यसरी जोगाउन सकिन्छ दरबार हाइस्कुल सम्पदा

दरबार हाइस्कुल। तस्बिर: नारायण महर्जन/सेतोपाटी


इञ्जिनियरिङ अध्ययन संस्थानको डिन कार्यालय भवन कुनै बेला आनन्दशमशेरको दरबार थियो। करिब १५ वर्षअघि पर्खालका इँटा फुटेका र काठ मक्किएका देखिए।

प्रस्ताव आयो– पुरानो दरबार भत्काएर नयाँ भवन बनाउने।

संस्थानकै आर्किटेक्चरल इञ्जिनियरिङ विभागका प्राध्यापक मानेनन्। उनीहरूको अध्ययनअनुसार उक्त भवन ‘रेट्रोफिट’ गरी भुइँचालो प्रतिरोधक बनाउन सकिन्थ्यो।

आखिर परम्परागत सामग्रीबाटै जिर्णोद्वार गरिने भयो। भवनको संरचना अत्यन्त कम परिवर्तन गरी रेट्रोफिट गरियो। काठका बिम भएका ठाउँमा काठै राखियो। केही पुराना पर्खाल हटाएर नयाँ बनाइयो।

इञ्जिनियरिङ अध्ययन संस्थान र केन्द्रीय क्याम्पस पुल्चोकको प्रशासनिक इकाई त्यही भवनमा सञ्चालित छ।

काठमाडौं उपत्यकाका राणाकालीन भवन वा दरबार ‘रेट्रोफिट’ गरेर भुइँचालो प्रतिरोधक बनाइएको एउटा उदाहरण हो यो।

त्यसो भए १२७ वर्षअघिको दरबार हाइस्कुल ‘रेट्रोफिट’ नगरी किन भत्काउने विकल्पमा जान खोजियो?

१९९० सालको भुइँचालोमा काठमाडौं उपत्यका अहिलेभन्दा तहसनहस भएको थियो। स्रोतसाधन, जनशक्ति र पहुँच नभएको त्यो समय पनि हामीले १० वर्षभित्रै सबैजसो पुरातात्विक संरचना परम्परागत हिसाबले नै जिर्णोद्वार गर्यौं।

त्यतिबेला जिर्णोद्वार गरिएका धेरैजसो मन्दिर तथा ऐतिहासिक संरचना करिब ८० वर्षपछि २०७२ को भुइँचालोमा पनि सुरक्षित देखिए।

उदाहरणका लागि, भक्तपुरका पचपन्न झ्याले दरबार, विष्णु मन्दिर, च्यास्लिङ मण्डप, पाटनको देगु तले मन्दिर, पाटन दरबार, कुम्भेश्वर महादेव मन्दिर र काठमाडौंका धेरै पुरातात्विक संरचना ९० सालको भुइँचालोमा क्षतिग्रस्त भएका थिए। ती सबै परम्परागत तरिकाले जिर्णोद्वार गरियो। यसपालि सामान्य क्षति मात्र पुग्यो। केहीमा त क्षति नै भएन।

भुइँचालो प्रतिरोधी संरचना निर्माणका केही आधारभूत तत्व हुन्छन्। यसमा सम्पूर्ण संरचना आपसमा बाँधिन्छन्। छानो, प्रत्येक तल्ला र गारो राम्ररी जोडिन्छ। जोइन्टहरू तनाव (टेन्सन) धान्न सक्ने हुन्छन्। संरचना सकेजति लचिलो हुन्छ।

यी आधारभूत तत्व हाम्रा ऐतिहासिक तथा पुरातात्विक संरचनामा पाइन्छन्। काठको ठेडी (चोकुस) तथा विशेष प्रकारको जोइन्ट प्रयोग गरेर सबै संरचना आपसमा जोडिन्छ। काठ प्रयोग अधिक भएकाले संरचना लचकदार हुन्छन्।

