वर्षौंदेखि खोलाको धमिलो पानी पिउन बाध्य रामपुर नगरपालिका–८ भुजात, सानो बगैँचाका स्थानीयवासीले अहिले सफा पिउने पानी उपभोग गर्न पाएपछि खुसी भएका छन् ।
बस्ती नजिकै पानीको धारा, मूल, कुवा, इनार नहुँदा यहाँका स्थानीयवासीले खोलामा बगेर आएको पानी पिउन बाध्य थिए।
स्थानीयवासीले घरघरमा अर्थ सङ्कलन गरेर बस्तीदेखि करिब चार किलोमिटर टाढा रहेको मूलको पानीलाई व्यवस्थित गरेर सबैका घरघरमा पानी आएपछि यहाँका स्थानीयवासीमा खुसीयाली छाएको छ ।
खोलामा बगेर आएको फोहर पानीले स्वास्थ्यमा प्रतिकूल असर पारेपछि चेतनाको विकास हुँदै जाँदा यहाँका स्थानीयले आफ्नै लगानी र जनश्रमदानमा खानेपानी योजना निर्माण गरेका हुन् ।
यहाँका ४७ घरधुरीका स्थानीयवासीले एकलाख २० हजार रुपैयाँको लागतमा योजना निर्माण गरेर घरघरमा खानेपानी उपभोग गर्न थालेको स्थानीयवासी सरोज अधिकारीले जानकारी दिए।
पहिले खानेपानीको अभावमा टाढाटाढासम्म गाग्री बोकेर पानी खोज्न बिहानभरको समय बिताउनु पर्दा घरायसी कामकाजमा समस्या आउने गरेको शान्ति विकको भनाइ छ । अहिले घरमै पानी आएपछि धेरै सहज भएको उनी बताउँछन्।
फोहर दूषित पानी पिउनु हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि खानेपानीको वैकल्पिक उपाय नहुँदा वर्षौंसम्म खोलाको पानी पिउन बाध्य भएको स्थानीय उमाकान्त खनालले बताए । रासस