पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आगामी माघ महिना सम्ममा तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्।
इलाम सदरमुकाममा आज बिहान संचारकर्मीसँग कुराकानी गर्दै नेता खनालले स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन जसरी भएपनि तोकिएकै समयमा सम्पन्न गर्न सरकारलाई आग्रह गरेका छन्। चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ फड्को मार्ने र त्यसको नेतृत्व एमालेले नै गर्ने बताए।
“निर्वाचनपछि मुलुक आर्थिक समृद्धि र विकासतर्फ उन्मुख हुन्छ”, नेता खनालले भने, “आर्थिक समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक छ ।” पहिलो चरणको निर्वाचनको नतिजाले एमालेकै जित सुनिश्चित गरेको बताउँदै उनले समग्र देशको विकासका लागि एमालेलाई मतदाताले भोट दिनेमा आफू विश्वस्त रहेको विचार व्यक्त गरे।
जिल्लाको विकास निर्माणमा आफूले स्थानीयतहदेखि केन्द्रसम्म पहल र प्रयास गरेको विचार व्यक्त गर्दै उनले लोकतन्त्रको सुदृढीकरणका लागि आर्थिक समृद्धि आवश्यक रहेको उल्लेख गरे।
हत्या, हिंसा र आन्दोलनको युग समाप्त भएर अब मुलुक नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै अब आर्थिक समृद्धितर्फ अघि बढ्न इलामबाटै अभियान सुरुवात गर्नुपर्ने बताए।
पर्यटनको अनेकौँ सम्भावना बोकेको पूर्वको यस जिल्लालाई देशकै नमुना बनाउन नेकपा एमालेले पहल थालेको समेत उनको भनाइ थियो । रासस