असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकी एक दलित महिला उम्मेदवार बन्नबाट वञ्चित भएकी छन्।
बाह्रदशी गाउँपालिकाबाट दलित महिला सदस्यको उम्मेदवारी दर्ता गराएकी रीना दर्जी उम्मेदवार बन्नबाट वञ्चित भएकी हुन् । नौ महिना कम उमेर भएकाले दर्जीको उम्मेदवारी रद्द गरिएको बाह्रदशीका निर्वाचन अधिकृत बाबुराम राईले जानकारी दिए। उम्मेदवार बन्न २१ वर्ष पूरा हुनुपर्ने प्रावधान छ ।
त्यस्तै, जिल्लामा आठ नगरपालिका र सात गाउँपालिकाबाट तीन हजार ३६६ जनाले मनोनयन दर्ता गराएकामध्ये मङ्गलबार २३ जनाले उम्मेदवारी फिर्ता गरेका छन् । भद्रपुर नगरपालिकामा चारजनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले जानकारी दिए।
यस्तै, मेचीनगर, कनकाई र अर्जुनधारा नगरपालिकाबाट एक/एक, गौरादहमा दुई, शिवसताक्षीमा छ जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् । त्यस्तै, बाह्रदशी, झापा, कमल गाउँपालिकाबाट एक/एक र बुद्धशान्तिमा पाँचजनाले उम्मेदवारी फिर्ता गरेको सम्बन्धित निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।
बिर्तामोड तथा दमक नगरपालिका तथा हल्दिबारी र कचनकवल गाउँपालिकाबाट कसैको पनि उम्मेदवारी फिर्ता भएको छैन । निर्वाचन तालिकाअनुसार मङ्गलबार बिहान ८ देखि ११ बजे उम्मेदवारी फिर्ताका लागि समय निर्धारण गरिएको थियो । त्यस्तै, मङ्गलबार नै अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएको छ । रासस