उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले मानव ज्ञान, विवेक सिर्जना गर्न र समाजमा शिक्षाको उज्यालो फैलाउन कलाकारको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा आज यहाँ आयोजित सातौँ राष्ट्रिय ललितकला प्रदर्शनीको उद्घाटन गर्दै उनले कलाकारको हरेक सिर्जनाले समाजमा रहेका मानव जातिमा सूचनात्मक सन्देश प्रवाह गर्न मद्दत पुग्ने बताए।
मन्त्री श्रेष्ठले मौलिक नेपाली कलाकृतिले अन्तर्राष्ट्रिय जगत्मा समेत देशको प्रतिष्ठा बढाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले स्वदेशी कलाकारका कलाकृतिलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्वन गर्न आफ्नो संस्था सक्रिय रहेको बताए।
कार्यक्रममा कलाकारिता क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विभिन्न महानुभावलाई सम्मान गरिएको थियो । अरनिको राष्ट्रिय लालितकला प्रज्ञा सम्मानबाट दुर्गा बराल र रवीन्द्र ज्यापू पुरस्कृत भए । पुरस्कारको राशि जनही एक लाख रुपैयाँ र सम्मानपत्र छ ।
त्यस्तै, राष्ट्रिय ललितकला पुरस्कारअन्तर्गत आधुनिकतर्फ कृष्ण लामा, परम्परागत चित्रकलातर्फ समुन्द्र सिंह श्रेष्ठ, आधुनिक मूर्तिकलामा दिलन मर्हजन, हस्तकलामा डिल्लीराज शाक्य, लोककलातर्फ कमला सुतिहार तथा कार्टुनमा रवीन्द्र मानन्धर पुरस्कृत भए । उनीहरु हरेकले ६० हजार रुपैयाँ प्राप्त गरे।
त्यसैगरी, विशेष पुरस्कारअन्तर्गत परम्परागत चित्रकला, आधुनिक चित्रकला, मूर्तिकलामा विशेष योगदान पुर्याउने रमेश शाक्य, देवेन्द्र गुरुङ, कृष्णगोपाल गारु, रेमनी मण्डल, हरि महर्जन कञ्चन तामाङलगायत सम्मानित भए। उनीहरु हरेकले२५ हजार रुपैयाँ प्राप्त गरे।आजदेखि सुरु भएको उक्त चित्रकला प्रदर्शनी यही असार २० गतेसम्म सञ्चालन हुनेछ । रासस