सुनसरीको धरान उपमहानगरपालिकाको मेयर र उपमेयर दुबैमा एमालेले बाजी मारेको छ।
धरानसँगै दोसो चरणको चुनावमा एमालेले पाँच उपमहानगरपालिकासहित १५१ स्थानीय तह जितेर पहिलो पार्टी बनेको छ।
सोमबार साँझ सकिएको अन्तिम मतगणानामा धरानको मेयरमा तारा सुब्बा र उपमेयरमा मन्जु भण्डारी निर्वाचित भएका हुन्।
कांग्रेसका तिलक राई दोस्रो मत पाए भने माओवादीका अइन्द्र विक्रम बेघा तेस्रो स्थानमा रहे।
मेयरका उम्मेदवार सुब्बा २० हजार ९ सय ७५ मत ल्याएर विजयी भएका छन् भने उपमेयरकी उम्मेदवार भण्डारीले २१ हजार २ सय ५६ मत ल्याएर जित हासिल गरेकी छन् । मेयरका निकटतम् प्रतिद्वन्द्वी काङ्ग्रेसका तिलक राईले १६ हजार १ सय २ मत प्राप्त गरेका छन् भने उपमेयरकी निकटतम् प्रतिद्वन्द्वी काङ्ग्रेसकै श्यामा रेग्मीले १४ हजार ९ सय १७ मत प्राप्त गरेकी छन् । विभिन्न नौवटा दलसँग गठबन्धन गरेको माओवादी केन्द्रले भने धरानमा तेस्रो स्थानमा चित्त बुझाउनुपरेको छ ।
नौ दलीय गठबन्धनका तर्पmबाट माओवादी केन्द्रका मेयरका उम्मेदवार अइन्द्रविक्रम बेघाले ११ हजार १ सय ८० मत प्राप्त गरे भने गठबन्धनबाट उपमेयरका उम्मेदवार सङ्घीय समाजवादी फोरमका पारस काङमाङ राईले ५ हजार १ सय ८१ मत प्राप्त गरेका छन् । असार १५ गते साँझ शुरु भएको मतगणना १२ दिनपछि सोमबार साँझ सकिएको हो । धरानमा एमालेले १४ वटा वडामा प्यानल नै जित हासिल गरेको छ भने काङ्ग्रेसले ५ वटा वडामा प्यानल नै जितेको छ । माओवादी केन्द्र भने धरान–१७ मा मात्र प्यानल नै जित्न सफल भएको छ । अब गठन हुने नगर सभामा एमालेको बहुमत पुग्ने भएको छ । अधिकार सम्पन्न स्थानीय सरकारका रूपमा गठन गरिएको स्थानीय तहको निर्वाचन सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएपछिको पहिलो निर्वाचन पनि हो ।
उपमहानगरको २० मध्ये १४ वडा एमालेले जितको छ भने ५ मा कांग्रेस र एकमा माओवादी केन्द्र विजयी भएको छ ।
कांग्रेसले १, २, ५, १४ र १८ वडा जितेको छ भने माओवादी केन्द्रले वडा नं. १७ जितेको छ। बाँकी सबै वडा एमालेले नै जितेको छ।
तारा सुब्बाको टिमको विजयसँगै धरानमा एमालेले हृयाट्रिकसमेत गरेको छ। यसअघि २०४९ र २०५४ मा पनि एमालेले धरानको मेयर जितेको थियो।
२०४९ मा एमालेका ध्यानवहादुर राई र २०५४ मा एमालेकै मनोज मेन्याङ्बो मेयरमा निर्वाचित भएका थिए।