तीन नम्बर प्रदेशका नवनिर्वाचित नगर प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूको अभिमुखिकरण कार्यक्रम बिहीबार धुलिखेलमा सुरू भएको छ। उपप्रधान एवम संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले कार्यक्रम उद्घाटन गरेका हुन्।
स्थानीय तहका नवनिर्वाचित पदाधिकारीलाई संवैधानिक तथा कानुनी प्रावधान, उनीहरूका जिम्मेवारी तथा अधिकारबारे जानकारी गराउन कार्यक्रम आयोजना गरिएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ। कार्यक्रममा तीन नम्बर प्रदेशका ११८ स्थानीय तहका २३६ नवनिर्वाचित जनप्रतिनिधि सहभागी भएको मन्त्रालयका प्रवक्ता रूद्रसिंह तामाङले जानकारी दिए।
कार्यक्रममा मुख्यसचिव सोमलाल सुवेदी, सचिव दिनेश थपलिया, स्थानीय तह पुनर्संरचना आयोगका अध्यक्ष बालानान्द पौडेल लगायतका प्रशासक तथा विषय विज्ञले अभिमुखिकरण गराउने छन्। तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा संघीय प्रणाली र स्थानीय तह, स्थानीय शासन व्यवस्थापन सञ्चालन, स्थानीय वित्त व्यवस्थापन, पूर्वाधार विकास तथा मापदण्ड लगायतका विषयमा अभिमुखिकरण हुने प्रवक्ता तामाङले जानकारी दिए।
उद्घाटन कार्यक्रममा बोल्दै मुख्यसचिव सोमलाल सुवेदीले नवनिर्वाचित जनप्रतिनिधिलाई आर्थिक अनुशासनमा ध्यान दिँदै योजना बनाएर अघि बढ्न सुझाव दिए। संविधानले स्थानीय तहलाई धेरै अधिकार दिएको भन्दै उनले यो अधिकार जोगाउने दायित्व नवनिर्वाचित जनप्रतिनिधिको भएको बताए।
'स्थानीय तहलाई संविधानले उल्लेख्य अधिकार दिएको छ,' उनले भने, 'यसलाई जोगाउन तपाईंले काम गर्नुपर्छ। तपाईंले ठीकसँगले काम गर्न सक्नु भएन भने अहिले दिएको अधिकार फिर्ता हुनेअवस्था पनि आउन सक्छ।' उनले इन्डोनेसियाको उदाहरण दिँदै स्थानीय तहको अधिकार फिर्ता हुनसक्ने अवस्थाबारे सचेत गराएका थिए।