लमजुङमा स्थानीय तह निर्वाचनका उम्मेदवारले चुनावी खर्च बुझाउन सकेका छैनन् ।
खर्च विवरण बुझाउन निर्वाचन कार्यालयले दिएको समय सकिँदा पनि उम्मेदवारले खर्च विवरण बुझाउन नसकेका हुन् ।
जिल्ला निर्वाचन कार्यालयकाअनुसार हालसम्म तीनजना उम्मेदवारले मात्र अपूरो चुनावी खर्च विवरण बुझाएका छन् । नेपाली काँग्रेसका दुई र स्वतन्त्रका एक गरी तीनजना उम्मेदवारले मात्र बिल भरपाई बिनाको चुनावी खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसीप्रसाद तिमिल्सिनाले जानकारी दिए।
‘निर्वाचन सकिएको एक महिनाभित्र सबै उम्मेदवारले चुनावी खर्च विवरण निर्वाचन कार्यालयमा बुझाउनुपर्ने हुन्छ’,तिमिल्सिनाले भने,‘अहिलेसम्म जम्मा तीन जनाको मात्र विवरण आएको छ, त्यो पनि अपुष्ट छ।’
खर्च विवरण बुझाएका तीन उम्मेदवारले निर्वाचन कार्यालयले दिएको फारममा खर्च उल्लेख गरेको तर बिल भने उपलब्ध नगराएको बताए। ‘सबै खर्च अडिट हुनसक्छ, त्यसैले हामीले बिल भरपाईसहित खर्च विवरण माग गरेका छौँ, तर कसैले पनि खर्च बिल पेस गर्नुभएको छैन’ उनले भने।’
चुनावी खर्च बुझाउनेहरुमा सुन्दरवजार नगरपालिका वडा नं. ८ का अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार गोपाल बहादुर कुँवर तथा काँग्रेसबाट दुधपोखरी गाउँपालिका वडा नम्वर ५ की महिला सदस्य पदका उम्मेदवार सुकमाया गुरुङ र निशा गुरुङ छन्।
जिल्लामा विभिन्न तहका ३९१ पदका लागि एकहजार भन्दा बढी उम्मेदवार थिए । निर्वाचन आयोगले तोकिदिएको अधिकतम रकम भन्दा बढी खर्च भएकाले उम्मेदवारलाई विवरण बुझाउन कठिनाई भएको बुझिएको छ ।
लमजुङमा पहिलो चरणअन्तर्गत वैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन सकिएको एक महिनाभित्र चुनावी खर्च विवरण बुझाउन जिल्ला निर्वाचन कार्यालयले सबैमा आग्रह गरेको थियो ।
बिल भरपाईसहित बनावटी विवरण बुझाउन झन्झटिलो भएकोले अधिकांश उम्मेदवारले खर्च विवरण बुझाउन ढिलो भएको अनुमान गरिएको छ।