आधा परिवर्तनका लागि ५ वर्ष कुर्नुपर्ने भयो

अनुभूति/अनुभव


‘मिलन जी नमस्कार, जसरी पनि जित्नुपर्छ है’ म लगनमा घरदैलो गरिरहँदा पछाडिबाट कसैले बोलाउँदै भन्यो। पछाडि फर्केर हात मिलाउँदै, ‘हुन्छ, यसपालि हामीले जित्नैपर्छ’ भन्दै मुस्कुराएँ। आफूले बोकेको पर्चा दिएँ। उहाँले अब राजनीतिमा युवा आउनुपर्छ भन्दै सेल्फी खिच्नुभयो। आफ्नै क्षेत्रको मतदाता हो की होइन? भनेर बुझ्न प्रश्न गरें, ‘तपाई कहाँ बस्नुहुन्छ?’ ‘म लगनटोलमा बस्छु। हिजो मात्र अमेरिकाबाट तपाईहरूलाई भोट हाल्न आएको’ उहाँले उत्तर दिनुभयो। मलाई निकै खुशी लाग्यो। मैले दोहोराएर सोधें, ‘यहि चुनाव कै लागि आउनुभएको हो र ?’ उहाँले यही निर्वाचनलाई प्राथमिकतामा राखेर आफू आएको बताउनुभयो।

निर्वाचनको घर-दैलोमा हामीलाई उत्साहित गर्ने अनि हौसला थप्ने निकै घटनाहरू भए। हामीलाई देखेर चार-पाँच तलामाथि बसेका मतदाताहरू तल आएर शुभकामना दिनेहरूदेखि, हाम्रो घरदैलो कै दौरान हामीसँगै अभियानमा जोडिने साथीहरू अनि हामीलाई घरमै माथि लगेर खाजा खुवाउने मतदाताहरू कै मायाले हामीमा प्रत्येक पल उर्जा भर्थ्यो। काठमाडौंका केही भाग त परिचित थिएँ तर चन्द्रागिरी अनि नागर्जुंगका धेरै भागहरू हाम्रा लागि नयाँ थियो। मानिसहरूलाई बुझाउनै गाह्रो। तर धेरै घरहरूमा हामी पुग्नु अघि नै विदेशमा रहेका छोरा-छोरी अनि आफन्तले फोन गरेर हाम्रो बारेमा भनिसकेको कारणले केही हदसम्म हामीलाई सजिलो पनि भयो।

म त्यस्तो निर्वाचन क्षेत्रबाट निर्वाचन लड्दै थिएँ जहाँ न्युरोडदेखि धादिङको सीमानासम्म पर्थ्यो। भूगोल ठूलो थियो अनि समय कम थियो। ७० दिन पनि थिएन अनि हामीसँग ७० वर्षभन्दा बढीदेखि जरा गाडेका संगठनसँग चुनाव लड्नु थियो। हामीसँग संगठन थिएन तर आम नागरिकको सद्भाव थियो। त्यसकै आडमा जीवनको पहिलो निर्वाचनमा होमिएँ।

निर्वाचन लड्नु गाह्रो हुने रहेछ। झन् नयाँ संगठन अनि स्रोतसाधन बिना। आफैँ उम्मेदवार अनि आफैँ व्यवस्थापक। टोली पनि आफैँले बनाउन पर्ने भएकोले सुरूवाती दिनमा निकै गाह्रो भयो। सानो टोली थियो तर जति साथीहरू थिए, सबै एकदम इमान बोकेका। केही लिऊभन्दा पनि केही दिऊ भन्ने भावना बोकेका। एकदिन कमलेश्वर पाठक ( टोलीको नयाँ सदस्य ) अनि हामी चिया खादै थियौं। नवलपुरको यी भाई, विवेकशीलका सदस्य थिए तर सक्रिय थिएनन्। उम्मेद्वारी घोषणासँगै यिनी सक्रिय भए। चिया सकेपछि उसको फिक्का चियाको पैसा पनि हामीले तिर्यौं। त्यहीदिन बेलुका मलाई उसको संदेश आयो, ‘दाई, मलाई यसरी मैले खाएको खर्च तपाईले तिरेको मन पर्दैन। यहाँ म केही दिन आएको हुँ।’ हाम्रो चुनावी अभियान यस्तै आत्मबलमा टिकेको थियो। साथीहरू केही दिन चाहन्थें। साथीहरू खाना खान पनि मिलेसम्म घर नै जान्थें। तर, टोलीमा एउटै समस्या थियो। पूर्णकालीन साथीहरू थिएनन्। आफ्नो पसल अनि पढाई व्यवस्थापन गरेर बचेको समय निर्वाचन अभियानमा खटिन्थे। हामी पनि तिमीहरूको काम नै बिगारेर अभियानमा लाग भन्न पनि सक्दैन थियौं।

