कतारमा आइपरेको संकटको मार अब पाल्तु जनावरमा पनि परेको छ। साउदी अरबले कतारका नागरिकलाई उनीहरूका ऊँट र भेडा साउदीबाट हटाएर आफ्नै देश लैजान आदेश दिएको छ।
यो आदेशसँगै साउदीमा चरनका लागि जनावर लैजाने कतारका नागरिक र जनावर समस्यामा परेका छन्। आफ्नो देशमा पर्याप्त चरन क्षेत्र नभएकाले कतारका धेरै नागरिकले आफ्ना ऊँट तथा भेडा साउदी लगेका छन्।
कतारका सम्बन्धित विभागका अधिकारीका अनुसार करिब १५ हजार ऊँट र १० हजार भेडालाई साउदीको सीमा पार गरी कतार लगिसकिएको छ। कतारमा यस्ता जनावरका लागि अस्थायी शिविर बनाइएको छ जहाँ खाना र पानीको व्यवस्था गरिएको छ।
यही महिना साउदी अरबसहित केही खाडी मुलुकले कतारमा नाकाबन्दी लगाउँदै आवागमनको बाटो बन्द गरेका थिए। कतारमाथि अतिवादलाई बढावा दिन मद्दत गरेको आरोप उक्त देशहरूले लगाएका छन्। कतारले भने यी आरोप झुटा भएको बताएको छ।
जबसम्म यी जानवरका लागि उपयुक्त क्षेत्रको व्यवस्था हुँदैन तबसम्म यी अस्थायी शिविर संचालनमै रहने कतारको नगरपालिका र पर्यावरण मन्त्रालयले जनाएको छ। ती जनावरका मालिकले आफूहरू यस्तो राजनीतिक कारणमा पर्न नचाहेका कारण दुःखी भएको बताएका छन्।