होमस्टेका समस्या बुझेर समाधानका लागि हातेमालो गर्ने उद्धेश्यले गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) पोखराले गण्डकी अञ्चलका आधा दर्जन सामुदायिक होमस्टेको अध्ययन भ्रमण गरेको छ । उसले तनहुँका चार, गोरखा र स्याङ्जाका एक–एक होमस्टे अनुगमन गरेको हो ।
भिटोफका अध्यक्ष तारानाथ पहारी नेतृत्वको टोली भर्खरै तनहुँको बन्दीपुृर गाउँपालिकामा सञ्चालित बन्दीपुर सामुदायिक होमस्टे, कोरिखा सामुदायिक होमस्टे र बिमलनगर सामुदायिक होमस्टे घुम्यो । त्यसैगरि तनहुँकै रानागाउँ, गोरखाको पसलाङ र स्याङ्जाको पित्लेक देउराली होमस्टे अनुगमन गर्यो ।
तनहुँको पुरानो सदरमुकाम बन्दीपुर बजारमा सञ्चालित बन्दीपुर सामुदायिक होमस्टे, स्याङ्जाको वालिङ नगरपालिका–५ मा अबस्थित पित्लेक देउराली सामुदायिक होमस्टे र तनहुँको भानु नगरपालिका–४ मा अबस्थित राना गाउँ भाल्डाँडा होमस्टे स्थापित गन्तव्य हुन् । कोरिखा र बिमलनगर होमस्टे भर्खरै खुलेका हुन् ।
अध्ययन अनुसार १२ वैशाख २०७२ को भुइँचालोबाट क्षतिग्रस्त गोरखा नगरपालिका–४ मा अबस्थित पसलाङ गाउँ पुनः निर्माणको चरणमा छ । गाउँलेहरु टहरामा बस्दै आएका छन् । पुनःनिर्माण भएका केही घरमा होमस्टे गराउन सुरु भैसकेको व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर रानामगरले बताए । गाउँ प्रबेशद्वारको द्रब्य शाह चौतारी छेउमा तिनै शाहको सालिक स्थापना गर्ने तयारी भैरहेको छ ।
डाँडामा अबस्थित बन्दीपुर सामुदायिक होमस्टेमा पाहुना खचाखच भेटिए । होमस्टेकि अध्यक्ष दिलकुमारी रानाका अनुसार बन्दीपुर आन्तरीक पर्यटकको आकर्षण केन्द्र बन्दै गएको छ । त्यसैगरि बन्दीपुर बजारबाट एक घन्टा पदयात्राको दुरीमा अबस्थित कोरिखामा गएको पुस ११ गते होमस्टे उद्घाटन गरिएको छ ।
त्यहाँ गुरुङका आधा दर्जन घरमा होमस्टे गराइने गाउँका अगुवा लिलबहादुर गुरुङले बताए । कोरिखामा अग्र्यानिक स्वाद पाइन्छ ।
बन्दीपुर बजार मुन्तिर पृथ्वी राजमार्गको किनार बिमलनगरमा मरस्याङदी आमा बचत तथा ऋण सहकारी लिमिटेडले पनि नयाँ वर्ष २०७४ देखि होमस्टे सञ्चालनमा ल्याएको छ ।
होमस्टेका लागि गाउँका १६ घरमा पूर्वाधार बन्दैछ । त्यसमा एक घर नेवारको हो भने बाँकी मगरका । हाल ८ घरमा होमस्टे गराइन्छ, बाँकीमा धमाधम पूर्वाधार बनिरहेको होमस्टेकि अध्यक्ष सीता थापाले बताइन् ।
त्यसैगरी राना गाउँ पर्यटकको पर्खाइमा छ । त्यहाँ एशियन फोरमको सहयोगमा विसं २०७१ देखि मगर समुदायका ११ घरमा होमस्टे गराउन थालिएको हो ।
अग्र्यानिक गाउँको चिनारी बनाएको पित्लेक देउराली गाउँमा विसं २०६८ देखि नै होमस्टे गराइन्थ्यो । तर, दर्ता गरेर औपचारिक रुपमा विसं २०७२ मा मात्रै सुरु गरिएको होमस्टेका अध्यक्ष महेश गुरुङले बताए ।
ग्रामीण पर्यटन विकासमा कोरियाबाट फर्केका युवा भुपेन्द्र गुरुङ, तेजेन्द्र गुरुङका साथै स्थानीय पत्रकार तिलक गुरुङ जस्ता युवा जुर्मुराएका छन् । ‘हामी पित्लेकलाई नमुना गन्तव्य बनाउँछौं’, भुपेन्द्रले भने ।
भिटोफ अध्यक्ष तारानाथ पहारीका अनुसार अध्ययन गरिएका सबै गाउँलेले अतिथि सत्कार तालिम, होमस्टे गाउँको भ्रमण र मार्केटिङका लागि सहयोग मागेका छन् । ‘हामी यी होमस्टेहरुमा तालिम, व्यवसायीको भ्रमण, होर्डिङ बोर्ड निर्माण लगायत काममा सहयोग पु¥याउने छौं’, पहारीले भने, ‘स्थानीय निकायमा जनप्रतिनिधि आइसकेको अबस्थामा अब हामी उनीहरु र पर्यटन बोर्डसँग मिलेर काम गर्नेछौं ।’