डार्बिनिजम, नेपाली समाज र राजनीति


१. क्रम विकासको सिद्धान्तः

प्रसिद्ध विद्वान् वैज्ञानिक रिर्चड डकिन्स भन्छन्– ‘डार्विनको क्रम विकासको सिद्धान्तमा सम्पूर्ण मानव समुदाय बराबर छन्। कुनै एक, अर्को भन्दा सानो वा ठूलो, नयाँ वा पुराना छैनन्। संसारका सम्पूर्ण मानव एउटै श्रेणीका जीव हुन्।’

प्रकृतिमा जीवहरूको क्रमिक विकासको सम्बन्धमा विभिन्न वैज्ञानिकहरूले वर्षौदेखि खोज अनुसन्धान गर्दै आइरहेका छन्। यसमा वैज्ञानिकहरू चाल्र्स डार्बिन, लेमार्क, अल्फ्रेड रसेल, ह्युगो डि भ्रिजका विचारहरू उल्लेखनीय छन्।

अंग्रेज वैज्ञानिक चार्ल डार्विनले सन् १८५९ मा जातिको उत्पति नामको पुस्तक प्रकाशित गर्दै महत्वपूर्ण अवधारणाहरू अघि सारेका छन्। प्रत्येक सजीवमा अत्याधिक सन्तानोत्पादन गर्ने क्षमता भएको हुँदा सजीवहरूका सङ्ख्या अत्याधिक बढेर जान्छन्। यसबाट खान र बस्नको अभाव सृजना हुने हुदा सजीवहरू बाँच्नको लागि खान, बस्न, प्रजनन गर्न, रोग र वातावरणसँग निरन्तर संघर्ष गरिरहनु पर्दछ। संघर्ष गर्न सफल जीवहरू अर्को पुस्तामा जान सक्षम हुन्छन् भने संघर्ष गर्न नसक्ने लोप भएर जान्छन्। यो डार्बिनको बाँच्नको लागि संघर्ष सिद्धान्त हो।

डार्बिन थप्दछन्– संघर्षको क्रममा सजीव कति बाँच्ने भन्ने कुरा प्रकृतिले छनौट गर्दछ। बाँच्नको लागि आवश्यक गुणहरू विकास हुँदै जादा धेरै समयको अन्तरालमा सजीवमा नयाँ गुण देखा पर्दछन्। बढी उन्नतशील जीवको छनोट र कम उन्नतशील जीवको विनाश हुन्छ। यस प्रवृत्तिलाई प्राकृतिक छनोट भनिन्छ।

संघर्षमा विजयी बाँच्न सफल हुन्छन्। बाँच्न सफल सजीवका गुणहरू निरन्तर सन्ततिहरूमा सर्दै जाँदा धेरै वंशपछि पुर्खाहरू भन्दा फरक गुण भएका सन्तानको उत्पत्ति हुन्छ। यिनै सन्ततिहरूलाई नयाँ जातिको उत्पत्ति मानिन्छ।

उन्नाइसौँ एवं बीसौँ शताब्दिका विभिन्न वैज्ञानिकहरूले डार्बिनको विकासक्रमका सिद्धान्तमा आधारीत रही ‘नव–डार्विनवाद’को सिद्धान्त अगाडि सारे। यस सिद्धान्तमा जीवको विकासक्रमलाई क्रोमोजोम, डि.एन.ए वा जीनले नियन्त्रणमा राख्दछन् भनिएको छ। कुनै पनि एउटा मात्र क्रोमोजोम, डि.एन.ए वा जीनमा हुने परिर्वतनले उक्त जीवमा विविध आन्तरीक वा वाह्य परिर्वतनहरु ल्याउन सक्दछ। वातावरण मुताबिक क्रोमोजोम, डि.एन.ए वा जीनमा हुने परिर्वतनद्धारा जुन जीवमा सवल गुणहरु विकसित हुन सक्दछन् उनै जीव संघर्षमा बाँच्न सफल हुदछन्। निर्वलहरू अन्ततः अस्तित्वहीन भएर सिद्धिनेछन्। तथापि सबै जीवमा आफ्नो अस्तित्चको लागि संघर्ष गर्ने हुटहुटी भने निहित हुन्छ। यस सिद्धान्तलाई वैज्ञानिकहरू ई हेकेल, ए वीसम्यान, जे हक्स्ले, एस राइट, टी डोवजान्सकाई, जीजी सिम्प्सन, ई डब्लु मायर साथै जीएल स्टेवीन्सहरूले मान्यताका साथ व्याख्या गरेका छन्।

