मेगा बैंक नेपाल लिमिटेडले बौद्धस्थित ‘गरीब तथा अनाथ बालिका गृह’लाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
शनिबार काठमाडौंमा आयोजित बैंकको आठौँ स्थापना दिवसका अवसरमा बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले अनाथ गृहका पूर्णमाया गुरुङलाई रकम हस्तान्तरण गरेका हुन् ।
वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत समाजसेवामा सक्रिय संस्थालाई बैंकले प्रत्येक वर्ष सो रकम सहयोग गर्दै आएको अध्यक्ष शाहले जानकारी दिए । देशका विभिन्न स्थानमा ४७ शाखा रहेको सो बैंकले ५८ स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा तथा ५० एटिएम सञ्चालन गरेको छ ।
‘हलोदेखि हाइड्रोसम्म’ भन्ने मुल नाराका साथ सात वर्ष अगाडि दुई अर्ब ३३ करोड रुपैयाँ चुक्ता पूँजीबाट स्थापना गरिएको सो बैंकको अहिले चार अर्ब ५८ करोड रुपैयाँ चुक्ता पूँजी पुगेको छ । दुई अर्ब ५७ करोड रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्ने तयारीमा रहेको संस्थाको टुरिजम डेभलपमेण्ट बैंकसँग एकीकरणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सो एकीकरणपछि बैङ्कको चुक्ता पूँजी नौ अर्ब ५० करोड रुपैयाँ पुग्ने बैङ्कले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।