नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले नेकपा एमालेको ढिपीका कारण स्थानीय तहको निर्वाचन तीन चरणमा गर्नुपरेको बताएका छन्।
रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उनले पहिलो चरणको चुनावमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रवादलाई चर्को रुपमा उठाएको तर काँग्रेस त्यो स्तरमा नओर्लेको बताए। असार १४ मा हुने निर्वाचनमा काँग्रेस ६० प्रतिशत स्थानमा विजयी हुने दावा पनि उनले गरे।
त्यस्तै एमालेका नेता आनन्द पोखरेलले तराईमा हुने स्थानीय तहको निर्वाचनमा ५१ प्रतिशत स्थानमा एमाले विजयी हुने दावा गरे। मधेसी जनताको मागअनुसार संविधान संशोधन गर्ने कार्यमा एमालेले कुनै हालतमा समर्थन नगर्ने पनि उनले बताए।
नेकपा माओवादी केन्द्रका नेता रामनारायण विडारीले नेपाली जनताले धर्मनिरपेक्षता र सङ्घीयताको पक्षमा मतदान गरेर संविधान कार्यान्वयन गर्ने र यसमा जुनसुकै पार्टीले जिते पनि आफूहरुलाई मान्य हुने बताए। मधेसी जनताका मागलाई सम्बोधन गर्ने माओवादी अडान यथावत् रहेको पनि उनले स्पष्ट पारे । रासस