२. नेपाली समस्या आनुवांशिक वा राजनीतिक:

डार्विनका वैज्ञानिक सिद्धान्तहरु मानव समुदाय सामु कसरी लागु हुन्छन् भन्ने जीज्ञासाले धेरैलाई कौतुहल बनाइराखेको हुँदो हो। यस बारे केही बुझ्ने जमर्को गरौँ।

नेपाली अवस्थालाई डार्विनका विकासक्रमका सिद्धान्तमा आधारित रहि विश्व परिप्रेक्षबाट हेरौँ। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यु.एन.डि.पी)ले शिक्षा, स्वास्थ्य, प्रतिव्यक्ति आय जस्ता ईकाइहरू अवलोकन गरेर विश्वका लगभग सम्पूर्ण राष्ट्रहरूको मानव विकास सुचकांक प्रकाशित गर्दै आएको छ। यस सूचकांकमा १८८ राष्ट्रको बीचमा नेपाल हाल १४४ औं स्थानमा परेको छ। यो निकै कमजोर स्थान हो। नेपाल विश्वका १४३ देशहरूले गरेको बहुआयामिक विकास र उन्नति भन्दा पछि परेको छ। कयौँ वर्षदेखि नेपालको लगभग निरन्तर यही अवस्था रहिआएको छ। यसले नेपालीहरू विश्वका अर्वौ मानव समुदायभन्दा पिछडिएका र अविकसित रहेको अवस्थालाई जनाउँदछ।

नेपाल र नेपालीको अवस्था यति पछि रहनुको मुख्य दोष के होला?केवल राजनीतिक शासन व्यवस्थाहरुः शाह वंश, राणाकाल, पंचायत मात्र? वा पछिल्लो व्यवस्था प्रजातन्त्र पनि? अथवा माओवादी पार्टीले गरेको १० वर्षे लामो जनयुद्ध?

राष्ट्र विकासमा राजनीति शासन पद्धतिको प्रमुखता रहने कुरालाई नकार्न सकिँदैन। यद्यपि हाम्रो राष्ट्र, राष्ट्रियता, विकास अनि वौद्धिकता यति पछाडि पर्नुको कारण केवल राजनीति र शासन व्यवस्था मात्र पनि नहोला। द्रुत गतिमा कायापलट विकास गरिसकेका वा गरिरहेका धेरै राष्ट्रहरूको उदाहरण हामीसँग हुँदा काठमाडौं खाल्डोमा रही शासन गरेका शासकवर्गहरू हाम्रो यो अवस्थाको प्रमुख दोषी पात्र होलान्। राजनीतिक विश्लेषकहरूले भन्दै गर्ने २५० वर्ष लामो आधुनिक नेपालको इतिहासमा खड्केको कुशल देशभक्त र विकासवादी नेतृत्वको पनि अभाव होला।

चोरी औँलाले नेता र शासन पद्धतिलाई दोष देखाइरहँदा अन्य तिन औलाले आफुतिरै देखाइराखेको यथार्थ के हामीले नजरअन्दाज गर्न मिल्ला? टेलिभिजन संवाद कार्यक्रमका प्रस्तोता विजयकुमारले बारम्बार दोर्‍याई राख्ने एक शक्तिशाली विम्ब उक्ति ‘यथा जनता तथा राजा’अर्थात जस्ता जनता उस्तै नेता यस अवस्थामा याद हुन्छ। यो उक्ति वास्तविकताको नजिक छ।