यस आधारमा दरबार हाइस्कुल पनि त्यतिबेलाको संरचना नाश हुने गरी पूरै भत्काउने आवश्यकता छैन।

विद्यालय भनेको भव्य आधुनिक भवन मात्र होइन। विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप गर्न खुला क्षेत्रफलको खाँचो पर्छ। रत्नपार्क र जमलजस्तो उच्च ध्वनि प्रदूषण नभएको शान्त ठाउँ माग गर्छ।

रानीपोखरी छेउ र बस्ती बीचमा बनेको दरबार हाइस्कुल उतिबेला सही स्थानमा थियो। बढ्दो सहरीकरण र प्रदूषणले के अहिले पनि सही स्थानमा छ? छैन भने त्यहाँ नयाँ स्कुल बनाउने नाममा ऐतिहासिक भवन किन भत्काउने?

विश्वका अन्य विकसित तथा विकासोन्मुख देशमा धेरै पुराना पुराना स्कुल भवन रेट्रोफिट गरेर सकेसम्म स्कुलकै रूपमा र नभए सामुदायिक भवनका रूपमा संरक्षण गर्ने चलन छ।

बेलायत संसारमै सबभन्दा धेरै पुराना विद्यालय भएको देश हो। यहाँ करिब पाँच हजारभन्दा बढी विद्यालय भवन सय वर्षभन्दा पुराना रहेको सरकारी अध्ययनले देखाएको छ।

स्कुलको पुरातात्विक भवन आफैंमा शिक्षा आर्जनका लागि प्रेरणादायी स्रोत बन्ने र आउँदो पुस्ताका विद्यार्थीलाई देश र विद्यालय इतिहास जान्न महत्वपूर्ण हुने भन्दै बेलायत सरकारले त्यस्ता भवन नभत्काउने नीति लियो। ती भवनको रेट्रोफिटिङ, पुनःप्रयोग तथा संरक्षण निर्देशिक नै जारी गर्यो।

यस्तै उदाहरण अन्य देशमा पनि भेटिन्छ।

फिलिपिन्समा तत्कालीन विधानसभा सदस्य इसाउरो गाबल्दनको नेतृत्वमा सन् १९०७ पछि ठूलो संख्यामा स्कुल भवन निर्माण गरिए। यो अभियानलाई कानुनी रूप दिन गाबल्दनले संसदबाट विधेयकै पास गराए, जसलाई ‘गाबल्दन विधेयक’ भनिन्छ।

अमेरिकी आर्किटेक्ट विलियम पार्सन्सले डिजाइन गरेका ती विद्यालयका प्रमुख संरचना काठले बनेका छन्। त्यतिबेला बनेका प्रायः सबै भवन सय वर्ष पुराना, जिर्ण तथा प्रयोग हुन नसक्ने भइसके।

यी विद्यालय फिलिपिन्समा अमेरिकी शासन छँदा अमेरिकी आर्किटेक्टले डिजाइन गरेका भए पनि गत वर्ष सरकारले ‘गाबल्दन विधेयक’ अनुसार बनेका सबै विद्यालय रेट्रोफिट गरेर संरक्षण गर्न विधेयक पास गर्यो। उक्त विधेयकको प्रस्तावनामै ‘गाबल्दन विधेयकबाट देशभरी भनेका विद्यालय भवनको ऐतिहासिक तथा शैक्षिक महत्व भएकाले संरक्षण आवश्यक देखिन्छ’ भनेर लेखिएको छ।

क्यानडामा १८ औं शताब्दीदेखि आदिवासीका लागि खोलिएका आवासीय विद्यालय विवादित रहे। आदिवासी विद्यार्थीमाथि हिंसा गरिएको भनेर ९० दशकमा विवाद भएपछि ती विद्यालय बन्द गरिए। ती विद्यालय भवनले क्यानडाका आदिवासीको अँध्यारो र कठिन अध्याय चित्रण गर्ने र आउँदो पुस्तालाई इतिहास बुझाउने भन्दै विभिन्न प्रदेश संरक्षणमा लागेका छन्।