स्वभावतः कुनै पनि मानिस आफूलाई सत्तासँग जोड्न चाहन्छ। हामीले यो निर्वाचनमा पनि त्यही पायौं। मानिसहरू, आफ्नो दायराबाट निस्कन खोज्ने तर नसक्ने। मेरो टोलमा एकजना दाई हुनुहुन्छ। मलाई निकै माया गर्नुहुन्छ। उहाँ एमाले निकट हुनुहुन्छ। तर उहाँले मेरो प्रचार-प्रसारमा प्रत्यक्ष साथ दिनुभएन। किन? भनेर सोधेको, उहाँले यदि साथ दियो भने उहाँको बन्न लागेको २-३ वटा ठेक्का-पट्टाको काम रोकिन्छ भनेर आफू खुलेर लाग्न नसक्ने बताउनुभयो। त्यसैले मैले बेला-बखत बोल्ने अनि लेख्ने गरेको छु, ‘नेपालको सपना, हामी नेपालीहरूले नै हाईज्याक गरेका छौं’ उहाँ मात्रै होइन हाम्रै पार्टी कै केही साथीहरू समेत खुलेर लाग्न सकेनन्। उनीहरूले भौतिक रूपमा त्यो मानसिकतालाई चिर्न सकेनन्।

एकदिन माओवादीको एकजना कार्यकर्तासँग लामै छलफल भयो। मैले पुरानो नैकापको चौरमा उभिएर सोधें, ‘छातीमा हात राखेर भन्नुहोस् तपाईले तपाईको उम्मेदवार जित्यो भने हाम्रो ठाउँ विकास गर्छ अनि हाम्रो आवाज बन्छ भन्ने विश्वास छ ?’ उहाँले कुरा छल्न खोज्दा मैले फेरी आखाँमा आखाँ जुधाएर सोधें, उहाँले उत्तर दिन सक्नुभएन। हो, हामी नागरिक आफैँ पनि सत्तामुखी छौं।

तर, फेरी अन्य पार्टीका सदस्यहरू समेत हामीलाई भित्र-भित्र सहयोग गरें तर पर्दामा देखिन चाहेनन्। हामीले पनि अन्यथा लिएनौं। उहाँहरू बीसौं वर्षदेखिको आफ्नो संगठनको लगानीलाई दाउमा पार्न सक्नुहुँदैन थियो। पर्दा मै नदेखिए पनि पर्दा पछाडिको सहयोग पनि परिवर्तनको संकेत थियो। त्यसैले, हामीले यो निर्वाचनलाई हाम्रो आधा उपलब्धिको रूपमा लिएका छौं।

