रूपन्देहीको सैनामैना–११ का सुगम (तुलसीराम) रेग्मीलाई हजुरआमाले घिरौंलाको जालोले मिचिमिची खुट्टा धोएको याद थियो।
त्यही हजुरआमाको अभ्यास अहिले सुगमको उद्यमशीलताको आधार बनेको छ।
सुगम घिरौंलाको जालोबाट हातखुट्टा तथा शरीर माड्ने स्क्रबर, भाँडा माझ्ने जाली र होटल तथा घरका कोठा र अफिसमा पनि प्रयोग गर्न मिल्ने चप्पल (स्लिपर) उत्पादन गरिरहेका छन्।
'इको दोस्ती नेपाल' मार्फत उनले पर्यावरणमैत्री उत्पादनलाई व्यवसायमा रूपान्तरण गरेका हुन्।
'गाउँघरमा प्लास्टिकजन्य सामग्री प्रयोग बढ्दै गएको छ। त्यो प्रतिस्थापन गरी पर्यावरणमैत्री सामानको प्रयोग बढाउन खेर गइरहेको घिरौंलाको जालो सदुपयोग गरेको हुँ,' सुगमले भने।

सुगमको रबरका चप्पल बनाउने उद्योग छ। तर कच्चा पदार्थका लागि भारत वा अन्य मुलुकमा निर्भर रहनुपर्ने, त्यो पनि समयमै नपाउने र बेला बेला लागत बढ्ने जस्ता समस्याले उनलाई निराश बनाइरहेको थियो।
त्यसमाथि रबरका सामानले वातावरणमा पुर्याइरहेको असरबारे पनि चिन्तित थिए।
'हामी गाउँमा बस्छौं, अरू बालीसँगै घिरौंला पनि खेती गर्थ्यौं। यो छिप्पिएपछि खेर जाने रहेछ। मेरो भाइले जालोबाबाट केही गर्न सकिने सुझाब दियो,' उनले भने।
सुरूमा उनीहरूले जालोसँगै जुट, केराको रेसा लगायत प्रयोग गरेर चप्पल बनाए। हातखुट्टा र शरीर मिच्न स्क्रबर (जालो) र भाँडा माझ्ने जाली पनि तयार भयो।
यी उत्पादन छरछिमेकमा प्रयोग गर्न दिए। प्रतिक्रिया संकलन गरे।
'राम्रो प्रतिक्रिया आयो र केही समय यसै चल्यो। व्यावसायिक रूपमा जान सकिएको थिएन। गत सालदेखि भने व्यावसायिक यात्रा सुरू भयो,' सुगमले भने।
उनले २०८१ चैतमा बुटवलको खस्यौली बजारमा पहिलो पटक जालोका उत्पादन बेच्न राखे। पहिलो दिन सुगमको हातमा ६६० रूपैयाँ परेको थियो।
'गाउँघरमा खेर गएको वस्तुबाट बनाएको सामान बिक्दा मेरो खुसीको सीमा रहेन,' उनले सुनाए।

यसरी व्यवसाय सुरू गरेका सुगमले क्रमशः उत्पादन बढाउँदै लगेका छन्। पहिले आफ्नै बारी र जंगलतिर फेला परेको जालोबाट उत्पादन गर्थे। अचेल अरू किसानसँग सहकार्य गरेका छन्। तरकारी बेचेर बाँकी रहेको घिरौंलाको जालो उनी किसानहरूसँग लिन्छन्।
पछिल्ला ६ महिनामा उनले स्क्रबर मात्र एक लाख ३० हजार रूपैयाँको बेचेका छन्।
अहिले आफ्नो उद्योग इको दोस्तीका उत्पादन स्थानीय बजारदेखि देशका विभिन्न ठाउँ र विदेशमा समेत निर्यात भइरहेको उनले बताए।
'खासगरी यहीँ सैनामैना र बुटवलमा सामानहरू रूचाइएको छ। होटलहरूमा स्लिपरको राम्रो माग छ,' उनले भने, 'जापान, फिनल्यान्डमा पनि केही उत्पादन पठाएको छु।'
इको दोस्तीले बनाउने स्क्रबर १५० रूपैयाँ र चप्पल ३०० देखि ३५० रूपैयाँ पर्छ। होटलहरू जस्ता ठूलो परिमाणमा लिनेलाई अलि सस्तो पर्छ।
अहिले स्थानीय कच्चा पदार्थबाट बनेका पर्यावरणमैत्री सामानको प्रयोग बढाउन जोड दिइरहेकाले मूल्य थप सहुलियत बनाउनेबारे काम गरिरहेको सुगमले बताए।
'अहिले दैनिक दुई सय वटा सामान बनाइरहेका छौं,' उनले भने।
उनको उद्योगमा तीन जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। अप्रत्यक्ष रूपमा थुप्रै स्थानीय उनीसँग जोडिएका छन्। सुगम स्थानीय महिलाहरूले बनाएका ढाकी, चकटी, गुन्द्री जस्ता सामान लिएर बजारसम्म पुर्याउँछन्।

उनी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म एउटा डेरी उद्योगमा जागिर पनि गर्छन्। बिहान र साँझ बचेको समय आफ्नो उद्योगलाई दिन्छन्।
सुगम इलेक्ट्रिक ओभरसियर पनि हुन्। यसअघि उनी यही विषय पढाउँदै थिए। पढाउँदा पढाउँदै रबरको चप्पल बनाउने व्यवसाय थालेका हुन्। यो काममा उनको परिवारकै सहयोग छ।
वातावरणमैत्री उत्पादनको भविष्य राम्रो भएको उनी बताउँछन्। तत्काल धेरै आम्दानी गर्न नसकिए पनि यसले खुसी थपिरहेको उनले बताए।
'जे होस् गाउँमा खेर गइरहेको वस्तुले रबर प्रतिस्थापन गर्दै छ,' उनले भने, 'यो काममा खुसी छु।'
सुरूमा उनले रबरको चप्पल बनाउने मेसिनमा १० लाख रूपैयाँ लगानी गरेका थिए। त्यस्तै घिरौंलाको जालोबाट काम थाल्दा थप दुई लाख रूपैयाँ खर्च भयो।
'जागिर गरेर कमाएको पैसा पनि यसमै थप्दै गएँ। अहिले राम्रै छ। अझै उत्पादन बढाउँदै जाने सोचेको छु,' सुगमले भने।
