चीनले पहिलो पटक देशबाहिर आफ्नो सेनाको अखडा स्थापना गरेको छ।
पूर्वी अफ्रिकामा पर्ने सानो मुलुक जिबोटीमा चीनले आफ्नो सैन्य अखडा राख्न लागेको हो। समाचार संस्था सिन्ह्वाले चिनियाँ जनमुक्ति सेना बोकेको पानीजहाज मंगलबार जिबोटीका लागि प्रस्थान गरिसकेको जनाएको छ।
चीनले दुई देशको आपसी हितका लागि जिबोटीमा सैन्य अखडा राखिएको र त्यो अफ्रिका तथा पश्चिम एसियामा शान्ति स्थापना, मानवीय सहायता, सैन्य सहकार्य, नौसैनिक अभ्यास र उद्दारमा प्रयोग हुने बताएको छ।
सन् २०११ देखि चीनले सैन्य अखडा राख्न पूर्वाधार बनाउन थालेको थियो। अहिले गएको सैन्य टोली पनि सैन्य अखडा स्थापना गर्न सहयोग गर्ने बताइएको छ। यो सैन्य अखडाको औपचारिक उद्घाटन कहिले हुन्छ भन्ने चिनियाँ सञ्चारमाध्यमले खुलाएका छैनन्।
जिबोटी चीनको ‘वान बेल्ट वान रोड’ अभियानमा हस्ताक्षर गरेको देश हो। पछिल्लो समय चीनले जिबोटीमा धेरै आर्थिक लगानी गरेको छ। बन्दरगाह बनाउनदेखि अन्य क्षेत्रमा करिब १५ अर्ब डलर खर्च गरिसकेको छ।