७५ वर्षअघि हराएका एक दम्पत्तिको शव हिमनदीमा फेला परेको स्वीट्जरल्याण्डका मिडियाले जनाएका छन्।
७ छोराछोरीका आमाबुवा मार्सेलिन र फान्चाइन डुमोलिनले १९४२ अगस्ट १५ मा गाई दुहुन भालाइस क्यान्टोनको चन्डोलिन माथिको चौरमा गएका थिए।
‘हामी जीवनभरि कहिल्यै नरोकिएर उहाँहरुलाई खोजिरह्यौं, उहाँहरुको एकदिन अन्तिम संस्कार गर्न पाइन्छ भन्ने हामीलाई आशा थियो,’ उनीहरुकी कान्छी छोरी मार्सेलिन उड्री डुमोलिनले स्थानीय पत्रिका लाउसाने डेली ले माटिनसँग भनिन्।
७९ वर्षकी उड्रीले थपिन्, ‘७५ वर्षदेखि सुन्न आतुर यो समाचारले अहिले मलाई गहिरो शान्ति दिएको छ।’
स्थानीय प्रहरीले परिचय पत्रसमेत भएका ती दुई शव अघिल्लो साता २११५ मिटरको उचाइमा रहेको सान्फ्लुरोन हिमनदीको नजिक मजदुरहरुले फेला पारेको जनाएको छ।
शवको डिएनए परीक्षण हुन बाँकी रहेको प्रहरीले बताएको छ।
शवहरु एक अर्काको नजिकै पल्टिएका थिए, एकजना पुरुष र एकजना महिलाले दोस्रो विश्वयुद्धताका लगाइने लुगा पहिरिएका थिए।
दुबै शव हिमनदीमा पूर्ण संरक्षित थिए अनि उनीहरुका सामान पनि सँगै थिए,’ हिमनदी ३००० का निर्देशक बर्नहार्ड सानेनले भने, ‘हामीले त उनीहरु कतै खोंचमा परिसकेका होलान् भन्ने सोचेका थियौं। तर उनीहरु दशकौंसम्म त्यही रहेछन्। हिमनदीले बाटो बदलेपछि मात्र उनीहरुको शव देखियो।’
त्यतिबेला जुत्ता बनाउने काम गर्ने मार्सिलिन ४० वर्षका थिए भने ३७ वर्षकी उनकी श्रीमती शिक्षिका थिइन्।
‘पहिलो चोटी आमा बुवासँग त्यस्तो यात्रा निस्केकी थिइन्, सधैँ गर्भवती भइरहने उनी हिमनदीको अप्ठेरो पार गर्दै माथि जान सक्दिन थिइन्,’ कान्छी छोरीले भनिन्।
उनले बुवा आमा हराएपछि भाइबहिनी छुट्टिएको र आफू भाग्यले म आन्टीसँग बस्न पाएको बताइन्। त्यसपछि उनीहरु यही क्षेत्रमा बसेपनि अपरिचित जस्तै भए।
‘उहाँहरुको अन्तिम संस्कारमा म कालो लुगा लगाउने छैन, मलाई लाग्छ सेतो लुगा नै बढी सान्दर्भिक होला सेतोले आशाको प्रतिनिधित्व गर्छ नि जुन मैले कहिल्यै गुमाइनँ’, उड्रीले भनिन्।