प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको काकडभिट्टाबाट नेपालमै पहिलो पटक रेल कुदाउने बताएका छन्। दमकस्थित आम चोकमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले काकडभिट्टाबाट पहिलो पल्ट रेल कुदाउने भन्दै त्यसको पहिलो स्टेसन दमक हुने बताएका हुन्।
उनले दमकमा ५ सय ४३ फिट अग्लो र १६ तलाको भ्यू टावर बनाएर दमकसहित पूर्वाञ्चलको अवलोकन गर्ने बताएका छन्।
‘२० हजार घर बनाएर बाढ्ने हाम्रो योजना थियो तर, सरकार ढल्या,’ उनले भने,‘अहिले कुरा मात्र गर्ने र काम नगर्ने सरकार आएको छ, एमालेले बाटो, पुल, रंगशाला, औधोगिक क्षेत्र बनाउने योजना थियो तर ढल्यो।’
अब एमाले मात्र मुलुक र मुलुकबासीको एक मात्र साहारा भएको भन्दै एमालेका उम्मेद्वारलाई जिताउन आग्रह गरे।
‘आउँदो चुनाव पहिलेको नगरपालिकाको चुनाव नभएर स्थानीय सरकारको हो त्यसैले एमालेले तपाईहरुको सरकार बनाउने भएकाले एमालेलाई जिताउन अनुरोध गर्छु,’ ओलीले भने।
सुकुम्बासी आयोग एमालेले सरकारले बनाएको स्मरण गर्दै ओलीले दमकलाई मुलुककै नमूना सहर बनाउने उद्घोष गरे। ‘दमक बनाउन कति पैसा चाहिन्छ? हामीसँग निजी उद्योग व्यवसायीहरू छन् डराउनु पर्दैन।’
चुनावी सभालाई सम्बोधन गर्न झापा आएका ओली गृहनगरमा ४ दिन सम्म रहने कार्यक्रम छ।