सन् २००० आसपास अमेरिकामा पुराना विद्यालय भवन आफूखुसी भत्काउँदै नयाँ बनाउन थालियो। नेसनल ट्रस्ट फर हिस्टोरिक प्रिजर्भसन भन्ने सरकारी संस्थाले भत्काउन हुने कि नहुने भनेर अध्ययन गर्यो। उक्त अध्ययनले पुराना विद्यालय भवन सकेसम्म नभत्काउन र रेट्रोफिट गरेर सामुदायिक भवन वा अरू कुनै प्रयोजनमा ल्याउन सुझाव दियो। कुनै पनि रूपमा प्रयोग गर्न नसकिने भए संरक्षण गर्नू भनेको छ।

यही सुझावका आधारमा कतिपय ऐतिहासिक विद्यालय स्थानान्तरण भएका छन्। कतिपयलाई संग्रहालयका रूपमा विकास गरिएको छ।

यी सबै अन्तर्राष्ट्रिय अनुभवका आधारमा दरबार हाइस्कुललाई पनि रेट्रोफिट गरेर स्कुल स्थानान्तरण गरी यहाँ संग्रहालय बनाउनेबारे अध्ययन गर्न सकिन्छ।

यस लेखका प्रथम सह–लेखकले चिली र ताइवानमा भुइँचालोबाट क्षतिग्रस्त स्थान अध्ययन गर्न जाँदा धेरै पुराना विद्यालय भवन विशेष प्रकारले रेट्रोफिट गरी संरक्षण गरिएका थिए। यसबारे स्थानीय अनुसन्धानकर्मीसँग प्रश्न गर्दा भनेका थिए, ‘यो विद्यालय भवन यस क्षेत्रकै पुरानो हो। मेरो जिजु हजुरबा पढेको कक्षा कोठा यही हो। यहाँ पढेकाहरू हाम्रो देशका ठूला मान्छे भएका छन्। त्यसैले यो हाम्रो इतिहास र सम्पत्ति हो।’

भारतमा पनि अंग्रेज र त्योभन्दा पहिले खोलिएका धेरै विद्यालय भवन संरक्षित छन्। कलकत्तामा स्कटिस चर्च स्कुल, लोरेटो हाउस स्कुल, सेन्ट पउल स्कुल, ब्रह्मो बालिका शिक्षालय लगायतमा ऐतिहासिक भवन नियमित मर्मत गरेर कक्षा सञ्चालन गरिएको पाइन्छ।

सबै देशमा यस्ता ऐतिहासिक भवन हुन्छन्, जसलाई संरक्षण गर्न हरसम्भव प्रयास गरिन्छ। हामी आफैंले फर्पिङको पहिलो जलविद्युत आयोजना त्यसैगरी संरक्षण गरेका छौं। त्यसो भए राणाकालमा स्थापना भएको देशकै पहिलो विद्यालयको इतिहास किन मेट्नुपर्यो?

दरबार हाइस्कुलको विशेषता देशकै पहिलो विद्यालय मात्र होइन, काठमाडौंका अन्य धेरै शैक्षिक संस्थाको इतिहास यससँग जोडिएको छ।

यसले आफ्नो भवनमा विभिन्न समय विभिन्न शैक्षिक संस्थालाई आश्रय दिएको थियो। ती नेसनल कलेज (शंकरदेव कलेज), त्रिभुवन प्रौढ शिक्षा निकेतन, विश्व भाषा क्याम्पस, आदर्श विद्यापिठ, नेपाली शिक्षा परिषद र संस्कृत मावि हुन्। यसले पनि दरबार हाइस्कुलको गौरव, प्रतिष्ठा र ऐतिहासिक महत्व बढाएको छ।

