सरकारले सप्तरीका बाढीपीडितलाई टहरा निर्माण र जस्तापाताका लागि तत्काल प्रतिपरिवार २५ हजार रूपैया राहत उपलब्ध गराउने भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सप्तरीको बाढी प्रभावित क्षेत्रको अवलोकन गरी बाढीपीडितलाई तत्काल २५ हजार रूपैया उपलब्ध गराउने घोषणालाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको हो।
साथै सबै बाढी पीडितलाई सोही मापदण्डमा राहत उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ। त्यसैगरी पीडितको बसोबासको व्यवस्था गर्न १५ लाख रूपैया सहुलियत ऋणको व्यवस्था गर्नेबारे प्रधानमन्त्री देउवाले गरेको प्रतिवद्धतालाई पनि बैठकले अनुमोदन गरेको छ।
प्रतिनिधि सभाको सदस्य निर्वाचन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई व्यवस्थापिका संसद समक्ष पेश गर्ने निर्णय सरकारले गरेको छ। त्यसैगरी बैठकले प्रधानमन्त्रीको परराष्ट्र सल्लाहाकारमा दिनेश भट्टराईलाई नियुक्त गरेको छ।
सप्तरीमा स्थानीय महोली खोलाको बाढीले तिरहुत गाउँपालिकाको लोहजारा बाँध भत्काएपछि ६ सय भन्दा बढी घर परिवार डुवानमा परेका हुन्।