अभियानको दौरान केही रोचक घटनाहरू पनि घट्यो। दहचोकको माथि डाँडामा एउटा मात्र घर थियो। दिउँसो १२ बजेको थियो। कोही साथीहरू भने ‘एउटा घरमा पनि पर्चा दिन के यत्रो उकालो चड्ने?’ मैले साथीहरूमा मनोवैज्ञानिक उर्जा भर्नको लागि हैन जाउँ न भनें। हामी ठाडो उकालो उक्लेर एक्लो घरमा पर्चा पुर्याउन गयौं। घरमा एकजना दिदी हुनुहुँदो रहेछ। सानो बच्चा काखी च्यापेको। मैले सोधें, ‘दिदी, विवेकशील साझा सुन्नुभएको छ ?’ उहाँले पर्चा लिँदै ‘छ’ भन्नुभयो। मैले थपें, हामो चुनाव चिन्ह ‘तराजु’ हो नि। उहाँले फेरी ‘थाहा छ’ भन्नुभयो। यी दुवै उत्तर मेरो लागि अनपेक्षित थियो। मैले त्यो ठाउँ हामी पुगेको छौं भन्ने कल्पना पनि गरेको थिइन। हामीले आधा परिवर्तन गरिसकेको आभास भयो। उकालोले थाकेको सरिरमा पुरै उर्जा भरियो। हामीले फोटो पनि खिच्यौं। एकदिन एकजना आमाले रामकोटमा ‘मलाई एक किलो जेरी-स्वारी देउ, भोट तिमीलाई दिन्छु’ भनेको प्रसंग सम्झदा अहिले पनि हास उठ्छ।

धेरै ठाउँमा नेता अनि राजनितिक दल भनेपछि कुरै सुन्न नचाहने व्यक्तिहरू पनि भेट्यौं। धेरै ठाउँमा हामी माथि पनि शंका गरेको पनि पायौं। एकदिन त एकजना युवाले यो बाटो किन बनेन भनेर हामी माथि नै जाइ लाग्नुभयो। हामीले पहिले उहाँका कुरा सुन्यौं अनि हाम्रो बारेमा भन्यौं। उहाँले हाम्रो कुरा सुनेपछि हामीलाई साथ दिनुभयो। यो संवादपछि लाग्यो, मतदाताहरू बाटो त पछि, पहिले आफ्नो पीडा साट्ने अभिभावक खोज्दै छन्।

अभियानको दौरान धेरै क्लबहरू अनि समूहहरूसँग छलफल भयो, उहाँहरू हामीबाट क्लब सञ्चालनको लागि आर्थिक सहायोग चाहनुहुन्थ्यो अनि हामी त्यही दिन सक्दैन थियौं। हामी जितेपछि पनि दिन्छौं भन्न सक्दैन थियौं। हामीले संभवत उहाँहरूको सद्भाव पायौं, मत पाउन सकेनौं। सुकुम्वासी अनि दलित बस्तीको नाउँमा भोटको बार्गेनिङ गर्न केही ब्यक्तिहरूले फोन नगरेका पनि होइनन्, तर हामीले त्यो बाटो स्वीकार्न सकेनौं। मैले यो निर्वाचनमा एउटा दृश्य चाँही मज्जाले देखें। हरेक निर्वाचन क्षेत्रमा यस्ता व्यक्तिहरू हुन्छन् जुन ५०० जति भोटमा राज गर्छन् अनि निर्वाचनमा त्यही भोटको लागि राजनितिक दलसँग मोलमोलाई गर्छन् र आफ्नो स्वार्थ पूरा गर्छन्। हाम्रो अबको चुनौती यस्ता ‘छोटे डन’ लाई ठिक लगाउने नै हुनेछ। हामी आश्वासनको राजनीति गरेर चुनाव जित्ने बाटोमा हिड्न सक्दैन थियौं। हामी निर्वाचन जितेर राजनीति हार्न सक्दैन थियौं।

निर्वाचनको दिन, दिनभरी सबै बुथमा घुम्ने लक्ष्यसहित निस्कियौं। बिहान ७ बजे नै आफ्नो बुथमा गएर निर्वाचनको लागि लाइन बसें। बुथभन्दा केहि वरै कांग्रेस-एमालेका कार्यकर्ताले मतदानमा आएका केही मानिसहरूलाई मतदानस्थल अगाडि नै रोकेर आफ्नो पार्टीलाई भोट हाल्न भन्दै रहेछन्। केही कार्यकर्ताले बुढा-बुढीहरूलाई हलुवा-स्वारी समेत दिँदै लाइनसम्म ल्याउँदै थिए। काठमाडौंका केही बुथहरूमा घुम्दाको दृश्य यस्तै देखियो। मैले बुथमा रहेका हाम्रा साथीहरूलाई केही परे निर्वाचन अधिकृत अनि प्रहरीलाई भन्न भन्दै हिँडे। दिउँसोसम्म काठमाडौंमा धेरै थोरै मात्र भोट खसेको थियो। मलाई डर के थियो भने जति कम भोट महानगरबाट खस्छ त्यति नै हाम्रो भोट घट्छ।

