विगत पाँच वर्षदेखि पानी माग्दै आएका दक्षिणी धादिङका चेपाङ बिहीबार जिल्लाका सरकारी कार्यालयमा पानी माग गर्दै आफ्नो गाउँमा परेको बजेटबारे सोधखोज गर्न स्थानीय विकास अधिकारीको कार्यकक्षमा पुगे ।
स्थानीय विकास अधिकारी जीवलाल भुसालको कार्यकक्षमा प्रवेश गरी चेपाङ समुदायले आफूहरुलाई बचाइदिन माग गरेका छन् ।
प्रत्येक घरमा खानेपानी धारो हुनुपर्ने, बाह्रै महिना पोषणयुक्त खाना खान पाउने व्यवस्था मिलाउनुपर्ने, जनता आवास/पुनर्निर्माण कार्यक्रमबाट सबै घर बनाउने, बालकक्षालाई दरबन्दी बनाउनुपर्ने, सडक तथा बजार सहज पहुँच हुनुपर्ने, गाउँलाई चेपाङ पर्यटक क्षेत्र बनाउन पूर्वाधार निमार्ण गर्नुपर्ने र यी मागहरु पूरा गर्न वा हुन नसके प्रतिपरिवार आवाससहित १२ रोपनी खेतीयोग्य जमिन र खानेपानी, बिजुली बत्ती, स्कुल र सडक भएको ठाउँमा आफूहरुलाई एक वर्षभित्र बसाइँ सारिनुपर्ने माग गरेका छन् ।
गत वर्ष आफ्नो गाउँमा पानी माग गर्न आउँदा योजना परेको बताइएको थियो तर यस वर्ष रकम खर्च भइसकेर पनि गाउँमा काम नभएपछि गाउँको योजनाबारे सोधखोज गरेको प्रेमबहादुर चेपाङले बताए।
'खानेपानीको अभावमा तिर्खा मेट्ने गरी खानेपानी पनि खान पाएका छैनौं । बिहान–बेलुका नै अन्न खान मुस्किल छ । टाँकीको मुन्टा, सिस्नु, गिठ्ठा भ्याकुर लगायतका जङ्गली कन्दमूलको भरमा कति बस्न सकिन्छ र ?' फूलमाया चेपाङले भनिन्। बालबच्चा नुहाउन, घरआँगन सरसफाइ गर्न, हातखुट्टा धुन मात्र होइन तिर्खा मेट्ने गरी पानी पिउन नपाएकाले सरकारले गरिब चेपाङको माग पूरा गरिदिन माग गरे । रासस