जिल्ला समन्वय समिति तनहुँ स्थानीय विकास अधिकारीविहीन भएको छ ।
यसअघिका स्थानीय विकास अधिकारी बद्रीप्रसाद तिवारी प्रधानमन्त्रीको निजी सचिवालयमा सरुवा भई जानुभएपछि तनहुँ स्थानीय विकास अधिकारीविहीन भएको हो ।
असारको २ गते तिवारी सरुवा भई त्यसतर्फ लागेपछि जिल्ला समन्वय समितिमा यो स्थिति आएको हो । असारका बेला सम्पन्न भएका आयोजनाको रकम भुक्तानी लिन उपभोक्ता र ठेकेदार आउने गरे पनि स्थानीय विकास अधिकारी नहुँदा समस्या परेको स्रोतले बतायो ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट अञ्जन न्यौपाने स्थानीय विकास अधिकारीको रुपमा तनहुँमा आउने जिल्ला समन्वय समितिका लेखापाल अनिल गोदारले बताए।
न्यौपाने यसअघि पनि शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा रहँदा काजमा चार महिना तनहुँमा स्थानीय विकास अधिकारीको रुपमा आएका थिए।
पाँच म्यादी प्रहरीले राजीनामा दिएःयसैबीच, पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि नियुक्त भएका तनहुँका म्यादी प्रहरीमध्ये पाँच जनाले राजीनामा दिएका छन् ।
पाँचजना म्यादी प्रहरीले राजीनामा दिएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमेशराज जोशीले बताए। घरायसी समस्या र विदेश जानुपर्ने कारण देखाउँदै उनीहरुले राजीनामा दिएका जोशीले बताए।
सुरुमा ५५ दिनका लागि नियुक्ति दिइएको म्यादी प्रहरीका लागि सरकारले पछि २० दिन थप गरेको थियो । तनहुँमा ७८८ जना म्यादी प्रहरी नियुक्त भई निर्वाचनमा खटिएका थिए ।
तनहुँका म्यादी प्रहरी कामप्रति लगनशील, इमान्दार र कर्तव्यनिष्ठ पाइएको बताइएको छ । अन्य म्यादी प्रहरी अहिले पनि जनपद प्रहरीसँग सहकार्य गरी शान्ति सुरक्षामा खटिरहेका छन् । रासस