कलङ्कीको एउटा बुथमा पुग्दा केही गाडीमा मान्छेहरू ल्याउँदै गरेको देखेरसँगैको अर्को दलको प्रतिनिधिसँग सोधें, कहाँबाट ल्याएको मान्छेहरू? उसले मलाई देख्यो र विवेकशील साझा भन्दै शुभकामना दिँदै भन्यो, ‘हेर्नुस् न मान्छेहरू भोट हाल्नै अल्छि गर्छन् त्यही भएर मतदातालाई सुविधा दिएको।’ मैले सोधें, ‘अनि एउटा उम्मेदवारलाई एउटा मात्रै गाडी होइन र ?’ उसले भन्यो ‘एउटा उम्मेदवारलाई एउटा गाडी त हो तर स्वतन्त्र उम्मेदवार त जति पनि बनाउन पाइन्छ नि, हैन त ?’ भन्यो। मैले बुझिन, उसले मलाई विस्तार मै बुझायो। ठूला दलहरूले सुविधा लिनको लागि ‘डम्मी उम्मेदवार’ उठाउने रहेछन्। मतगणना स्थलमा पनि ठूला दलहरूले केही पर्‍यो भने आफ्नो मत ठूलो बनाउन ‘डम्मी उम्मेदवार’ अनि तिनका डम्मी प्रतिनिधि राखेको देखें । निर्वाचनमा साम-दाम-दण्ड-भेद सबै प्रयोग भएको थियो। हामीले हेरेर बस्यौं। केही गर्न पनि सक्दैन थियौं नि, किनकी हामी त्यस्तो खेल मैदानमा थियौं जहाँ हामीलाई ‘फअल’ खेल्ने अनुमति थिएन अनि प्रतिस्पर्धीले जति पनि ‘फअल’ खेल्न सक्थे।

हामी रिङरोड बाहिरको बुथमा पुग्यौं, काठमाडौं बाहिरको दृश्य झन् त्यस्तै थियो। दहचोकको एउटा बुथमा पुग्दा बुथको केही मिटर वर भोज चलिरहेको थियो। एकातिर कांग्रेसको भोज अनि अर्को तिर एमालेको भोज। मतदाताहरू मतदान अघि खाएर जाने अनि मतदान सकेपछि फेरी खाने। साँच्चै चाड-पर्व जसरी नै मनाउने रहेछौं निर्वाचनलाई हामीले। त्यही अलि पर कलाकार दिपक राज गिरीसँग भेट भयो। उहाँहरू हाम्रै बारेमा कुराकानी गर्दै हुनुहुँदो रहेछ। हामी पनि एकैछिन वैकल्पिक राजनीति बारे गफ्फीयौं। चुनाव अघि केही दिन मात्रै प्रचार गरेको दहचोक अनि नैकापमा हामीले राम्रो माया पायौं। तीनथानाले पनि राम्रो माया गर्यो। रिङरोड बाहिर नै पहिलो चोटी पुगेको संगठन छोटो समयमा हामीले धेरै माया पायौं। तिनथानाबाट फर्कदै गर्दा हामीले बाटोमा एकजना हिड्न गाह्रो भइरहेको आमालाई लिफ्ट दियौं। आमा ७० वर्षभन्दा माथि कै हुनुहुन्थ्यो। मैले आमालाई गाडीमा सोधें, ‘आमा, विवेकशील साझा अनि तराजु सुन्नुभएको छ ?’ आमाले ‘छैन’ भन्नुभयो। मैले सोधें, ‘भोट फेरी रुख वा सूर्य मै हाल्नुभयो है ?’ आमाले ‘बाबु, म बुढी मान्छे, मलाई त बुहारीले ल्याएकी अनि बुहारीले नै बुथमा लगेर भोट हाली दिई मलाई थाहा छैन’ भन्नुभयो। म फेरी झस्किएँ। मैले धेरै बुढा-बुढीहरूलाई बाटोमा समातेर परिवारले बुथमा लाँदै गरेको देखेको थिएँ।