पुनर्निर्माणका समस्या

भुइँचालोपछिको पुनर्निर्माण भनेको संरचना पूरै भत्काएर नवनिर्माण नै हो भन्ने बुझाइ कतिपय सरकारी अधिकारी तथा पेशागत विज्ञहरूमा देखिन्छ। कतिपय पुरातत्वविद जुनसुकै पुराना संरचना जे–जस्ता छन्, त्यस्तै रहनुपर्छ भन्ने अडान छन्।

सम्पदा पुनर्निर्माणअघि पुरातात्विक महत्व र अबको प्रयोग कसरी गर्ने भन्नेमा एकमत हुन सकियो भने सहज निकास निस्कन्छ।

पुनर्निर्माण विभिन्न किसिमले गर्न सकिन्छ।

पहिलो, केही परिवर्तन नगरी जस्ताको तस्तै। यसमा निर्माण सामग्री, विधि र कलात्मकतासमेत परिवर्तन गरिँदैन।

दोस्रो, निर्माण विधि र कलात्मकता जोगाउने, तर केही अन्य निर्माण सामग्री पनि प्रयोग गर्ने। जस्तै– माटोको जोडाई भएको ठाउँमा सुर्खी या बालुवा सिमेन्टको जोडाई, काठ, फलाम आदि प्रयोग गर्ने।

तेस्रो, पुरानो कला जोगाउँदै नयाँ निर्माण सामग्री तथा विधि प्रयोग गर्ने।

यीमध्ये कुन विधिबाट पुनर्निर्माण गर्ने भन्ने निर्णय पुरातात्विक महत्व र प्रयोजनका आधारमा गर्नुपर्छ। पुरातात्विक महत्व धेरै भएका संरचना पुरानै शैली र सामग्री मात्र प्रयोग गरेर रेट्रोफिट गर्दा उही प्रयोजनमा ल्याउन समस्या हुन्छ भने फरक प्रयोजनमा ल्याउन सकिन्छ।

अस्पताल, विद्यालय, महत्वपूर्ण सरकारी कार्यालय रहने भवन सुरक्षित हुनुपर्छ। यसका लागि केही बढी लगानी गर्नुपर्ने हुनसक्छ।

अब कुरा गरौं, दरबार हाइस्कुल रेट्रोफिट सम्भावनाको।

धेरैले मर्मतसम्भारलाई नै रेट्रोफिट भनेर बुझेको पाइन्छ। वास्तवमा मर्मत भन्नाले कुनै पनि भवन वा संरचनालाई भुइँचालोअघिकै अवस्थामा फर्काउनु हो। यसले भवनको भुइँचालो प्रतिरोधी क्षमता वृद्धि गर्दैन।

रेट्रोफिटमा भने भुइँचालो प्रतिरोधी क्षमता वृद्धि गरिन्छ। यो मर्मतभन्दा माथिल्लो स्तरको सुदृढीकरण हो। भवन आचारसंहिता पालना नगरी बनाइएका संरचनालाई आचारसंहिताअन्तर्गत ल्याउनु नै रेट्रोफिटिङ हो।

कुनै पनि संरचनालाई बाहिरबाट देखेकै भरमा यसरी बनाउन सकिन्छ भनेर ठोकुवा गर्न उपयुक्त हुँदैन। संरचनाको प्रकृति, क्षतिको अवस्था लगायत आधारमा केही सम्भावनामा छलफल भने गर्न सकिन्छ। कुनै पनि भवनको भूकम्पीय मूल्यांकन नगरी ठ्याक्कै यही गर्नुपर्छ भन्न सकिन्न। अझ ऐतिहासिक दरबारको भूकम्पीय मूल्यांकन एक विशिष्ट कार्य हो।