प्रजातान्त्रिक राजनीतिक पद्धतिमा प्रत्येक जनतालाई नेतृत्व लिने बराबर अवसर छन्। देशमा रहेका साना–ठूला सबै पार्टीका नेतृत्ववर्गहरू नेपाली जनता नै हुन्। जनता जर्नादनबाटै चुनिएर पठाइएका हुन्। राजतन्त्रात्मक, राणाकालीन र पंचायती शासन व्यावस्थामा फरक परिस्थिति थियो। अब आएर राष्ट्रले कुशल नेतृत्व वा राजनेता पाउन नसक्नुमा मुख्य दोष जनतामै देखिन्छ।

अन्तर्राष्ट्रिय स्तरमा जुलियस सिजर, अशोक, अलेकजेन्डर द ग्रेट, इलिजावेथ प्रथम, बेन्जामीन फ्राङ्क्लिन, थोमस जेफरसन, नेपोलीयन वोनापार्ट, भीक्टोरिया, अब्राहम लिंकन, महात्मा गान्धी, जोसेफ स्टालीन, एडोल्फ हिटलर, माओ, विन्सटन चर्चील, देङ सिआओ पिङ, नेल्सन मण्डेला, उदयमान सी चिनफिङ जस्ता प्रभावशाली नेतृत्व वर्गको उदय जनता बीचबाटै भएर आफ्नो राष्ट्र र जनताहरुलाई संसारकै अग्र स्थानमा उभ्याउन सफल भइसकेका छन्।

हाम्रो परिवेशमा यसो हुन नसक्नु के राष्ट्रिय आनुवांशिक समस्या नहोला? खराबलाई असल ले चिर्नुनै क्रम विकासमा वंशाणु विशिष्टता हो। राम्रो थियो तर पछि पर्‍यो, राम्रो थियो तर अवसर प्राप्त गर्न सकेन भन्ने तथाकथीत तर्कहरुमा कुनै वैज्ञानिक तुक नदेखिएला। वैज्ञानिक तर्क खुबी नभएर सकेन भन्ने नै हुन्। हालसम्मको नेपालले कुशल राजनेता प्राप्त गर्न नसक्नुको मूल कारण कोही योग्य नभएर भन्ने नै होला।

अब बहसको अर्को पाटो उठाऔँ। कुशल, क्षमतावान्, दार्शनिक तथा नैतिक भएर नेपाली जनता मौलाउन नसक्नुको मुल कारण के होला? यसको मूल कारण शिक्षा हो। आधुनिक नेपालको स्थापना भएको २५० वर्ष बितिसकेको छ। नेपालको पहिलो विश्वविद्यालयको उमेर जम्मा ५८ वर्षको छ। राजा पृथ्वीनारायण शाहले एकिकरण गरे पश्चात् नेपालीहरू १९२ वर्ष लामो अवधी कसरी खर्च गरे होलान्? किन नेपाली वंशाणु बोकेका जो कोहिले त्यति लामो समयावधि सम्म पनि एक विश्वविद्यालय नेपाल भुमिमा स्थापना गर्न सकेनन्?

विश्वको परिदृष्यमा विश्वविद्यालय स्थापनाको इतिहास हजारौं वर्ष पुरानो छ। संसारको सबैभन्दा पुरानो विश्वविद्यालय तक्षशीला विश्वविद्यालय, जुन हालको पाकिस्तानको गान्धाहार नगरमा पर्दछ । यो ६०० वि.सि देखि ५०० ए.डिसम्म संचालनमा रहेको इतिहास छ। यस महान् विश्वविद्यालयमा ६८ फरक–फरक विषयमा अध्ययन–अध्यापन गराइँदो रहेछ।

