नियमविपरीत सञ्चालित कीर्तिपुरका चार औषधि पसलमा आज सिलबन्दी गरिएको छ ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको विशेष बजार अनुगमनका क्रममा स्वीकृति नलिई सञ्चालन गरेको र म्याद नाघेका औषधि बिक्री वितरण गरेको पाएपछि ती पसलमा सिलबन्दी गरेको हो ।
सिलबन्दी गरिएका पसलहरुमा उग्रतारा–गुनिक पोलिक्लिनिक एन्ड डायग्नोसिष्ट सेन्टर, ओरल डेन्टल प्रालि, नवीन फर्मा र रिना मेडिकल हल कीर्तिपुर रहेका छन्। सिलबन्दी गरिएका ती चारवटै पसललाई दिएको निर्देशन पालना गरी तीन दिनभित्र विभागमा आउन निर्देशन दिएको छ ।
अनुगमन अधिकृत ढुण्डीराज पोखरेल, मोहन पुडासैनी र विष्णुप्रसाद सुवेदीसहितको तीन टोलीले आज माछामासु, औषधि र यातायात क्षेत्रको अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा त्रिपुरेश्वरमा १९ वटा सार्वजनिक यातायातका साधनलाई कारबाही गरी लिएको बढी भाडा यात्रुलाई नै फिर्ता गरिएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए।
यसैगरी जोरपाटी, कमलबारी र तीनचुलीका आठ वटा माछामासु पसललाई सरसफाइ र प्यान दर्ता गर्न निर्देशन दिई सात दिनभित्र विभागमा आउन निर्देशन दिएको छ । उपभोक्ताको हितलाई ध्यानमा राखी गत जेठ २३ गतेदेखि विभागले बजारमा विशेष अनुगमन सुरु गरिएको छ । रासस