क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगअन्तर्गत आज राती बार्सिलोना आफ्नो पुरानो प्रतिद्वन्दी युभेन्ट्सविरुद्ध मैदानमा उत्रिदैछ। राती साढे १२ बजेदेखि इटालीको टुरिनमा सुरु हुने क्वाटरफाइनलअन्तर्गत पहिलो लेगको खेलमा घरेलु युभेन्ट्सलाई जहाँ बार्सिलोनाको तीन स्ट्राइकर लिओनल मेसी, लुइस सुआरेज र नेइमारलाई रोक्ने हुनेछ, त्यही भ्रमणकारी क्याटलान क्लबका अगाडि दुई प्रभावशाली अर्जेन्टिनी स्ट्राइकर गोञ्जालो हिग्विन र पाउलो डायबालाको प्रहार निस्तेज पार्नु हुनेछ। यसै सिजन नेपोलीबाट युभेन्ट्स लागेका हिग्विनले २७ गोल गरिसकेका छन्। डायबालाको खेलबाट प्रभावित बार्सिलोना केही समयदेखि उनलाई आफ्नो क्लबमा भित्र्याउने अभियानमा छ। तर, त्यो सफल हुन सकेको छैन्।
सन् २०१५ को च्याम्पियन्स लिगको फाइनलपछि युरोपका यी दुई सफल क्लब पहिलो पल्ट च्याम्पियन्स लिगमा भिड्न लागेका हुन्। त्यतिबेला बर्लिनमा भएको फाइनलमा बार्सिलोना ३–१ ले विजयी हुँदै पाँचौ पल्ट उपाधि घर भित्र्याउन सफल भएको थियो।
युभेन्ट्सका अनुभवी गोलरक्षक जियानलुइगी बुफोन २ वर्ष अगाडिको त्यो घटनालाई अहिले बिर्सन चाहन्छन्। उनले इटालीको पत्रिकालाई दिएको अन्तर्वार्तामा आफूले २०१५ को फाइनलको भिडियो फुटेज हेरेको तर अहिले टिममा थुप्रै परिवर्तन आइसकेको दावी गर्छन्।
सन् २०१५ मा इटालियन क्लबमा आन्द्रेयी पिर्लो, कार्लोस टेभेज र पाउल पोग्बाजस्ता अनुभवी खेलाडीको जमघट थियो। अहिले यी ३ जनै खेलाडी युभेन्ट्समा छैनन्। तर, क्लबमा युवा खेलाडीको जमघट भएका कारण युभेन्ट्सले सकारात्मक नतिजाको आशा राखेको छ। आज राइट ब्याक डानी अल्भास आफ्नो पूर्व क्लब बार्सिलोनाविरुद्ध उत्रिँदै छन्। उनी गत सिजन बार्सिलोनाबाट इटालियन क्लबतर्फ लागेका थिए। युभेन्ट्सका अर्का स्ट्राइकर मारियो माडेजुकिक चोटबाट फर्किने सम्भावना पनि प्रबल छ।
युभेन्ट्सले आफ्नो घरेलु मैदानमा लगातार २१ खेल अपराजय बिना खेलेको छ। त्यसैले आजको खेलमा बार्सिलोनाका लागि घरेलु टोलीलाई पराजित गर्नु कुनै कडा परीक्षाभन्दा कम नहुने फुटबल विश्लेषकको बुझाई छ। फेरि युभेन्ट्स आफ्नो घरेलु लिगमा उत्कृष्ट लयमा छ। ऊ लगातार छैटौं पल्ट इटालियन लिग उपाधि जित्ने अभियानमा छ। इटालियन सिरियाको बाँकी ७ खेल खेल्न बाँकी रहेको अवस्थामा एएस रोमाभन्दा ६ अंकको अग्रतासहित युभेन्ट्स लिगको शीर्ष स्थानमा छ। युभेन्ट्सको हाल ३१ खेलमा ७७ अंक छ।
आजको खेलमा बार्सिलोना आफ्नो प्रभावशाली खेलाडी सर्जियो बस्क्युट्स बिना मैदानमा उत्रिनेछ। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनीलाई अपत्यारिलो रुपमा दोस्रो लेगमा ६–१ ले हराएको खेलमा बस्क्युट्सले पहेँलो कार्ड पाएका थिए। उनी दुई खेलमा लगातार पहेँलो कार्ड पाउँदै आजको खेलका लागि निलम्बित भएका थिए। यस्तै, चोटको समस्याबाट गुज्रिरहेका मिडफिल्डर द्धय राफिन्हा र आर्डा टुरान तथा डिफेन्डर एलेक्स भिडाल अनुपस्थित रहने छन्।
बार्सिलोना स्पेनिस लिगमा रियल म्याड्रिडपछि अंक तालिकामा दोस्रो स्थानमा छ। लगातार १० वर्ष च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गरेको बार्सिलोनाको बलियो पक्षसँग युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो अलेग्री राम्रोसँग जानकार छन्। एसी मिलानका पूर्व प्रशिक्षकसमेत रहेका अलेग्रीले बार्सिलोनासँग खेलेको पछिल्लो ९ खेलमा ८ मा पराजय भोगेका छन्। तर, उनी फुटबलमा असम्भव भनेको केही नहुने बताउँछन्। इटालियन पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘हामी प्राविधिकरुपमा उत्कृष्ट खेल खेल्न प्रतिबद्ध छौं।’
युभेन्ट्सको अगाडि अहिले बार्सिलोनाको तीन स्ट्राइकर मेसी, सुआरेज र नेइमार नै ठूलो समस्याको रुपमा देखिएको छ। च्याम्पियन्स लिगका मेसी उत्कृष्ट लयमा छन्। उनले ११ गोल गरिसकेका छन्। उनी च्याम्पियन्स लिगको यो सिजन सर्वाधिक गोल गर्ने खेलाडी हुन्। यस्तै, पेरिस सेन्ट जर्मनीलाई पराजित गर्न दुई गोल गरेका नेइमार पनि पछिल्लो समय लयमा देखिन्छन्। उनले ४ गोल गरेका छन्। २०१५ मा युभेन्ट्सलाई हराउन नेइमारले अन्तिम ९० पछि थप गरिएको तेस्रो मिनेटमा गोल गरेका थिए। यतिबेला बार्सिलोनालाई जिताउन इभान राकिटिकसँगै सुआरेजले पनि गोल गरेका थिए।
यी दुई क्लबबीचको दोस्रो लेगको खेल १९ अप्रिलमा बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुनेछ।