भारतको माथिल्लो सदन राज्य सभाकी सदस्य मायावती दलितमाथि भएको दमनबारे आफूले बैठकमा बोल्न नपाएको भन्दै पदबाट राजीनामा दिएकी छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर प्रदेशकी पूर्वमुख्यमन्त्री तथा बहुजन समाजवादी पार्टी अध्यक्ष मायावतीले मंगलबार साँझ राज्यसभाका महासचिवलाई राजीनामा पत्र दिएकी छन्।
उनको राजीनामा स्वीकृत भने भएको छैन।
मंगलबार बसेको राज्यसभा बैठकमा मायावतीले उत्तर प्रदेशमा दलितमाथि भएको दमनका बारेमा बोलेकी थिइन्। राज्यसभाका उपाध्यक्षले उनलाई बोल्न ३ मिनेटको समय दिएका थिए। तोकिएको ३ मिनेटको समय सकिएपछि उपाध्यक्षले उनलाई रोकेका थिए। त्यसपछि उनी आक्रोशित भएकी थिइन्।
‘जब सत्ता पक्षले मलाई आफ्नो कुरा राख्ने समय पनि दिँदैन भने मैले राजीनामा दिनु नै ठीक हुन्छ,’ मायावतीले भनिन्।