धर्म परिवर्तन हुने पार्टी परिवर्तन नहुने?


चितवनमा बस्ने एक जना दाईले भरतपुर प्रकरणमा मेरो एउटा प्रश्नको उत्तर दिदै भन्नुभयो,‘म त जन्मजात कांग्रेस हुँ भाई मैले चाहेर पनि मेरो हातबाट भोट रूखमा बाहेक अन्त जादैन। तर मलाई थाहा छ कांग्रेस उचित बाटोमा हिँडिरहेको छैन।’

न सिद्धान्त मिल्छ न बाटो मिल्छ माओवादीसँग चुनावी तालमेल गर्ने, त्यतिले पनि नपुगेर हार्ने अवस्था आएपछि मतपत्र च्यात्नेजस्तो कार्यलाई पनि ढाकछोप र बचाउ गर्ने पार्टीको मान्छे हुँ भन्दा तपाईँलाई अलिकति अफ्ठेरो लाग्दैन दाई भन्ने मेरो प्रश्नको जवाफ थियो त्यो।

दसैंमा गृह जिल्ला दाङ गएको बेला स्कुलसँगै पढेको साथीसँग राजनीतिक गफ भयो। देशको बिग्रदो अबस्थामा साथी निकै चिन्तित थिए। पढेलेखेका र राजनीति बुझ्ने उनलाई थाहा थियो देश कसले बिगार्‍यो भन्ने। उनी भन्थे ‘यो देश बिगार्ने जिम्मेवार दलहरू कांग्रेस, एमाले र माओवादी नै हुन् यसमा कुनै शंका छैन।’ मैले मौका छोपेर भनिहाले,‘अनि किन भोट चाहिँ सूर्यमा हाल्छौ त साथी?’  उनले लाचार जवाफ दिए-के गर्नु यार हाम्रो बाजे पनि एमाले, बाउ पनि एमाले, दाजुभाई छर छिमेक सबै एमाले छन्। म मात्र कसरि अर्को दलमा लाग्न सक्छु? बस्नुपर्छ भोलि यही समाजमा, गाह्रो छ साथी।’ उनले अगाडि थपे- ‘एमालेले चाहेको भए कांग्रेसका गलत कामको विरोध गर्दै अलगधार स्थापना गर्न सक्थ्यो तर कांग्रेस पछि जन्मेको एमाले पनि कांग्रेसले जे जे गर्‍यो त्यसैको फलो गर्‍यो। गलत काम गर्न दुई दलको प्रतिस्पर्धा चल्यो। त्यसपछि जन्मेको माओवादीले पनि आफ्नो धार पोलेर खायो अनि कांग्रेस र एमालेसँगै देश रित्याउने प्रतिश्पर्धामा आयो।’

के यो बिडम्बना होइन? यत्रो सुझबुझ भएको व्यक्तिले भोट चाही जानी जानी उही दललाई हालिरहेको छ।

बुटवलमा बस्ने मेरा अति प्रिय साथि केही वर्ष अघिसम्म राप्रपा नेपालमा आवद्ध थिए। २०६२/६३ पछि ३० लाख भारतीयलाई नागरिकता बाँडिएको कुरालाई बडो जोडतोड़का साथ दिनमा दुई तीन वटा स्टाटस सामाजिक संजालमा पोस्ट गर्थे। ठूला तीन दल र त्यसमा पनि नेपाली कांग्रेसले नै यो देश बिगारेको भन्ने उनको कथन हुन्थ्यो। एकाएक ती साथी नै नेपाली कांग्रेसमा प्रवेश गरेछन्। अहिले रूख चुनाव चिन्न बोकेर चुनावी अभियानमा हिँडेको तस्बिरहरू पोस्ट गर्छन्।

बडो उत्सुकता जाग्यो यो रहस्यको र मैले सोधेँ, ‘ए साथी यो के आश्चर्य हो? ३०लाख भारतीयलाई नागरिकता बाँड्ने पार्टी मै पो लागेको?’,  उनको उत्तर थियो- के गर्नु यार साना पार्टीलाई कसैले टेरेनन् कसैले कुरा नै सुन्दैनन् अब राजनीतिमै लागेपछि ठूलै पार्टीमा लाग्नु पर्दो रै’छ।’

यो खालको राजनीति छ हाम्रो नेपालमा। उद्धेश्यविहिन, सिद्धान्तविहिन, खाली राजनीति गर्न कै लागि राजनीति।

हिजो मात्र काठमाडौं कै एकजना स्थानीयलाई सोधेँ- यो पाली भोट कसलाई दिने मित्र?’ उनले सरल उत्तर दिए- ‘म त जसले जित्छ उसैलाई दिने हो।’

आज बिहान मेरो डेरामा दुध लिएर आउने दिदीलाई पनि सोधिहालेँ, ‘चुनाव आयो भन्छन् दिदी कसलाई दिने हो भोट?’