बेबोलीयन, ग्रीस, सिरिया, चाइना जस्ता विभिन्न मुलुकहरूबाट शिक्षा आर्जन गर्न यहाँ विद्यार्थीहरू आउँदा रहेछन्। लगभग १०,५०० विद्यार्थीहरूलाई विविध शास्त्रहरू जस्तै– वेद, व्याकरण, भाषा, दर्शन, औषधि, चिरफार, धनुष, राजनीती, युद्ध, खगोल, लेखा, वाणिज्य, अभिलेखालय, गीत, संगीत, नृत्य साथै गणित जस्ता विषयमा गहन ज्ञान दिइँदो रहेछ। पूर्वीय समाजका प्रसिद्ध विद्धानहरु कौटिल्य, पाणिनी, जीवक, विष्णु शर्माहरूले यस विश्वविद्यालयमा रही प्राध्यापन गराउनु भएको इतिहास छ।

अर्को पुरानो विश्वविद्यालय नालान्द विश्वविद्यालय हालको भारतको विहार राज्यमा अवस्थित रहेछ । ५०० देखि १३०० ए.डि सम्म गरेर यो ८०० वर्ष चलेको इतिहास छ। विशिष्ट तवरले स्थापना गरिएको यस विश्वविद्यालयमा लगभग ३०० लेक्चर कक्ष, १०,००० विद्यार्थी र २०० प्राध्यापक रहेका थिए भन्ने कुरा विभिन्न संग्रहहरूमा पढ्न पाइन्छ।

यिनका अलवा यूरोप, अमेरीका साथै अफ्रिका महाद्धिपहरूमा समेत कयौँ विश्वविद्यालयहरू पूर्व कालमै स्थापना भएको इतिहास छ। उतिबेला देखिका धेरै विश्वविद्यालयहरू यी महाद्धिपमा अझै पनि संचालनमा रहिआएका छन्।

विश्व जमातले यसरी शिक्षामा फड्को मारिरहँदा नेपाली शासक तथा उक्त कालखण्डका जन अगुवाहरु शिक्षाको आवश्यकता प्रति अनविज्ञ हुनु र यो क्रम लामै कालखण्ड, लगभग आजका दिनसम्म पनि चलिरहनुमा नेपाली आनुवांशिक प्रवृत्ति नै बढी दोषी ठहरीएला। यसमा शासकीय उपेक्षातीतता पनि अछुतो नरहला।

हालसालै इन्जिनियरिङ्ग संकायका एक इजरायली प्राध्यापकसंग भलाकुसारी हुने मौका मिल्यो। नेपालको शिक्षा सम्बन्धी कुरा उठ्यो। उनले आडम्बरी शब्दमा भने– ‘नेपालको जनसंख्या लगभग ३ करोड पुग्दै छ। इजरायलको जम्मा ८० लाख छ। हालसम्म १२ जना इजरायलीले नोबेल पुरस्कार प्राप्त गरिसकेका छन्।’ उनले प्रश्नको भावमा मलाई कटाक्ष हाने– ‘आजसम्म कति नेपालीले नोबेल पुरस्कार जित्न सफल भएका छन्?’ म निरुत्तर भए। मेरो गहुँगोरो वर्ण कालो भयो। नोबेल पुरस्कार शिक्षाको उच्चतम बिन्दुको रुपक थियो। सायद हो पनि।

हामी लोपउन्मुख हुनु हुँदैन। विगतका गल्तीबाट पाठ सिक्दै अबको समयमा अस्तित्वका खातिर हर तरहका संघर्ष गरिनु पर्दछ। संघर्ष जीवनको अर्को नाम हो। संघर्ष हामी सबैले मिलेर गर्नुपर्दछ। प्रत्यकले गरिने संघर्षमा व्यक्ति स्वंय लाभान्वित हुन्छ नै, यसले समग्र समाज र राष्ट्रलाई नै लाभान्वित अवश्य गराउनेछ।

