मेरो गाउँको पोखरी


रानीपोखरी जिर्णोद्वारमा कस्ता सामग्री प्रयोग गर्ने? परम्परागत शैली जोगाउँदै कालो माटो नै हाल्ने कि आधुनिक तरिका अपनाएर कंक्रिट पर्खाल लगाउने?

यिनै प्रश्न वरिपरि घुमेको रानीपोखरी विवादले पुरातात्विक महत्वका सम्पदा संरक्षणमा बहस हुँदा मैले मेरो गाउँको पोखरी सम्झिएँ।

विकाससँग जोडिएर आउने सबै वस्तु राम्रा हुन्छन् भन्ने आमधारणा छ, हाम्रो समाजमा। लरक्क परेको मूलालाई हामी ‘विकासे’ मूला भन्छौं। ठूल्ठूला लसुन–प्याज, चिल्ला सिमी–बोडी, सर्लक्क मकै, लहलह धानका बाला — यी सबैलाई ‘विकासे’ भनिन्छ। दाग नलागेका काउली, कसिला बन्दा, ठूल्ठूला नासपाती, सलक्क परेका काक्रा, हेर्दै खाउँ–खाउँ लाग्ने अम्बा पनि ‘विकासे’ कै कोटीमा पर्छन्।

विकासेमोह तरकारी र फलफूलमा मात्र सीमित छैन।

सिमेन्टले ढलान गरेको घर, बाटो, पानीट्यांकी, मन्दिर, पाटीपौवा र अब हुँदाहुँदा ढलान गरेको पक्की पोखरी पनि हामीले ‘विकासे’ र ‘राम्रो’ वर्गमा राख्न थाल्यौं।

रानीपोखरी सन्दर्भमा उठेको विवाद यसैको उदाहरण हो।

रानीपोखरी संरक्षणलाई लिएर पुरातत्व तथा सम्पदाविद् र अभियन्ता यत्तिकै चिच्याएका होइनन्। उनीहरू काठमाडौंको प्राचीन सभ्यता मासिँदैछ भनेर कराएका हुन्। सिमेन्ट, छडजस्ता सामग्री प्रयोग गर्दा प्राचीन कलाले भरिएका हाम्रा मन्दिरको मौलिकता नाश हुन्छ भनेर चिन्तित भएका हुन्। रानीपोखरीकै सन्दर्भमा भन्नुपर्दा पिँध र डिल ढलान गर्दा पानी सुक्ने र पर्यावरण नासिने हुनाले उनीहरू छट्पटिएका हुन्।

यो छट्पटाहट त्यसै होइन।

कंक्रिट प्रयोग गरेर पुनर्निर्माण गर्दा पोखरी, कुवा, पानीका मुहानको अस्तित्व नै मेटिएका प्रशस्तै उदाहरण छन्। यसले पानीको स्रोत मात्र गुमेको छैन, त्यहाँ बस्ने जलचर पनि मासिएका छन्।

एउटा उदाहरण दिन्छु।

गुल्मी सदरमुकामबाट पश्चिम पुर्कोट दह भन्ने ठाउँ छ। मेरो विद्यालय शिक्षा त्यहीँ भएको हो। त्यही ठाउँमा एउटा ठूलो पोखरी थियो। सायद पुर्कोटका ५–६ वटा गाउँमध्ये एउटाको नाम यही दहको नामले रहेको थियो। मैले यति ठूलो पोखरी पहिलोपटक देखेकी थिएँ।

पोखरी वरिपरि ठूल्ठूला बैस र लाकुरी रूख अनि हरियाली, शितल र शान्त ठाउँ थियो। डिलमा मान्छे लुगा धोइरहेका हुन्थे। बस्तुभाउ गर्मी छल्न आहाल बसिरहेका देखिन्थे। हाँसका चल्ला र माउ सलल्ल पौडी खेलिरहेका हुन्थे।

समय बित्दै गयो। विद्यालयको पढाइ सकियो। हामी नयाँ गन्तव्यतिर लाग्यौं। कच्ची बाटो हुँदै ‘विकास’ हाम्रो गाउँघरतिर पस्यो। मूलाको बिउ, बाख्राको बोका, मुर्रा भैंसीको राँगा, खुमलटार मकै, विकासे गहुँ गाउँ छिरे। ठूला र पक्की विकासले प्रवेश पायो।

