ललितपुरको जाउलाखेलस्थित चिडियाखानाबाट स्थानान्तरण गरेर चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका दुईवटा अर्ना मरेका छन् ।
गएको माघ महिनामा चिडियाखाना र कोसी टप्पुबाट १५ वटा अर्ना स्थानान्तरण गरिएको थियो । चिडियाखानाबाट ल्याइएको एक जोडी अर्ना मरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए।
“भाले अर्ना अर्का जङ्गली भालेसँग जुधेर मरेको हो, पोथी बिरामी भएर मरेको हो,” उनले भने। अब यहाँ १३ वटा अर्ना बाँकी छन् ।
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले पोथी अर्ना गएको बिहीबार र भाले एकहप्ता अघि मरेको बताए । प्राकृतिक दुर्घटना, रोगको प्रकोपलगायत कारणले वन्यजन्तु मासिनसक्ने हुँदा वंश संरक्षण गरी सङ्ख्या वृद्धिका लागि यहाँ अर्ना स्थानान्तरण गरिएको थियो ।
गएको माघ १४ गतेदेखि २७ गतेसम्म यहाँ १५ अर्ना ल्याइएको थियो । कोसीटप्पु वन्यजन्तु आरक्षबाट १२ र चिडियाखानाबाट तीन वटा अर्ना ल्याइएको थियो । कोसीटप्पुबाट दुई भाले र चिडियाखानाबाट एउटा भाले ल्याइएको थियो । चितवनको सौराहास्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टरको क्षेत्रफलमा खुलाखोर बनाएर अर्ना राखिएको छ । रासस