‘भाई हामी त खानदान नै माओवादी हसियाँ हथौडा जिन्दावाद!’, उनको जोशिलो उत्तर थियो। मैले सचेत गराउदै भनेँ, ‘अहिले त तालमेल छ नि फेरि तपाईँको पार्टी र एमालेको, सिधै हसिया हथौडामा भोट दिँदा त्यो भोट खेर जान सक्छ बुझेर हाल्नु होला।’ मैले भन्न खोजेको कुरा उनले बुझिन् कि बुझिनन् तर, तात्तातो उत्तर दिइहालिन् -अहँ अरुलाई त चान्सै छैन भाई।’

माथिका केहि प्रतिनिधि पात्र मात्रै हुन्। अधिकांश हामी जनता यस्तै छौं र यस्तै मतदाताले हाम्रा नेता छनोट गरिरहेका छन्। अनि नेताले काम गरेनन् भनेर हामी उनीहरुलाई गालि पनि गरिरहेका छौं। गहिरिएर सोच्ने हो भने हामी पनि नेता जस्तै विवादास्पद छौं। यस्तै राजनीतिले देशलाई जेलेको छ। यो गुजुल्टो फुकाउन नै २-३ दशक लाग्न सक्छ। त्यो पनि स्पस्ट उद्धेश्यसहितको राजनीतिक शक्ति देशमा उदाईहाल्यो भने मात्र। विकास त कहिले हो कहिले।

नेताहरूले लोकतन्त्र र प्रजातन्त्रको वास्तविक परिभाषा जनतामा लगेनन्। दल पिच्छे आफ्नो दलनै लोकतन्त्रको ठेकेदार हो। आफूलाई भोट दिने मात्र लोकतन्त्रवादी अरू जति सबै अर्कैवादी भनेर कू प्रचार गरियो। कार्यकर्तालाई जसरी हुन्छ भोटर बैंक खोल्ने जिम्मा दिइयो। भोटर बैंक खोले बाफत उनीहरुलाई पुरस्कृत गरियो। मानौं उनीहरू राजनीति होइन कुनै कम्पनी चलाईरहेका छन्। जति ग्राहक बनायो त्यति कमिसन!

हामी जनता यसकारण विवादास्पद कि हामी राजनीतिक पार्टीलाई आफ्नो धर्म ठानेका छौं जुन राम्रो होस् कि नराम्रो अपरिवर्तित हुन्छ। धर्म बरू यहाँ दिन दुई गुना रात चौगुना परिवर्तन भइरहेको छ। २०६२/६३ पछिको देशको उपलब्धि नै यही होर। बाटो- घाटो, बिजुली, टेलिफोन, हेल्थ पोस्ट, प्रहरी चौकी कुनै चिज पुग्न नसकेको ठाँउमा पनि बिदेशी धर्म मिसिनरी पुगेकै छन्।

हाम्रो आफ्नो दर्शन, धर्म, संस्कृति लोप हुँदैछ। अर्काको दर्शन अंगिकार गर्नेलाई आधुनिक भनिन्छ यहाँ। आफ्नो दर्शन बचाऊ गर्नेलाई पाखे भनिन्छ। यही एउटा उपलब्धि हो यी दलहरुले देशलाई दिएको।

जसरि धर्म परिवर्तन भइरहेको छ त्यही गतिमा देश विकास पनि भइदिएको भए र जनताको राजनीतिक सोँच पनि परिवर्तन भइदिएको भय सायद आज यो स्तम्भकारले यो स्तम्भ लेख्नु पर्दैनथ्यो होला। यहाँ त हुनुपर्ने चिज हुँदैन नहुनु पर्ने मात्र हुन्छ।

देश विकास त बरू राजाकै पालामा भएको थियो। धेरै जसो जिल्ला सदरमुकाम पुग्ने बाटो घाटो उहिले नै पुगेको हो। धेरै जसो जिल्लामा बिजुली र टेलिफोन उहिल्यै पुगेको हो। पूर्व-पश्चिम राजमार्ग उहिल्यै बनेको हो। अहिले ती सबै जिर्ण छन् मर्मत गर्न समेत अहिलेका नेताहरुले चाहँदैनन्।

ट्रली बस, साझा बस, चोभारको सिमेन्ट कारखाना, हेटौंडा सिमेन्ट कारखाना, उदयपुर सिमेन्ट कारखाना, बाँसबारी छाला तथा जुत्ता कारखाना, विराटनगर जुट मिल, गोरखकाली टायर कारखाना, शाही औषधि लिमिटेड, जनकपुर चुरोट कारखाना आदि उहिल्यै खुलिसकेका हाम्रा उद्योगहरु कहाँ र कस्तो अबस्थामा छन् अहिले? किन डुबाइयो? कसले डुबायो? कसले खोजेको छ कारण?

