दोश्रो चरणको निर्वाचनमा देशका विभिन्न भागमा जनप्रतिनिधी निर्विरोध निर्वाचित भएका समाचार प्राप्त भएका छन् ।
पाल्पाको निस्दी गाउँपालिका–३ झिरुबासमा दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन्।
नेकपा एमालेबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी कुमारी विक निर्विरोध निर्वाचित भएकी हुन्।
आइतबार भएको उम्मेदवारको मनोनयनको दर्ता क्रममा दलित महिला सदस्य पदमा उनको मात्र उम्मेदवारी आएको र उनीविरुद्ध कसैले उजुरी नदिएपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको सहायक मतदान अधिकृत कल्पना अर्यालले जानकारी दिइन्।
त्यस्तै ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ लिवाङको दलित महिला सदस्य पदमा नेपाली काँग्रेसकी लछिमाया विश्वकर्माको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएकी छन्।
नेपाली काँग्रेसबाट लछिमायाको बाहेक अरु कसैको उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिएका छन्।
बस्नेतले भने, “उहाँबाहेक अरु कसैको पनि उम्मेदवारी परेन र दाबी विरोध पनि परेन ।” लछिमाया जिल्लाको पहिलो निर्वाचित जनप्रतिनिधि बनेकी छन्।
उक्त वडामा काँग्रेसबाहेकका दलले दलित महिला उम्मेदवार नपाएपछि काँग्रेस निर्विरोध भएको हो ।
तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–१, पौठाकमा नेपाली काँग्रेसकी दलित महिला सदस्य उम्मेदवार विजुलीमाया शङ्कर निर्विरोध निर्वाचित भएकी छन्।
आइतबार भएको उम्मेदवारी मनोनयनमा उनको एकल उम्मेदवारी परेको थियो । सो पदमा अरु कसैले पनि उम्मेदवारी नदिएको र दाबी विरोध पनि नपरेकाले शङ्कर निर्विरोध निर्वाचित भएकी मेन्छ्यायेम गाउँपालिकाका निर्वाचन अधिकृत प्रकाश आचार्यले बताए।
सो वडामा एकमात्रै दलित घरधुरी भएकाले शङ्करको एकल उम्मेदवारी परेको हो । यसपालिको स्थानीय निर्वाचनमा शङ्कर जिल्लाकै पहिलो जनप्रतिनिधिको रुपमा समेत चयन भएकी हुन्।
कानुनीरुपमै हरेक वडाबाट एकजना दलित महिला निर्वाचित हुने व्यवस्था भएपछि वर्षौंदेखि उत्पीडन, दमन र विभेद सहेर बसिरहेको दलित समुदायका महिला नेतृत्वमा पुग्दैछन् ।
दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका ४३ वडामध्ये बाँकी ४२ वडामा ११६ जना दलित महिला चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । रासस