नयाँ पिढिमा पुरानाको तुलनामा सृजनात्मकता बढेको छ। यो क्रम जारी छ। सृजनात्मकताले हाम्रो तितो यथार्थलाई चिर्नेछ। विद्वान् अभि सुवेदिले भनेझैँ– विकासका लागि हाम्रा बाचाका विस्मृती ग्रन्थीलाई उपयुक्त शिक्षा र सृजनात्मकताले चिर्ने खुबी हामीमा पलाउनु पर्दछ। विकास अब गोहिको बाचा मात्र हुनु हुँदैन। विकास र हाम्रो अस्तित्वका लागि समग्र नेपाली जनता जुट्नु पर्दछ। जाग्नु पर्दछ।’

अर्को घटनाको स्मृती भयो। एकदिन शरीर रचना विज्ञानका एक जर्मन प्राध्यापकको सानिध्यतामा रहने समय जुर्‍यो। विभागीय प्रमुखको आग्रहमा उनीसंग फोटो खिचाइयो । नेपालीहरुको वीचमा जर्मन प्राध्यापक उभिए। फोटो खिचाइरहदा उनले भने– ‘म यूरोपमा मेरा साथीभाइबीच उभिँदा होचो देखिन्छु। यहाँ त सबैभन्दा अग्लो हुन पुगेँ।’ उनले हाँस्दै थपे– ‘सबैभन्दा सु–संगठित पनि।’

उनले यो भनिरहँदा नेपालको मानव विकास सुचांकको फेरी याद आयो। फेरी डार्बिनको विकासक्रमका सिद्धान्तको पनि याद आयो। प्रकृतिमाझ हामी यूरोपियन र अमेरिकन भन्दा किन होचा? आनुवांशिक विज्ञानका पिता ग्रेगर जोहन मेन्डल भन्दछन्– ‘अग्लो वा होचो हुनुमा जीन (वंशाणु) को भुमिका छ। अग्लो बनाउने जीन होचाको सामु प्रभावशाली छ।’ प्रकृतिविज्ञ डार्बिनको आशय छ– ‘होचो पनि लोपोन्मुख जातको सूचकांक हो।’

प्राकृतिक छनौटको सिद्धान्त अनुसार वातावरण अनुकूल गुणहरू विकास गर्दै लैजाने खुबी भएका सजीवलाई नै प्रकृतिले छनौट गर्दै जाने हो। सांसारीक पारिस्थितिक प्रणालीमा बाँचिरहन सक्ने सवल जीवबाट नै सवल नयाँ जातको उत्पति हुँदोरहेछ।

हामीमा अग्लो वनाउने जीन (वंशाणु) किन विकास हुन सकेन ?

उदाहरण स्वरुप प्रस्तुत गरिएको हाम्रो होचो कद, साथै अन्य गुणहरू संसारका अन्य राष्ट्रका मानवहरुभन्दा कमजोर हुदै गइरहेको स्थिती, गंभिरताका साथ केलाउन जरुरी छ। यसमा हाम्रो राजनितीक, सामाजिक एवं स्वयं (नेपाली वंशाणु)को दोष केलाएर तुरुन्त समाधान खोजीनु पर्दछ।

उदाहरण स्वरुपः शरीरमा पोषण तत्वको अभावमा होचो कद हुन पुगेको हो भने पोषण तत्व खाने व्यवस्था गरिनु पर्दछ । त्यस्तै कसरतको अभाव हो भने यो पनि परिपूर्ती गर्ने व्यावस्था गरिनु पर्दछ। यसो नहुँदा निहत्था लोपोन्मुख नेपाली जातीहरू राउटे र कुसुण्डा हाम्रा अगाडि रुपक उदाहरण भएर देखिएको अवस्था आम नेपालीमा पनि विश्व परिदृष्यमा लागु नहोला भन्न सकिँदैन।

