमाण पेश गर्नुपर्ने?

यस्ता अनुभूतिबारे महिलाले आजकल सार्वजनिक रूपमा भन्ने, आवाज उठाउने प्रचलन बढेको छ। संसारभरनै यस्ता आवाज उठ्ने क्रम जारी छ।

यस्ता आवाज उठाइँदा कैंयन् मुलुकमा महिलाले समाजका अगुवा र मिडियाको साथ पाएका छन्। कैंयन् वर्षअघिको घटनामा पनि प्रहरीले अनुसन्धान गरेको छ। पीडकहरू जेल पुगेका छन्। ‘पीडित’हरूले ढिलै भए पनि न्याय पाएको महशुस गरेका छन्।

हालसालै अमेरिकी अदालतले एकजना प्रसिद्ध कलाकारलाई कैंयन् वर्षअघिको यौनशोषणको मुद्दामा अदालतले जेल पठायो।

बिल कस्बी १९८४ देखि सन् १९९२ सम्म अमेरिकी टेलिभिजनहरूमा प्रस्तुत हुने  प्रसिद्ध टेलिभिजन कार्यक्रम ‘द कस्बी सो’ का निर्माता र प्रस्तोता हुन्।

गत महिनामात्र उनलाई महिला तथा किशोरीहरूमाथि यौन दुर्व्यवहार गरेको तीनटा मुद्दामा अदालतले दोषी ठहर्‍यायो।

८० वर्ष नाघेका कस्बी अमेरिकी समाजमा एकदमै आदरणीय कलाकारका रूपमा स्थापित थिए। विशेष गरी अफ्रिकन अमेरिकनहरूले उनलाई आदर्शको रूपमा ‘टेलिभिजन ड्याड’ भनेर सम्मान दिन्थे।

सन् २००५ को जनवरीमा एन्ड्रिया कन्स्ट्यान्ड नामकी बास्केट बल खेलाडीले बिल कस्बीलाई आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी हालिन्। प्रहरीले  कस्बीमाथि छानबिन सुरू गर्‍यो। छानबिनको क्रममा कस्बीले ५० वर्षमा ६० जना महिलामाथि अनेक खालका दुर्व्यवहार गरेको तथ्य खुल्यो।

सुरूमा जब उनीमाथि एक/दुई उजुर आए कस्बीलाई समर्थन गर्ने जमात पनि कम थिएन। उनकी श्रीमतीसमेत आफ्नो पति निर्दोष भएको भनेर बिलकै पक्षमा उभिइन्।

महिला हिंसा र यौन दुर्व्यवहारविरुद्ध कडा कानून भएकालेले अमेरिकी प्रहरीले गम्भीर अनुसन्धान गरिरह्यो। अन्तत: पीडितलाई न्याय दिलाएरै छाड्यो।

कस्बीको बाहिर एउटा छवि थियो। भित्र उनी अर्कै मानिस थिए। त्यस्ता मानिसहरू संसारमा धेरै हुन्छन्। नेपालमा पनि छन्।  त्यसैले महिलाले उठाउने यौनहिंसा वा दुर्व्यवहारका घटनालाई गम्भीरतापूर्वक लिनुपर्छ। सम्भव भए अनुसन्धान गर्नुपर्छ।

नेपालमा कुनै महिलाले, ‘ममाथि यौन दुर्व्यवहार भएको थियो’ भनेर उजुरी गर्न जान वा भन्नै पनि हजार पटक सोच्नुपर्छ। त्यस्ता कुरालाई प्रमाणित गर्न, साक्षी खोज्न र बकाउन सक्नुपर्छ। होइन भने ‘चरित्रहीन’ वा ‘बहुलाही’ को आरोप लाग्छ।

यसको उदाहरण २०७२ मा प्रकाशित शारदा भुसाल झाको पुस्तक ‘धरातल’लाई लिन सकिन्छ।

उक्त पुस्तकमा, उनले लेखेकी छन्, ‘म जतिबेला यौनहिंसामा परें, त्यसबेला मलाई कहाँ जाने, कता उजुरी गर्ने? भन्ने केही पनि थाहा थिएन। आजभन्दा २६ वर्ष अगाडिको नेपाल धेरै पुरानो समाज थियो। त्यतिबेला कहाँ जाने? कसलाई भन्ने ? जब आफ्नै बाबुआमा, आफ्नै दाजुभाइहरूबाट पीडित भएको मान्छेले समाजमा कहाँ गएर भन्ने? त्यस्तो अवस्था थियो।’

