निर्वाचन आयोगले आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदातालाई मतपत्रमा सहीरुपमा कसरी मत सङ्केत गर्ने भन्ने विषयलाई प्राथमिकता दिई मतदाता शिक्षा कार्यक्रम अघि बढाएको छ ।
गत वैशाख ३१ गते भएको पहिलो चरणको निर्वाचनको अनुभवबाट पाठ सिकेर मतदाता शिक्षा कार्यकर्तालाई प्रत्येक घरमा पुगेर आफूले दिएको शिक्षाबारे प्रतिवेदन पेस गर्न आयोगले खटाएको छ ।
सदर मत प्रतिशत बढाउन तथा बदर मत प्रतिशत घटाउने दोस्रो चरणको निर्वाचनलाई लक्षित गरेर आयोगले मतदान हुन तीन दिनअघि असार ११, १२ र १३ गते मतदाता परिचयपत्र वितरण गर्ने स्थानमा सक्कली मतपत्र प्रदर्शनमा राख्ने व्यवस्था पनि गरिने छ ।
पहिलो चरणको निर्वाचनमा प्रारम्भिक आँकडाअनुसार २ देखि ३ प्रतिशतको हाराहारीमा मतपत्र बदर भएको अनुमान छ।
निर्वाचनसँग सम्बन्धित कानुनी व्यवस्था, मतदाता शिक्षाको कमी र ठूलो मतपत्रका कारण बदर मतको सङ्ख्या बढ्ने देखिएको छ ।
आयोगका सहसचिव नवराज ढकालले मतदाता शिक्षाका लागि पहिलो चरणमा प्रयोग भएका उपायका अतिरिक्त साङ्गीतिक र नाटकीय प्रस्तुतिका अतिरिक्त सडक नाटकको पनि आयोजना गरिने बताए।
स्थानीय भाषाभाषीको सघनता भएका स्थानमा स्थानीय भाषामै मतदाता शिक्षासम्बन्धी सूचना, सन्देश र जानकारी दिने व्यवस्था मिलाइएको जानकारी दिँदै उनले सामुदायिक सङ्घसंस्था, गैरसरकारी संस्थासमेतलाई परिचालन गर्नेगरी संयुक्त राष्ट्रसङ्घीय प्रणालीसँग सहकार्य पनि गरिएको जानकारी दिए।
नमुना मतपत्रका माध्यमबाट नमुना मतदानका साथै पर्चा, पम्प्लेट, रेडियो, टेलिभिजन, पत्रपत्रिकाका माध्यमबाट पनि सघनरुपमा मतदाता शिक्षालाई अघि बढाउने बताउँदै सहसचिव ढकालले नागरिक समाजसँगको अन्तक्रिया र राजनीतिक दलसँगको संवादलाई पनि जोड दिइने बताए।
दोस्रो चरणको निर्वाचनमा ९० लाख ९७ हजार ५५७ मतदातालाई मताधिकार छ भने त्यसका लागि आयोगले ११ हजार ८३३ मतदान केन्द्रमा सामाजिक परिचालन, महिला स्वयम्सेविका र सामुदायिक विद्यालयका शिक्षक शिक्षिकालाई मतदाता शिक्षा कार्यकर्ताका रुपमा परिचालन गरेको छ । रासस