सरकारले नयाँ मुख्यसचिव नियुक्ति टुंगो लगाउन नसकेपछि मुख्यसचिव डा. सोमलाल सुवेदी प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिँदै बिदा भएका छन्।
एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशकका रुपमा फिलिपिन्सको मनिला जाने अघिल्लो दिन मंगलबार मुख्यसचिव सुवेदीले सिंहदरबार छोडेका हुन्।
गत २०७२ साल साउन २० गते मुख्यसचिव भएका सुवेदीको कार्यकाल २०७५ सालसम्म छ । तर, उनी काज मिलाएर एडीबीको उपकार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्न फिलिपिन्सको मनिला जान लागेका हुन् ।
मुख्यसचिव बुधबार जाने निश्चित हुँदाहुँदै पनि सरकारले कसलाई मुख्यसचिव बनाउने भन्ने टुंग्याउन सकेन। प्रधानमन्त्री कार्यालयका वरिष्ठ सचिव रामकुमार आचार्य देशबाहिर रहेकाले अधिकारीलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको हो । स्वदेश फर्केपछि आचार्यले अर्का मुख्यसचिव नियुक्त नहुन्जेल निमित्त मुख्यसचिवको जिम्मेवारी सम्हाल्नेछन् ।
मंगलबार सचिवको बैठक आयोजना गरी मुख्यसचिव सुवेदीले आफूले गरेको कामबारे जानकारी गराउँदै सहयोगका लागि धन्यवाद दिएका थिए।
यसैबीच मंगलबार सिंहदरबारमा सचिवहरूले मुख्यसचिव सुवेदीको बिदाइ कार्यक्रम आयोजनासमेत गरेका थिए। बिदाइका क्रममा मुख्यसचिव सुवेदीले आफूले जानेको ज्ञानसीप जुनसुकै बेला देशका लागि दिन तयार रहेको बताएका थिए।
एडिबीमा जान लागे पनि सरकारले नै गरेको मनोनयन भएकाले सुवेदीले राजीनामा नदिइ त्यता जान लागेका हुन्।
२०७५ साउनसम्म मुख्यसचिवको कार्यकाल बाँकी रहेकाले अतिरिक्त समूहमा मुख्य सचिवको विशेष पद सिर्जना गरी उनलाई राखिनेछ भने सरकारले उनको ठाउँमा नयाँ मुख्यसचिव नियुक्त गर्नेछ ।
अब मुख्यसचिवको प्रतिस्पर्धीमा सचिव राजेन्द्रकिशोर क्षेत्री, नारायणगोपाल मलेगो, शान्तराज सुवेदी, शान्तबहादुर श्रेष्ठ, ङइन्द्रप्रसाद उपाध्याय, लोकदर्शन रेग्मी र शंकर अधिकारी छन् ।