नेपाल सरकारको स्वामित्वमा बनारसको ललिताघाट परिसरमा गैरकानुनीरुपमा निर्मित संरचना हटाउन उत्तरप्रदेश सरकारसँग नेपाल सरकारले आग्रह गरेको छ।
भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायले आज त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथलाई लखनउमा भेटेर त्यस्तो आग्रह गरेका हुन्। उक्त परिसरमा दुई सय वर्षअघि निर्मित नेपाली शैलीका ऐतिहासिक स्मारक छन् ।
त्यसअवसरमा उनीहरूबीच संस्कृति, पर्यटन, सीमा क्षेत्रका पूर्वाधार तथा दुई देशबीच सतह र हवाईमार्गबाट सम्पर्क विस्तार, सिमाना व्यवस्थापन, बाढी नियन्त्रण एवम् जल व्यवस्थापनबारे विचारविमर्श भएको नयाँ दिल्लीस्थित नेपाली राजदूतवासले जनाएको छ ।
काठमाडौँ/पोखरा, बाराणसी/लखनउ/गोरखपुरका साथै दुवै देशका प्रमुख सांस्कृतिकस्थललाई सिधा हवाईमार्गबाट जोड्ने र पर्यटन प्रवद्र्धन गर्नेबारेमा पनि उनीहरूबीच छलफल भएको थियो ।
मुख्यमन्त्री आदित्यनाथले नेपालले प्रस्तुत गरेका समस्या समाधानमा सघाउने आश्वासन दिएको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै राजदूत उपाध्यायले उनलाई अनुकूल समयमा नेपाल भ्रमण गर्न आमन्त्रणसमेत गरेका छ । रासस
*
सच्याइएको