त्यहाँबाट सकेर फेरी स्युचाटार हुँदै रामकोट आएँ। प्रत्येक बुथको बाहिर हेर्दा लाग्थ्यो २-३ वटा पार्टीको कब्जामा छ। स्वतन्त्र अनि पार्टीको प्रतिनिधि बनेर बसेकाहरूको कारण मतदाताहरूलाई मनोवैज्ञानिक रूपमा कस्तो असर पर्यो होला? कहिलेकहीं त लाग्छ हाम्रो देश धेरै राजनीति भएर बिग्रिएको हो। म रामकोट हुFदै भिमढुंगा पुगें। त्यहाँका बुथहर” नजिक पनि भोज नै चलेको थियो। मलाई दिक्क लाग्यो। मैले सोचें, यो जमातलाई परिवर्तन कसरी गर्न सकिएला ? फेरी सोचें, विस्तारै परिवर्तन हुँदैछ। अब हामीले चित्रसँगै चरित्र पनि बदल्न सक्नुपर्छ। त्यो चित्र बदल्न हामीसँग ५ वर्ष हुनेछ। मैले लगभग मेरो नतिजा थाहा पाइसकेको थिएँ। म अर्को निर्वाचनको तयारीमा जुटिसकेको थिएँ। हामीले फर्केर डाडापौवामा आएर सबै मतदाताहरूलाई धन्यवाद दियौं। फर्केर आफ्नो टोल जैसीदेवल, ज्याबहाल अनि लगन फर्केर सबै टोलका साथीहरूलाई धन्यवाद दियौं।

मतगणना सुरू हुनै लाग्दा मलाई निर्वाचनमा खटिएका एकजना कर्मचारीले सोधें, ‘मिलन जी, कति जति मत ल्याउने अनुमान गर्नुभएको छ ?’ मैले भनें, ‘१० हजार जति त आउनै पर्ने हो।’ मतगणना सुरू भयो। उम्मेद्वारहरू अनि प्रतिनिधिहरू आतुर हुँदै थिए। मभित्र पनि डर अनि उत्साह जागेको थियो। ३-४ वटा मतदान केन्द्रको मतहरू मिश्रित गरेर गणना सुरू गरियो। पहिलो मतपत्र हेरियो, निर्वाचनमा खटिएका कर्मचारीले ‘तराजु’ भन्नुभयो। हामीलाई निकै खुशी लाग्यो। समृद्धि अनि विकासको पक्षको पहिलो आवाज हाम्रो थियो। दोस्रो ‘सूर्य’ आयो। तेस्रो ‘तराजु’ नै आयो। चौंथो ‘तराजु’ नै आयो। पाँचौं ‘रुख’ आयो। यसरी करीब ४६ हजार मत १८ घण्टा लगाएर गनियो। अनि हाम्रो मत ५ हजारको हाराहारीमा आयो। अन्तिम मतपरिणाममा हस्तास्क्षर गर्न आउँदै गर्दा फेरी त्यही कर्मचारीले मलाई हेरेर हाँस्दै, ‘पहिलो चोटी मै ५ हजार मत ल्याउनु धेरै राम्रो हो। बधाई छ तपाईलाई’ भन्नुभयो। ‘मैले मुस्कुराएर हाँस्दै भनें, ‘१० हजार सोचेको थिएँ, ५ हजार आएछ। आधा नेपालीलाई परिवर्तन गरियो। आधा परिवर्तनको लागि तपाई हामीले अर्को ५ वर्ष नै कुर्नुपर्ने भयो।’

(लेखक विवेकशील साझा पार्टीको तर्फबाट काठमाडौं ९ मा प्रतिनिधिसभा उम्मेदवार अनि सो पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ)

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.