यसका लागि अनुभवी विज्ञ समूह बनाएर काठमाडौंका सबै ऐतिहासिक दरबार तथा महलको भूकम्पीय मूल्यांकन गरी रेट्रोफिट सम्भावना, तरिका र लागतबारे अध्ययन गरिनुपर्छ।

भवनमा प्रयोग भएका निर्माण सामग्री (इँटा, काठ, सुर्खी, माटो आदि) को भौतिक परीक्षण, महलका विभिन्न संरचनाको गैरविनाशकारी परीक्षण र न्यूमेरिकल मोडलिङका आधारमा मात्र कुन तरिका र कुन मात्रामा संरचना परिवर्तन गरी रेट्रोफिट गर्ने निर्क्यौल गर्न सकिन्छ। दरबार हाइस्कुलका हकमा यस्तो मूल्यांकन नगरिकनै दरबारका केही भाग क्षति भएकाले भत्काएर नयाँ बनाउनुपर्छ भन्नु तर्कसंगत छैन।

भुइँचालोका क्षति पाँच किसिमका हुन्छन्। तीमध्ये ‘डी’ ग्रेडको क्षति भएका भवन भत्काएर नयाँ बनाउनुपर्छ भन्ने केही विज्ञ र सरकारी निकायको तर्क छ। यो सही होइन। ‘डी’ ग्रेडमा परेको छ भन्दैमा दरबार हाइस्कुल भत्काइहाल्नुपर्छ भन्ने निष्कर्षमा पुग्न सकिन्न।

हनुमानढोकाको गद्दी बैठक भवन पनि अमेरिकी सहयोगमा रेट्रोफिटिङ गरिँदैछ। शंकर होटल रहेको ऐतिहासिक दरबार पनि रेट्रोफिट गरिएको छ। यी संरचनाको क्षति र दरबार हाइस्कुलको क्षति उस्तै हो। बरु दरबार हाइस्कुलको संरचना गद्दी बैठक र शंकर होटलभन्दा धेरै सरल छ। यसको अर्थ, गद्दी बैठक र शंकर होटलभन्दा सहज तरिकाले दरबार हाइस्कुल रेट्रोफिट गर्न सकिन्छ।

माटोको जोडाईमा बनेका इँटाका संरचना राम्ररी रेखदेख नगरे निकै छिटो कमजोर हुन्छ। बर्खामा पानी छिरेर काठ कुहिन थाल्छन्, मक्किन थाल्छन्। गारो भिजेर कमजोर हुँदै जान्छ। यसले सम्पूर्ण संरचना नै भत्काएर पुनर्निर्माण गर्नुपर्ने अवस्था आउँछ। समयमै पुनर्निर्माण या मर्मतसम्भार नगर्नाले केही संरचनामा अहिल्यै यस्तो समस्या देखिन थालिसकेको छ।

दरबार स्कुल पनि यही अवस्थामा पुगेको छ भने पुनर्निर्माण नै गर्नुपर्ने हुनसक्छ। केही भाग मात्र कमजोर भएको र अन्य भाग बलियो नै छ भने कमजोर भाग मर्मत गरी नयाँ बनाउन र पुरानो गारो तथा काठका भाग फेरेर बलियो बनाउन सकिन्छ। मोटो इँटाको गारो भएको ठूलो संरचनामा भित्री तथा बाहिरी गरी दुई तह गारो लगाएर बीचमा इँटाका टुक्रा र माटो भरिएको पाइन्छ। यस्तो भागलाई पुरातात्विक असर नपर्ने गरी रेट्रोफिट गर्न बीचको भागमा काठको फ्रेम राख्न सकिन्छ। यसले गारोले धान्ने भारको केही भाग आफूले लिन्छ। पहिले माटोको जोडाई रहेको ठाउँमा चुनासुर्खीको प्रयोग गरियो भने पनि पहिलेभन्दा बलियो संरचना बनाउन सकिन्छ।

