विषालु च्याउ खाएपछि ज्यान गुमाएका रामपुर नगरपालिका–३ गैलुकका मृतकको परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । दर्शन ठकुरी समाज र विजयपुर ठकुरी दर्शन समाज, रामपुरले मृतकका परिवारलाई आर्थिक सहयोग गरेका हुन् ।
दर्शन ठकुरी समाज रामपुर–५, भम्बकले विषालु च्याउ खाएर ज्यान गुमाएका परिवारलाई ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । समाजका अध्यक्ष टुकबहादुर सेनले मृतकका आफन्त जितबहादुर मल्ललाई सो रकम हस्तान्तरण गरे । मृतकको परिवारमा केही राहत मिलोस् भन्ने मनसायले सो रकम हस्तान्तरण गरिएको अध्यक्ष सेनले बताए।
त्यस्तै, विजयपुर ठकुरी दर्शन समाजले २० हजार रुपैयाँ सहयोग गरेको छ । समाजका सचिव हुमबहादुर शाहीले उपचार खर्च सहयोग बापतको रकम मृतकका परिवारलाई हस्तान्तरण गरे।
गत महिना घर नजिकैको जङ्गलबाट खोजेर ल्याइएको विषालु च्याउ सेवनबाट १२ जना बिरामी परेकामध्ये पाँचजनाको उपचारका क्रममा ज्यान गएको छ भने सातजना उपचारपछि अहिले घर फर्किएका छन् । रासस