अर्को तितो परिदृश्य हेरौं। भर्खरै मेरा एक नातेदार छोरी–ज्वाइँको नियन्त्रणमा अमेरिका घुमेर फर्केका रहेछन्। उनी उदास भावमा भन्छन्– ‘बाबु, हामी नेपाली साह्रै सोझा, कुइरे देखेपछि बोलु–बोलूँ लाग्ने, हात मिलाऊँ–मिलाऊँ लाग्ने, उनीहरूलाई केही सेवा गरुँ–गरूँ लाग्ने। तर उनीहरूको देशमा हामीलाई साह्रै वेवास्ता गरिँदो रहेछ। सम्मान त परैको कुरा उल्टो हेलाको भावले हेरिँदो रहेछ। ३ महिना अमेरिकाको बसाईमा मलाई आफू दोस्रो नभई तेस्रो दर्जाको वा कुनै पनि दर्जा नपाई अर्काको देशमा बसिरहेको शरणार्थी जस्तो पो लाग्यो।’

अन्तमाः

अस्तित्ववान् र समृद्ध हुने रहर कसलाई नहुँदो हो? यो हुटहुटी सबैमा छ। नेपाली परिवेशमा समृद्धता सम्भव नभएको पनि होइन, छ। यसका लागि असल शासकको आवश्यकता छदैछ। साथै जनता जर्नादन पनि निरन्तर कर्मठ हुनुपर्दछ । कर्म, समृद्धि र अस्तित्व परिपुरक छन्। समृद्धि र अस्तित्व गफले होइनन् अनवरत रुपमा गरिने सृजनात्मक कर्मले प्राप्त गर्न सकिने उपलब्धि हुन्।

हालको अवस्थामा नेपाल राष्ट्र नयाँ संघीय युगमा प्रवेश गरिसकेको छ। अवको समयमा कर्मठ नेपालीहरू दलीयकरणको धापबाट उम्कीई कर्ममा सर्मपित हुनुपर्ने नै सवैभन्दा ठूलो राष्ट्रिय आवश्यकता छ। जनता र नेताको खेल भेडाको बथान र थुमेमा निश्चित नगरौं। राजनीतिक दुष्चक्रबाट निस्किई स्वावलम्वीको चिनारी दिँदै आफ्नो अस्तित्वका खातिर प्रत्येक नेपालीले कर्मठ हातहरु बााँझा गह्राका माटो फोर्नमै लगाऔँ।

विद्धान रिर्चड डकिन्सले भने जस्तै ‘संसारका सम्पुर्ण मानवजाती एउटै श्रेणीका जीव हुन्’ भन्ने विकासक्रमका वैज्ञानिक मान्यतालाई अव सामाजिक, आर्थिक, शैक्षिक साथै सांस्कृतिक रुपमा पनि नेपालीले संसारसामू प्रमाणीत गरेर देखाऔँ।

के पहाडीया–के मधेशी? के आर्य–के मंगोल? के ब्राह्मण, क्षेत्रीय–के मतवाली? के काँग्रेस–के कम्युनिस्ट? विकासक्रमका आधारमा हामी सबै बराबर छौँ। डार्बिनका प्रत्येक विकासक्रमका सिद्धान्तमा सफल भएर संसारसामू अग्रस्थान कब्जा गर्न हामी सबै नेपाली मीलेर जागौँ। एक भई उठौं।

यसका लागि प्रतिनिधि तथा प्रदेश सभाका निर्वाचनबाट चुनिने नयाँ सरकारले नेपाली जनताको मर्म, उद्देश्य र गतिशीलता वुझेर नेपाल र नेपालीको अस्तित्व रक्षार्थ चालिने प्रत्येक संघर्षमा साथ दिउन्।वीट मार्दै गर्दा श्रद्धेय रत्नशमशेर थापाका शशक्त शब्दमा स्वरसम्राट नारायण गोपालले गाएका शब्दहरु मस्तिष्कमा प्रतिध्वनीत भइरहेका छन्– ‘जाग लम्क चम्क हे नौजवान हो, आफ्नै ढंगले नयाँ रंगले देश सिङ्गार्न यो…’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.