नेता आफ्नो स्वार्थमा देश बेच्न थालिसके कार्यकर्तालाई सबै थाहा छ तर पनि उसकै झोला बोकेकै छन्। उसकै गुनगान गाएकै छन् बरू हामी हाम्रो बाउलाई कसैले चोर डाँका भनेको सहन्छौ तर आफ्नो नेतालाई कसैले नराम्रो भनेको सहदैनौं। वास्तवमा भन्ने हो भने यो अन्धभक्त कार्यकर्ताले डुबाएको देश हो। अन्धभक्त जनताले डुबाएको देश हो। अन्धभक्तले कसैको हित गर्दैन। नेपाललाई कसरि गर्थ्यो?

प्रजातन्त्रमा बहुदलीय व्यवस्था हुन्छ। एउटा दलले देशको लागि कुभलो गर्दछ भने वा प्रतिबद्धता अनुरुप काम गर्न सक्दैन भने जनताले अर्कोलाई रोज्न सक्दन्। यो रोज्न पाउनु जनताको अधिकार मात्र होइन कर्तब्य पनि हो। जनताले नै यो वा त्यो बहानामा आफ्नै पुरानो दललाई निरन्तरता दिन चाहन्छन् भने त देश सिन्डिकेट तर्फ फस्छ र कहिले विकास हुँदैन। त्यस्तै हामी जनताको अर्को विवादास्पद बानी छ काठमाडौंका मेरा मित्र जस्तो ‘जसले जित्छ उसैलाई दिने।’ यदि जसले जित्छ वा जित्छ जस्तो लाग्छ उसैलाई दिने हो भने त पक्कै पनि पुराना ठूला दलले नै जित्छन्। उनीहरूको कार्य सम्पादन पनि ठीक भएन भन्ने, यी दलहरुले देश डुबाए पनि भन्ने अनि जसले जित्छ उसैलाई भोट दिन्छु भन्ने हाम्रो भनाइ नै बाझिएन र?

अब हामीले आँखा खोल्ने बेला आयो। मिठा मिठा घोषणा पत्र लिएर आउनेलाई भोट दिएर उनीहरुको देश डुबाउ अभियानलाई बैधानिकता दिने कि देश जोगाउन खोज्न खोज्ने? देश डुबाउने र जोगाउने कुरा निधारमा लेखिएको हुँदैन कसरि  थाहा पाउने भन्ने प्रश्न उठ्न सक्छ जुन स्वाभाभिक पनि हो तर यसको उत्तर पनि छ, कमसे कम वर्षौदेखि गलत काम गरेर प्रमाणित भइसकेकालाई थप मौका नदिउ। देशमा च्याउसरी नयाँ पार्टी पनि आएका छन्।  पुराना दलले राम्रो काम गर्दिएको भए पक्कै पनि यी च्याउ उम्रने थियनन्। यी च्याउलाई हेर्ने फुर्सद कसलाई हुन्थ्यो र? त्यसैले यी बर्खे च्याउ उम्रनुको अप्रत्यक्ष्य कारण पनि यिनै दल हुन्। यो सत्य हो र सत्यलाई स्वीकारौं।

पुराना दलमा आवद्द सबै तहका सबै नेता कार्यकर्ता खराब छन् भन्न खोजेको होइन। यीनै दलका मध्यम र तल्लो तहमा धेरै ईमान्दार कार्यकर्ता पनि छन्। तर बिडम्बना उनीहरुले कहिल्यै मौका पाउँदैनन्। पार्टीमा वर्षौदेखि एउटै व्यक्ति अध्यक्ष उही चुनाब लड्ने र प्रधानमन्त्री पनि हुने। एउटै व्यक्तिले २-३ दशक पार्टी र सत्ता कब्जा गर्ने तर, राष्ट्रहितमा कुनै काम गर्न नसक्ने आजको समस्या हो।

पार्टी भनेको साधन हो देश जोगाउने र विकाश गर्ने साध्य होइन। पार्टी हाम्रो धर्म पनि होइन जुन परिवर्तन गर्न हजार पटक सोच्न परोस्। बारम्बार नराम्रो गरेर प्रमाण पत्र झुन्ड्याई सकेकालाई फेरि पनि विश्वाश गर्नुभन्दा बरू सानै किन नहोस नयाँलाई मौका दिएर हेर्नु बुद्दिमानी होला कि!

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.