मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न माग गर्दै महिला सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।
दबावमुलक अभियान सुरु गरेका उनीहरूले आइतबार पहिलो दिन ‘महिला सांसद समन्वय समिति’को नामबाट ज्ञापन पत्र बुझाएका हुन्।
महिला सांसद समन्वय समितिकीसमेत रहेकी प्रधानमन्त्री पत्नी आरजु राणाले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएकी हुन्।
महिला सांसदहरुको ज्ञापनपत्रमा मन्त्रिपरिषदमा ३३ प्रतिशत महिलाको व्यवस्था हुनुपर्ने, लैंगिकमैत्री कानुन निर्माण हुनुपर्ने, महिला हिंसाका घटना रोकिनुपर्ने लगायतका माग राखेका छन्।
महिला सांसदहरुले प्रमुख दलका सबै शीर्ष नेताहरुलाई पनि भेटेर ज्ञापनपत्र बुझाउने तयारी गरेका छन्।
महिला हक अधिकारका विषयमा गतिविधि सन्चालन गर्न कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, फोरमलगायत दलहरुका महिला सांसदहरुले ‘महिला समन्वय समिति’ गठन गरेका हुन्। समितिमा आलोपालो नेतृत्व गर्ने सहमतिअनुसार पहिलो अध्यक्ष कांग्रेसकी आरजु छिन्।