यही क्रममा विकासका नाममा गएको बजेटले पोखरी ढलान भयो। दायाँ, बायाँ र भुइँ सबैतिर। विकासको सुन्दर, मिठो परिकल्पना भनौं वा सपनासहित पक्की पोखरी बन्यो। त्यो परिकल्पना यस्तो थियो, भैंसी आहाल बस्दा डँडाल्नोमा हिलो नलाग्ने, सग्लो पानीमा हाँसका चल्ला र माउ सलल्ल बग्ने, लुगा धुन पोखरीको डिलमा ढुंगाको छापा खोज्न नपर्ने। पोखरीको डिल नै पक्की भएपछि जहाँ बसेर धोए पनि हुने। कहिलेकाहीँ टलपल पानी भरिएर बगेका बेला मान्छेले पनि पौडी खेल्न पाउने।

यति मात्र होइन, पोखरी वर्षौं टिक्ने। मर्मत गर्न नपर्ने। विकासले यतिसम्म परिवर्तन ल्याएपछि पक्की पोखरीमा खानेपानी धाराबाट पानी हालियो। पोखरी भरियो, टलपल टलपल। वरपरका सबै मान्छे दंग। सबैले यसलाई सिमेन्ट र विकासको जादु ठाने।

हामी सबैलाई नफुटेको र नचुहिने भाँडामा मात्र पानी अडिन्छ भन्ने थाहा थियो। पोखरीमा पनि यो सिद्धान्त लागू हुँदो रहेछ। त्यत्रो ठूलो पोखरीमा पानी भरिएको भरियै भयो। सबैले सोचे, आखिर पानी अडाउने त कंक्रिट नै रहेछ।

विस्तारै नयाँ पक्की पोखरी पुरानो हुँदै गयो। हिलो विस्थापन गरेको कंक्रिटले न सतहबाट जमिनमुनि पानी जान दियो न त जमिनको चिस्यान नै रह्यो। बर्खामा पानी पर्दा पोखरीमा जम्मा हुन्थ्यो, नपर्दा सुख्खै। कंक्रिटको पर्खालभित्र पानी लामो समय अडिन पनि छाड्यो। त्यही बर्खाको पानी पनि जमिनभित्र जान पाएन। पानी र माटोको सम्बन्ध कंक्रिटले विच्छेद गरिदियो। जमिनको चिस्यान हरायो। हिलो हरायो। हिलोसँगै साना जीव हराए।

जबसम्म पोखरी माटोले बनेको थियो, हिलो हुन्थ्यो। हिलोले चिस्यान बनाउँथ्यो, चिस्यानले सिमसार र सिमसारले पानीको स्रोत दिन्थ्यो। र, पानीले जीवन बचाउँथ्यो। यो सबै पर्यावरणीय चक्र पक्की ढलान संरचनाले जोगाउने कुरै भएन। घाम लाग्दा पोखरीको पानी सुक्यो। सुरुका दिनमा त धाराबाट पानी हालेर पोखरी भर्ने गरिन्थ्यो। विस्तारै त्यो जाँगर पनि गाउँलेमा रहेन।

हुँदाहुँदा, पक्की पोखरी सुख्खा भयो। न एक थोपा पानी, न डिलमा हरियाली न छहारी दिने रूख। यहाँ न भैंसी आहाल बस्छन् न हाँसका बथान पौडन्छन्। बरु पानीबिनाको पोखरीमा हाम्फालेर केटाकेटी टालाको भकुन्डो खेलिरहेका देखिन्छन्। प्रहरी र शिक्षकहरू भलिबल खेलिरहेका हुन्छन्।

पुर्कोट दहसँग गुल्मीको सभ्यता र थुप्रै जलचरको जीवन जोडिएको थियो। आज न त्यहाँ कुनै जलचर छन् न त हाम्रो मौलिक सभ्यता नै जोगिएको छ। त्यहाँ छ त एउटा उजाड खाल्डो, जुन चारैतिरबाट मानव अतिक्रमण भएर चेपिएको छ।

