चुनावी प्रचारप्रसारका क्रममा नेकपा (एमाले)का कार्यकर्ताको आक्रमणबाट खोटाङमा नेपाली काँग्रेसका एक कार्यकर्ता घाइते भएका छन्। दुई पार्टीबीचको विवादपछि बुधबार राति एमाले कार्यकर्ताको आक्रमणबाट हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १७ वर्षीय अर्जुन राउत घाइते भएका हुन्।
एमाले कार्यकर्ताको आक्रमणका कारण घाइते भएका राउतको आँखा तथा ढाडमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताए। घाइते राउतको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि जिल्ला अस्पताल दिक्तेल लैजाने तयारी गरिएको आफन्तले बताएका छन्।
राउतमाथि आक्रमण गर्ने एमाले कार्यकर्ता हलेसी तुवाचुङ नगरपालिका–७ सल्लेका धनकुमार भुजेललाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको प्रनाउ प्रधानले बताए । घटनाको विषयमा थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
यता, आफ्ना कार्यकर्तामाथि निर्घात कुटपिट भएको भन्दै काँग्रेसले आपत्ति जनाएको छ। एमालेले गलत मनासायबाट कुटपिट गरेको भन्दै काँग्रेस हलेसी तुवाचुङ नगरपालिकाले आपत्ति जनाउँदै आज विरोध जुलुस निकालेको छ।
काँग्रेसले घाइतेको उचित उपचार र कुटपिटमा संलग्नलाई हदैसम्मको कारबाहीको माग गर्दै इप्रका, हलेसीमा एक घन्टा धर्ना दिएको छ।
हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा स्थानीयवासीको घरमा पार्टीको झन्डा राखेको विषयमा काँग्रेस र एमालेबीच विवाद भएको थियो । रासस