उनले लेखेकी छन्, ‘जतिबेला ममाथि यौन हिंसा भयो, मलाई बलात्कार गरियो, मेरो अस्मिता लुटियो त्यतिबेला मलाई बेहोस हुने सुई लगाइन्थ्यो। सुरूमा रेप हुँदा म गाउँटोल थर्कमान हुने गरी चिच्याउँथें। त्यसपछि मलाई इन्जेक्सनहरू लगाउन थालियो।

प्रहरी प्रशासन वा अरु ठाउँमा भन्नुपर्छ भन्ने ज्ञान मलाई त्यतिबेला थिएन। म भर्खर ६/७ कक्षा पढ्दै गरेकी किशोरी थिएँ । गाउँमा अहिलेजस्तो चेतना थिएन। भागेर घर जाँदा पनि बाबुआमाले उल्टै मलाई नै गाली गरेर मरणासन्न हुने गरेर पिट्थे।

पुस्तकमा उनले यौन हिंसा गर्ने  भनेर मोदनाथ प्रश्रितको नाम किटेरै लेखेकी छन्।

यो आरोपबारे न त प्रहरी, न उनी सम्बन्धित रहेको पार्टी वा अन्य कुनै निकायले छानबिन गर्‍यो। उल्टो पूर्वशिक्षा मन्त्री तथा साहित्यकार प्रश्रितले २०७२ चैत १ गते राजधानीमा पत्रकार सम्मेलन गरेर भुसालको पुस्तकमा लगाइएको आरोपबारे आपत्ति जनाए।

पत्रकार सम्मेलनमा उनले भने, ‘केही दिनयता अत्यन्त काल्पनिक, मनगढन्ते, दुराशयपूर्ण र समाजका लागि हानिकारक कुराहरू लेखी एउटा अश्लिल साहित्यको पुस्तक बजारमा ल्याइएको रहेछ। यदि मैले पुस्तकमा भनेजस्तै कुनै अपराध गरेको थिएँ भने यतिका वर्षसम्म किन कतै, कुनै आवाज उठाइएन?’

अझ अगाडि बढ्दै प्रश्रितले प्रशासनलाई आग्रह गरे, ‘कसैको व्यक्तित्व नै समाप्त गरिदिने उद्देश्यले प्रकाशित गरिएको सामग्री तत्काल प्रशासनले नियन्त्रणमा लेओस्।’

एउटा अनलाइन पत्रिकासँगको अन्तर्वार्तामा उनले झालाई पागल घोषित गरे। उनले भने, ‘चन्द्रमाको प्रभावले गर्दा यस्तो हुँदो रहेछ, उनी (शारदा) दोस्रो दर्जाकी पागल हुन्।’

स्थापित महिला तथा लेखकहरूले आफूले भोगेका यस्ता घटनाबारे फरक-फरक समयमा आवाज नउठाएका, नलेखेका हैनन्।

२०६८ सालमा राजनीतिज्ञ गौरा प्रसाईँले ‘मेरा जीवनका पाना’ भन्ने पुस्तक लेखिन्। सोही वर्ष अर्चना थापाद्वारा सम्पादित ‘स्वअस्तित्वको खोज’ नामक कृति बजारमा आयो। यी दुबै पुस्तकमा देशका स्थापित महिलाहरूले यो वा त्यो प्रसंगमा यौन दुर्व्यवहारका कुराहरू उठाएका छन्।

त्यस्ता घटनाको प्रसंग उठ्नेबित्तिकै नेपालमा महिलाहरूसँग प्रमाण खोज्ने गरिन्छ।
के हुँदै नभएका यौन दुर्व्यवहार र यौनिक हिंसाका घटना मजा लिनका लागि महिलाहरूले बाहिर ल्याउँछन्।  प्रमाण जुटाउने जिम्मेवारी सधैँ पीडितको मात्र हुन्छ?

यसलाई अर्को कोणबाट पनि हेरौं। यदि यौन दुर्व्यवहार, यौन हिंसाका कुराहरू उठाउन त्यति सरल र सहज हुने थियो भने पश्चिमी राष्ट्रमा महिलाहरूले आज ‘मि टु मुभमेन्ट’ चलाउनु पर्ने थिएन। यो आन्दोलनपछि मात्र कैंयन् पश्चिमा महिलाहरूले आफूमाथि भएका यौन दुर्व्यवहारका घटना बाहिर ल्याएका छन्। सार्वजनिक रूपमा बोलेका छन्।