विकासले ल्याएको यस्तो विनाश आज म देशैभरी देख्छु। चाहे त्यो हिले पोखरी होस्, लेउ लागेका कुवा होस् वा पँधेरी। सबैको कथा उस्तै छ। यी सबै पानीका स्रोत हाम्रो कंक्रिट मोहले कुरूप मात्र होइन, असान्दर्भिक नै बनाइदिएको छ।

जतिबेलासम्म मेरो गाउँमा झुम्म रूख थिए, सिम्सार थियो, गाउँको खानेपानी कुवामा बाह्रै महिना पानी हुन्थ्यो। हामीले लेउ लाग्ने कुवा मासेर कंक्रिटको कुवा बनायौं। आज त्यहाँ पानीको एक थोपा अडिँदैन।

यति मात्र होइन, लाकुरी र बैसका रूख ढालिए। ढुंगा र माटोको चौतारो पक्की बनाइयो। अब हामीसँग पक्की चौतारो मात्र छ। न मूल छ न पानी। न मुहान छ न सिम्सार। सिम्सार रहे पो जीवन रहन्छ। हामीले विकासका लागि हिलो, झ्याउ र लेउलाई घृणा गर्यौं। वास्तवमा जीवन त्यसमै थियो। हामीले जीवनको महत्व बुझेनौं। र, विनाश गर्यौं।

मेरो गाउँमा प्रवेश गरेको यस्तै विकासले करिब दर्जन प्रजातिका धाइरे, जुम्ली, आँगा, कटौजे, मार्सी, लामेजस्ता परम्परागत स्वादिला धानको सत्यनास गर्यो। पहेँले, सेते कौडे, बाइस आँख्ले, ठूलो मकै लगायत दर्जनौं स्थानीय प्रजातिका मकैको बिउ नै भुट्यो। पुरानो लसुन, दुजो त मासियो नै। अब कटौजे कुखुरालाई पनि गिरिराज भन्ने ब्रोइलर चल्लाले विस्थापन गरेको छ।

हिजोआज ती सलक्क परेका मकैका घोगामा दाना नलागेको हामी सुन्छौं। लहलह फलेको धानको बाला पनि दानाविहीन भएको देख्छौं। सिमी, मूला, प्याज, काउलीका बेर्ना उम्रँदैनन्। उम्रे पनि राम्रो उत्पादन दिँदैन।

हो, यही हो हाम्रो ‘विकास’ को परिणाम।

हामीले विकासे हाइब्रिड बिउ लगायौं। एक बाली राम्रो उत्पादन दियो। हामी क्षणिक रूपमा दंग पर्यौं। यसले हाम्रो स्थानीय प्रजाति नै मासिएको भेउ पाएनौं।

हिजोआज त हामीलाई विकाससँगै समृद्धि पनि चाहिएको छ। समृद्धि मात्रले कहाँ पुग्छ? ‘स्मार्ट’ पनि हुनुपरेको छ। मान्छे स्मार्ट, फोन स्मार्ट र अब हुँदाहुँदा सहर नै स्मार्ट चाहिएको छ। तर, कसरी?

रानीपोखरीमा जस्तो कालो माटो खनेर कंक्रिटको भुइँ र कंक्रिटकै पर्खाल लगाएर। यसले झलक्क हेर्दा त हामी स्मार्ट देखौंला, तर त्यो खोक्रो हुनेछ। आफ्नो मौलिक पहिचान गुमाएको खोक्रो आडम्बर।

हामीले आफ्नो जीवन, संस्कृति, सभ्यता र आवश्यकतासँग सामञ्जस्य कायम नगरी ‘विकास’ को मात्र पछि लाग्दा अन्ततः हासिल हुने भनेको ‘विनाश’ हो। रानीपोखरीबाट सुरु भएको बहसले आगामी दिनमा निरन्तरता पाउँदै जाओस्। हाम्रो सभ्यता र संस्कृति संरक्षणमा आवाज उठ्दै जाओस्।

यो बहस पोखरीमा मात्र होइन, हाम्रा कलाकृति, खेतीपाती र जीवनयापनमै विस्तारित होस्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.