लामा–लामा गारोलाई भर दिन बीचमा ‘पार्टिसन’ गारो (क्रस वाल) थप्न सकिन्छ। पार्टिसन गारो थप्न सकिन्न भने छोटो र सानो टेको गारो (बट्रेस वाल) थप्न सकिन्छ। प्रत्येक तल्लालाई काठ वा स्टिल प्रयोग गरेर थप सुदृढ बनाउन सकिन्छ। तल्लाको तलपट्टि काठको कडी वा स्टिलको पातो गारो वरिपरि र कोठाको विपरित कुना जोड्ने गरी राख्न सकिन्छ। तनाव भार बढी पर्न सक्ने ठाउँ आकलन गरी त्यस्ता स्थानमा (थाम तथा खम्बा) थप्न सकिन्छ।

दरबार हाइस्कुलमा अहिले धेरै थाम छन्। कतै दुईवटा थाम पनि सँगै छन्। तीमध्ये केही राम्रा थाम त्यस्तै राखेर केही नयाँ बनाउन सक्छौं। भित्तामा भएका बुट्टा पनि कतिपय खोलेर फेरि राख्न सक्छौं। नयाँ काठमा बुट्टा पनि कुँद्न सक्छौं।

दरबार हाइस्कुल भवनलाई अब कुन प्रयोजनका लागि कसरी उपयोग गर्ने भन्नेले पुनर्निर्माण कसरी गर्ने निर्क्यौल हुन्छ। सरकारले दरबार हाइस्कुल भवनलाई के गर्ने भन्ने दुबिधामा नपरी संरक्षणको निर्णय गर्नुपर्छ। त्यसपछि मात्र यसको रेट्रोफिटिङ विधि टुंगो लगाउन सकिन्छ।

यति मात्र होइन, यहाँको अवस्थिति र क्षेत्रफलका आधारमा अब पनि स्कुल नै राख्न उपयुक्त होला–नहोला, यो पनि सोच्नुपर्ने हुन्छ। स्कुलकै रूपमा प्रयोग गर्ने हो भने संरचना बलियो बनाउनैपर्छ, जसमा भूकम्पीय जोखिम कम होस्। यसका लागि पुरानै शैली र कला उस्तै देखिने गरी जगैदेखि बलियो बनाउँदै पुनर्निर्माण गर्न सकिन्छ। यसमा काठ, इँटा र चुनासुर्खी प्रयोग गर्न सकिन्छ।

भवनका केही भाग संग्रहालयका रूपमा सुरक्षित राख्न पुरानै शैलीमा माटोको जोडाईमै बनाउन सकिन्छ। ताकि, प्राचीन निर्माण शैली र सामग्री तथा स्कुलको अवस्था जानकारी दिन सकियोस्। यसो गर्दा स्कुलकै रूपमा रहने र पुरातात्विक महत्व पनि नास नहुने हुन्छ।

स्कुलका रूपमा प्रयोग नगरी शैक्षिक संग्रहालयका रूपमा राख्ने हो भने भवनको मुख्य संरचना पुरानै अवस्थामा मर्मत गरेर राख्न सकिन्छ। संग्रहालय अवलोकनकर्ता जाने ठाउँका लागि सुरक्षित बनाउन भवनभित्र केही संरचना थप्न सकिन्छ, जसले मूल संरचनामा असर नगरोस्।

जे भए पनि नेपालको पहिलो स्कुलको इतिहास बोकेको दरबार हाइस्कुलले आफ्नो कला र शैली नगुमाओस्। पुरातात्विक महत्व नगुमाओस्। र, सँगसँगै सधैं जोखिम बोकेर बस्ने अवस्था पनि नआओस्।

(शर्मा क्यानडामा सिभिल इञ्जिनियरिङमा विद्यावारिधि गर्दै छन्। पराजुली क्योटो युनिभर्सिटी जापानबाट विद्यावारिधि गरी थापाथली क्याम्पसमा प्राध्यापनरत छन्।)

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.