विकसित देशका महिला नेपाली महिलाभन्दा धेरै अर्थले सशक्त र स्वतन्त्र छन्। तलमाथि परेको खण्डमा एक्लै बाँच्न सक्छन्। त्यस्तो आर्थिक, सामाजिक अाधार त्यहाँ छ। चाहिएको र परिआएको बखत राज्यले उनीहरूको पक्षमा लडिदिन्छ। त्यति हुँदाहुँदै  उनीहरूलाई पनि यौन दुर्व्यवहारका कुरा गर्न सजिलो थिएन र छैन भन्ने ती देशमा भइरहेका घटनाले प्रमाणित गर्छन्।

अमेरिकामा ‘मि टु मुभमेन्टले’ हलिउडका प्रसिद्ध निर्माता हार्भे वेइनस्टनको पतनसँगै सुरू भएको हो। सन् २०१७ को अक्टोबरमा ‘द न्यूयोर्क टाइम्स’ले ‘मिराम्याक्स’ कम्पनीका को-फाउन्डर वेइन्स्टनले महिलाहरूमाथि गरेको यौन दुर्व्यवहारबारे एउटा स्टोरी छाप्यो। त्यो स्टोरी छापिएपछि ‘मिराम्याक्स’बाट उनलाई हटाइयो।

पहिले एउटी महिलाले उनीमाथि लगाएकी थिइन्। पछि बढ्दै बढ्दै ८० महिलाले त्यस्तो आरोप लगाए। सामाजिक सञ्जालमार्फत् ‘मि टु मुभमेन्ट’ चल्यो र धेरै महिलाहरू शक्तिशाली पुरुषले गरेको यौन हिंसा र दुर्व्यवहारको विरोधमा अगाडि आए।

ती महिलामध्ये कतिपयमाथि हिंसा र दुर्व्यवहार ९० को दशकदेखि नै हुँदै आएका थिए। तर उनीहरूले ‘न्युयोर्क टाइम्स’को स्टोरीपछि मात्र बोल्न सके। कतिले हार्भे वेन्सटनको पतन पछिमात्र बोले।

नेपाली समाजको जस्तो मानसिकता पश्चिमा समाजको हुन्थ्यो भने त्यहाँ न त थुप्रै शक्तिशाली पुरुषहरूले महिलाहरुमाथि गरेका यौन हिंसा र दुर्व्यवहारको कुराहरू अगाडि आउँथे न त ‘मि टु मुभमेन्ट’ नै चल्न सम्भव हुन्थ्यो।

अनुसन्धानले देखाएका छन्, पश्चिमी समाजमा पनि महिलाहरूले विभिन्न कारणले आफूमाथि हुने यौन दुर्व्यवहारका घटना दबाएर राख्छन्।

उजुर गर्न पर्याप्त प्रमाण नहुनु, उजुर गरेपछि उल्टै आफैंमाथि अनेक आरोप आउन सक्ने डर, त्यस्ता घटना बाहिर ल्याएपछि समाजले आफूमाथि हेय दृष्टिले हेर्ला भन्ने मनोभाव, कानूनी तवरबाट जाँदा प्रमाणित नभएको खण्डमा पीडकले बदला लिनसक्ने सम्भावना, परिवारका नजरमा गिर्नुपर्ला भन्ने डर र प्रहरी  र प्रशासनले पीडकलाई सजाय गर्ला भन्ने विश्वासको कमीजस्ता कारणले पश्चिमा मुलुकमा पनि महिलाले यौन दुर्व्यवहारका घटना बाहिर ल्याउन सकेका छैनन्।

कानूनको शासन र महिलाका अधिकार बलियो भएका समाजमा त महिलालाई यौन दुर्व्यवहारका घटनामा बोल्न यति कठिन छ भने नेपालमा कति अप्ठ्यारो होला?

त्यसका वाबजुद कतिपय महिलाले बोलका छन्। आँट गरेका छन्। भोलि अरू छोरीहरूमाथि त्यस्ता घटनाहरू नदोहोरिऊन्, मानिसहरू सचेत बनुन् भनेर केही आँटिला महिलाले आफ्ना अनुभव र अनुभूति बाहिर ल्याएका हुन्।

ती कुरा पुस्तकमा लेख्दा वा सार्वजनिक रूपमा बोल्दा उनीहरूले किन नेपाली समाजको साथ पाइरहेका छैनन्? किन उल्टै उनीहरूमाथि प्रश्न उठाइँदै छ? किन उनीहरूसँग प्रमाण खोजिँदै छ?

त्यसले नेपाली समाजको चरित्रबारे के संकेत गरिरहेको छ?

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.